भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा दरखसवा खेल मैदानको निमार्ण कार्य सुरु भएको छ। नगरको खेलकुद विकासमा टेवा पुग्नेगरी सिद्धार्थनगर नगरपािलका वडा नम्बर ३ मा खेलकुद मैदान निर्माणको थालनी भएको हो।
बहुउद्देश्य खेलमैदानकोे बिहीबार शिलान्यास गर्दै संघिय सांसद तथा पूर्व मन्त्री घनश्याम भुसालले स्रोत साधनमा कमि भएको सिद्धार्थनगरले छोटो समयमा उपलब्धि हासिल गरेको बताए। उनले भैरहवाको फोहोर व्यवस्थापनको समस्या पनि छिटै समाधान हुने उल्लेख गरे । ‘हामीसँग जग्गा अभाव मात्र हो, पैसाको अभाव हुदैन, नआत्तिकन जति ढिला भएपनि यो समस्या पनि समाधान हुन्छ।' भुसालले भने।
सिद्धार्थनगर र आसपासका ठाँउलाई जोडेर नगर परिषदले उपमहानगरका लागि प्रस्ताव गरेको भन्दै उनले आगामी निर्वाचन अघि पत्राचार गरेर प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।कार्यक्रममा माओवादी केन्द्रका नेता हकिुकुल्लाह खानले बन्न लागेको खेल मैदानले सिद्धार्थनगरमा आयाम थपेको बताए। यसले खेल सिकाउने, प्रतिभालाई प्रष्फुटन गरी दक्षता बढाउने उनको भनाइ छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेले सिद्धार्थनगरलाई उपमहानगरको रुपमा विकास गर्न आग्रह गरे। ‘क्षेत्रफल बढे स्वतः यस क्षेत्रको अझै विकास हुने हुदा यस तर्फ नगरपालिका र सरोकारवाला निकायले ध्यान दिनु पर्र्छ,’ उनले भने ‘मेला महोत्सव र ठूला सभा गर्नका लागि पनि नगरपालिकाले व्यवस्थापन मिलाउन आवश्यक छ। कार्यक्रममा शिद्धार्थनगर १ का वडाध्यक्ष रमेश मल्ल, र एमालेका राम बहादुर क्षेष्ठ लगायतले समयमा नै सक्नेगरी खेल मैदान सम्पन्न गर्न आग्रह गरे।
सिद्धार्थनगरका मेयर हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा खेल मैदानको बाटोको लागि जग्गादाता लक्ष्मण पन्थी र राधिका उपाध्यायलाई नगरपालिकाले सम्मान गरेको थियो । दम्पतिले खेल मैदान प्रवेश गर्ने ३० फीट चौडा बाटो कुल २ कठ्ठा सवा २ धुर जग्गा दान गरेका छन।
३ विघा क्षेत्रफलमा बन्न लागेको खेलमैदान एथलेटिक्स, फुटवल मैदान सहित सबै प्रकारका खेल खेल्न मिल्ने छ । सिद्धार्थनगरमा क्रिकेट रंगशाला भएपनि अन्य खेलका लागि समस्या रहेकाले सहजताका लागि यो खेल मैदान बनाउन लागिएको नगरपालिकाका वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए।
यस वर्षको असार मसान्त भित्र पहिलो चरणको खेलकुदको मैदान निर्माण, पर्खाल निर्माण र जग्गा सम्याउने काम गरिने साथै विस्तारै अन्य भौतिक संरचनाहरु क्रमश निर्माण गर्दै जाने उनले बताए । ९८ लाख ७२ हजार ५ सय ७५ रुपैया लागतमा बन्न लागेको खेल मैदान संघीय समानिकरण अनुदानबाट निर्माण हुन लागेको हो । यसको निर्माणको जिम्मा बागेश्वरी निर्माण सेवाले गर्ने छ ।