काठमाडौं । इराकसँगको मैत्रीपूर्ण खेलमा पराजित भएपछि नेपालका फुटबल प्रशिक्षक अबदुल्लाह अलमुताइरीले हारबाट नहुने बताएका छन् । उनले राम्रो प्रदर्शन गर्न नसक्नुको दोष आफूले लिने बताउँदै खेलाडीलाई दबाब नदिन आग्रह गरेका छन् ।
खेल सकिएपछि इराकी सञ्चारमाध्ययमलाई प्रतिक्रिया दिंदै उनले भने, ‘सबैसँग माफी माग्छु, राम्रो रिजल्ट भए । हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस् ।’
इराकको बसरास्थित अल फायना स्टेडियममा गएराति भएको खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । नेपाली फुटबल टिमको प्रशिक्षण सम्हालेपछि अलमुताइरीको यो पहिलो खेल थियो । कुवेती प्रशिक्षक अलमुताइरीले राम्रो नतिजाका लागि केही समय धैर्य गर्न आग्रह गरे । उनले भने, ‘हामीले आज २ गोल गरेर खुशी मनायौं तर अब धरै खुशी बनाउँछौं । केही समय पर्खनुस्, हामी राम्रो गर्छौं । हामी विश्वकप छनोटका लागि तयार हुन्छौं ।’
उनले राम्रो नतिजाका लागि अझै केही समय चाहिने समेत बताएका थिए । लामो ट्रेनिङ पछि बल्ल राम्रो रिजल्ट आउने उनको भनाई थियो ।