भैरहवा । पुबुदु दासानायके-धेरैसमयसम्म नेपालीले सुनेको नाम हो। ओरालो लागेको नेपाली क्रिकेटलाई सिढी चढाउने व्यक्ति हुन् दासानायके। कमजोर अवस्थामा रहेको नेपाली टोलीको प्रशिक्षकको रुपमा आएर ५ वर्षको अवधिमा नेपाली टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा स्थापित गराएका थिए उनले। नेपाली क्रिकेटलाई सफलतातर्फको बाटो देखाउने उनै पुवुदु नयाँ भूमिकामा फेरि नेपाल आइपुगेका छन्।
उनकै कार्यकालमा नेपालले डिभिजन–४ बाट सिँढी चढ्दै डिभिजन–२ सम्मको यात्रा तय गरेको थियो। नेपाली क्रिकेटको जग बसाउने काम अर्का श्रीलंकन प्रशिक्षक रोय डायसले गरेको मानिन्छ भने त्यसमैं टेकेर नेपाली टोलीलाई थप सफलताको सिँढी चढाउने ‘क्रेडिट’ श्रीलंकनमूलका क्यानाडियन नागरिक पुबुदुलाई दिने गरिन्छ।
५ वर्षअघि उनी परिवारलाई समय दिन भन्दै क्यानडा फर्केका थिए। त्यसपछि २ पटक उनी नेपाली क्रिकेट टोलीको कन्सल्टेन्टको रुपमा आएका थिए। यसबीचमा उनले अमेरिकाको क्रिकेट टोलीलाई समेत प्रशिक्षण दिए। ४ वर्षपछि पुबुदु फेरि नेपाल आएका छन्।
यसपटक भने राष्ट्रिय टोलीको कुनै जिम्मेवारीका लागि नभई चैत १ गते सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) का लागि आएका हुन्। उनको प्रशिक्षणमा साविक उपविजेता भैरहवा ग्लाडियर्टसले ईपीएल खेल्नेछ।
‘करिब ४ वर्षपछि फेरि नेपाल आउँदा निकै उत्साहित छु’ उनले भैरहवाको प्रशिक्षकको सम्हाल्न नेपाल आएपछि भने, ‘यो ईपीएलमा विश्वका निकै राम्रा खेलाडीहरु आउँदै छन्। भैरहवामा पनि राम्रा खेलाडी छन्। यो टोली सन्तुलित छ।’
‘ट्यालेन्ट हन्ट’बाट खेलाडी छनोट गर्न पुबुदु यतिबेला भैरहवामा छन्। ईपीएलमा सहभागी हरेक टोलीले स्थानीयबाट ‘ट्यालेन्ट हन्ट’ गरि कम्तीमा १ जनालाई टोलीमा समेट्नुपर्ने प्रावधान छ। तर टोलीले आफ्नो आवश्यकताका आधारमा ३ जनासम्म राख्न सक्नेछन्।
श्रीलंकाका पूर्व विकेटकिपर एवंम् ब्याट्सम्यान पुबुदुको प्रशिक्षणमा क्यानडाले २०११ को विश्वकप खेलेको थियो। त्यसको केहि समयपछि उनले क्यानेडियन टोली छाडेका थिए।
श्रीलंकाका लागि ११ टेष्ट र १६ एकदिवसीय खेलेका उनले अमेरिकालाई चौथो डिभिजनबाट एक दिवसीय क्रिकेट (ओडीआई) को मान्यता दिलाउन पनि महत्वपुर्ण भुमिका खेलेका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई साता चल्ने ईपीएलमा उनको टोलीको प्रदर्शनले फेरि एकपटक पुवुदु नेपाली क्रिकेट जगतमा चर्चामा आउनेछन्।
सन् २०१७ र २०१८ मा भैरहवा फाइनल पुगे पनि पराजित हुँदै उपाधिबाट बन्चित भएको थियो ।
ई्पीएलमा सहभागी फ्रेन्चाइजले ४ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् भने ३ विदेशी अनिवार्य राख्नुपर्नेछ । त्यही अनुसार भैरहवाले प्रशिक्षक दासानायकेसंगै अरु तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरिसकेको छ।
भैरहवा ग्लाडीयटर्समा विदेशी खेलाडी जीवन मेन्डिस र मिलिंडा श्रीवार्दाना अनुबन्धन भइसकेका छन्। जीवन मन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय खेलमा ६३६ रन बनाएका छन । जसमा उनले २८ विकेट पनि लिएका छन। यस्तै उनले टी २० मा २२ खेलमा २०८ रन बनाउनुका साथै १२ विकेट लिएका छन।
भैरहवाले ओमानका बिलाल खानलाई पनि अनुबन्ध गरेको छ । भैरहवाले यसअघि वेष्ट इण्डिजका क्रिकेटर ड्वाने स्मिथलाई टिममा अनुबन्ध गरिसकेको छ।
नेपाली राष्ट्रिय टिमका सदस्य शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाको टिम खेलाडीको सूची हेर्दा बलियो देखिएको छ। अझ चार विदेशी खेलाडी आएपछि टिम अझै सन्तुलित बनेको प्रशिक्षक दासानायके र टिम मालिक आदित्य संघाईले बताए।
‘हामीसंग राष्ट्रिय टिमकै ५ जना खेलाडी छन्। विदेशका ४ जना स्टार खेलाडी छन्। अन्य यू१९ का खेलाडीहरु छन्। टिम सन्तुलित बनेको छ’ संघाईले भने।
ईपीएलको यस सिजन आगामी चैत्र १ देखि १५ गते सम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। भैरहवा ग्लाडिएटर्सले आफ्नो पहिलो खेल चैत २ गते काठमाडौं किंग्स ११ सँग खेल्नेछ।
भैरहवाको टोली: शरद भेषावकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दिपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त।
विदेशी खेलाडी: ड्वाने स्मिथ, जीवन मेन्डिस र मिलिन्डा श्रीवार्दाना बिलाल खान।