बुटवल । आजदेखि युरोपियन फुटबल महासंघ (युइएफए) को आयोजनामा युरो २०२० सुरु भएको छ । यो महादेशीय फुटबल प्रतियोगिताको १६ औं संस्करण हो ।
युरोपका ११ देशका ११ शहरमा प्रतियोगिताका विभिन्न चरणका खेलहरु खेलाइने छ ।
सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय भएपनि कोरोना महामारीका कारण प्रतियोगिता एक बर्षका लागि सारिएको थियो । त्यसैले बर्ष २०२१ मा खेलिने भएपनि प्रतियोगिताको नाम युरो २०२० नै राखिएको हो ।
आजदेखि सुरु हुने प्रतियोगिता जुलाई ११ सम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन खेलमा टर्की र इटालिको भिडन्त हुँदैं छ । इटालीको रोममा हुने यो खेल नेपाली समयानुसार मध्यराती साढे १२ बजे हुनेछ ।
पोर्चुगल युरो कपको साविक विजेता हो । सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो । यस पटकको युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ .
समूह |
देशहरु |
ए
|
टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड |
बी |
डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया |
सी |
नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया |
डी |
इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र |
ई |
स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया |
एफ |
हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी |
नियममा केही फरक
कोरोना कारण युरो २०२० मा केही नियम परिवर्तन गरिएको छ । एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ । नियमित समयमा तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ । अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ ।
युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ । यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे ।
युरो २०२० मा २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ । जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका छन् ।
खेलका सेमिफाइनल र फाइनल लन्डनमा हुनेछ । ६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुने मध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले १० मिलियन युरो प्राप्त गर्नेछ । उपविजेतालाई ७ मिलियन युरो तथा सेमिफाइनल पुग्ने टिमलाई ५ मिलियन प्राप्त गर्नेछ । फाइनल पुग्ने टिमले सेमिफाइनलदेखि समूह चरणको पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । क्वार्टरफाइनल पुग्ने टिमले ३.२६ मिलियन युरो प्राप्त गर्दा अन्तिम १६ मा पुग्ने टिमलाई २ मिलियन युरो प्रदान गरिनेछ ।
समूह चरणमा जित हात पार्ने टिमले १.५ मिलियन युरो प्राप्त गर्नेछ बराबरी भएमा दुवै टिमलाई ७ लाख ५० हजार युरो प्रदान गरिनेछ । यस्तै युरो कपमा छनोट हुने टिमले ९.२५ मिलियन युरो प्राप्त गर्नेछ ।
युरो २०२० सहभागी टिमले कम्तिमा ९.२५ र बढीमा (विजेताले) ३४ मिलियन युरो नगद पुरस्कार प्राप्त गर्न सक्नेछ ।
नेपाली समयअनुसार समूह चरणका खेल साँझ ६ः४५ बजे, राति ९ः४५ बजे र मध्यरात १२ः४५ बजे हुनेछन् । अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९ः४५ बजे र मध्यरात १२ः४५ बजे हुनेछन् । सेमिफाइनल र फाइनल खेल मध्यरात १२ः४५ बजे हुनेछ ।
युरो २०२० का लागि दक्षिण एसियाको प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले पाएको छ । नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन् ।