बुटवल- चैत्र १ गतेदेखि सुरु हुने तय भएको मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप स्थगित हुने भएको छ। कोरोना भाइरसको सम्भावित जोखिमका कारण प्रतियोगिता स्थगित गर्न लागिएको जिल्ला फूटबल संघ रुपन्देहीले जनाएको छ।
प्रतियोगिता स्थगनको औपचारिक निर्णय गर्न जिल्ला फूटबल संघ रुपन्देहीको बैठक आज अपरान्ह ४ बजे बस्दै छ। संघिय सरकार तथा प्रदेश सरकारले कोरोना भाइरसको फैलदो संक्रमणको जोखीमलाई ध्यान दिँदै सार्वजनिक सभा, समारोह, मेला महोत्सव, भेला नगर्न भनेको छ।
त्यसको प्रभाव तिलोत्तमा गोल्डकपमा पनि परेको हो। ‘बुटवल उपमहानगरले पत्र काट्यो, प्रदेश सरकारले पनि चिठी पठाएको छ । कोरोनाको प्रभाव कम नहुँदा सम्मलाई स्थगित गर्ने भएका छौ’-जिल्ला फूटबल संघ रुपन्देहीका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले लुम्बिनी टाइम्सलाई भने-‘बैठक पछि सूचना निकाल्छौं।’
यस अघि फागुन २४ गतेदेखि हुने तय भएको तिलोत्तमा गोल्डकप चैत्र १ गतेलाई सरेको थियो। २०३१ सालमा स्थापना भएर २०३३ सालदेखी सुरु भएको तिलोत्तमा गोल्ड केही वर्ष रोकिएर पुन: सञ्चालन हुँदै आएको थियो।