एजेन्सी । युरो २०२० मा आज सोमबार प्रि-क्वार्टरफाइनलका दुई खेल हुँदैछन्। राति ९:४५ बजे क्रोएसिया र स्पेनबीच कोपनहगेनमा प्रतिस्पर्धा हुनेछ। दुवै टिमले समूह चरणका सुरुवाती दुई खेलमा गोल गर्न संघर्ष गरेका थिए। तेस्रो खेलमा भने दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे। दुवै टिम अन्तिम १६ को खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने आसामा छन्।
सन् २००८ र २०१२ को विजेता स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५-० को जित निकालेको थियो। स्पेनका प्रशिक्षक लुइस इनरिकले स्पेनले स्लोभाकियाविरुद्धको खेलबाट सबै टिमलाई चेतावनी दिइएको बताएका थिए।
दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्यान्ड भिड्नेछन् । राति १२:४५ बजे हुने खेल बुचारेस्टमा हुनेछ। फ्रान्सले २०२० मा आफ्नो वास्तविक खेल अझै देखाउन सकेको छैन। समूह चरणमा फ्रान्सले पोर्चुगल, हंगेरी र जर्मनीविरुद्ध मध्यम खेल देखाएको थियो।
स्विट्जरल्यान्डले समूह चरणको अन्तिम खेलमा टर्कीविरुद्ध ३-१ को जित निकालेर उत्कृष्ट तेस्रो टिमको रुपमा अन्तिम १६ मा स्थान बनाएको थियो।
फ्रान्सले स्विट्जरल्यान्डसँग अहिलेसम्म पराजय भोग्नु परेको छैन। दुई खेलमा फ्रान्स विजयी हुँदा चार खेल बराबरीमा सकिएका छन्। दुई टिमबीचको युरो २०१६ को समूह चरणको भिडन्त गोलरहित बराबरीमा सकिएको थियो।