भक्तपुर : सम्पदाको शहर, जात्रापर्वले सम्पन्न । यति हुँदाहुँदै पनि मध्यपुरथिमि नगरपालिका क्षेत्र सधैँ ओझेलमै थियो । पछिल्लो चारवर्षे अवधिमा भने यसको मुहार फेरिएको छ ।
यहाँका जीर्ण सम्पदा, भत्किन लागेका दरबार, भत्किएका पाटी, मठमन्दिरले धमाधम परम्परागत स्वरुपमा नयाँ जीवन पाएका छन् । पुरिएका ऐतिहासिक पोखरी, इनार र ढुङ्गेधारा धमाधम उत्खनन हुँदै परम्परागत शैलीमा पुनःनिर्माण भएका छन् ।
फोहर फाल्ने डम्पिङ साइट आकर्षक उद्यानमा परिणत भएका छन् । पन्ध्रदेखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेका मुर्छित जात्रा, पर्वहरु ब्युँतिएका छन् ।
यहाँका मूर्त–अमूर्त कला, संस्कृति, जात्रा, पर्व नयाँ पहिचान तर पुरानै स्वरुपमा फर्किएर आन्तरिक पर्यटकको चाप बढेपछि अचेल गौरबले हाँस्न थालेको छ मध्यपुरथिमि ।
जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै भएको छ मध्यपुरथिमिमा अहिले । वर्षौँदेखि स्वरुप परिवर्तन हुन नसकेको यस नगरपालिकामा स्थानीय तहको निर्वाचनसँगै निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठको इच्छा, काम गर्ने लगनशीलता र अहोरात्र खटाइले मध्यपुरथिमि नगरपालिकाको मुहार फेरिएको बताउँछन् स्थानीयवासी ।
नगरप्रमुख श्रेष्ठको योजना र कार्यशैलीमा अन्य जनप्रतिनिधि एवं स्थानीय जनताले साथ दिएपछि आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यको रूपमा नगरपालिकाले नयाँ पहिचान पाउन सफल भएको छ ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदा पुनःनिर्माणमा पाएको सफलतालाई आधार मान्दै नेपालको एक मात्र मध्यपुरथिमि नगरपालिका ‘एशियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । एशिया प्यासिफिक क्षेत्रीय कार्यालयले गत अगष्टसम्म भएको प्रगतिको समीक्षा गर्दै उक्त पुरस्कार दिएपछि यो नगरपालिका नेपाल बाहिर पनि चर्चामा आएको नगरप्रमुख श्रेष्ठ बताउछन् ।
के भयो चार वर्षमा ?
अरनिको राजमार्गसँगै टाँस्सिएको मध्यपुरथिमि नगरपालिका–४ शङ्खधर साख्वाः चोकबाट बालकुमारीतर्फ जाने उकालो सडकको पश्चिमपट्टिको फोहर फाल्ने भिरालो जमिन यतिखेर सुन्दर ‘शङ्खधर पार्क’मा परिणत भएको छ । दुईवर्ष अघिसम्म नाक, मुख थुनेर हिँड्नुपर्ने यो ठाउँ अहिले मर्निङवर्क गर्ने र थकाइ मार्न सुस्ताउने थलो बनेको छ ।
शङ्खधर चोकबाट बालकुमारीतर्फ जाने ठाडो उकालो ढलान भएको छ । तेत्तीस रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा हरियो दुबो, कलात्मक ढुङ्गाका सिँढी, झरना, ह्याङ्गिङ गार्डेन, लहलहाउँदो विभिन्न जातका बिरुवा, डाँची अप्पा, चुना सुर्कीको प्रयोग गरेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटर बनेको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार रक क्लाइम्बिङ, ठूलो शङ्ख र शङ्खधर साँख्वाःको शालिक राख्ने तयारी गरिँदैछ भने परम्परागत पाटी र सूचना केन्द्र निर्माणको काम शुरु भएको छ ।
काठमाडाैँ महानगरपालिकाको नगर साझेदारी कार्यक्रमबाट आएको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको थप लगानीसहित रु छ करोड ५० लाख बजेट खर्चिएको छ ।
उता थिमिकै बोडेस्थित कुमारी उद्यान अहिले उपत्यकाका बासिन्दाका लागि आकर्षण बनेको छ । फोहर फाल्ने भिरालो जमिनलाई नगरपालिकाले आकर्षक उद्यान, ढुङ्गेधारा, पोखरीको पुनःनिर्माण मात्रै गरेन, जीर्ण बनेको कुमारी मन्दिर संरक्षण र भत्किनै लागेको फल्चाको पुनःनिर्माणले पर्यटकलाई आकर्षित पार्न सफल भएको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले बोडेमै भैरव उद्यान, वडा नं ४ मा यमा उद्यान, विष्णु कुण्डल उद्यान, नगदेशको सुचुत्वास्थित गयर दोफो उद्यान निर्माण सम्पन्न गरेको छ भने चोडेको निलवर्ण उद्यान, कमेरोटारको तसोताः उद्यान, आलाचको उद्यान, सिद्धिकालीको कुटिंगडाँडामा सञ्जिवनी उद्यान र लोकन्थलीमा बाल उद्यान निर्माण धमाधम भइरहेको छ ।
ठेक्का प्रणाली निरुत्साहित गर्दै सबै उपभोक्ता समितिमार्फत भइरहेका सम्पदा संरक्षणको काममा जनप्रतिनिधि र स्थानीयवासीले सघाइरहेका छन् ।
सिद्धिकालीमा मात्रै नपाको करिब चार करोडको लागतमा गेट, ढुङ्गा छपाइ, मन्दिरको जीर्णोद्धार, पाटी निर्माण, मन्दिर परिसरको सुधार, मन्दिरको छानो र झलरमा सुनको जलप लगाएर आकर्षक बनाइएको छ ।
पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउँदै नयाँ पुस्तालाई हस्तान्तरण गर्न अहोरात्र खटिने नगरप्रमुख श्रेष्ठ सम्पदादेखि उद्यानसम्म, जात्रा, पर्वदेखि जनताको हरेक काममा सघाउन आफैँ पुग्छन् ।
बिहान उठेपछि निर्माण भएका उद्यान र सम्पदा डुल्छन् र त्यहाँको अवस्था बुझ्छन् । उद्यान, मन्दिर, पोखरी, पाटी निर्माणमा उपभोक्ता र मजदुरलाई हौसला दिन आफैँ इँटा, टायर झिङ्गटी समाएर श्रमदान गर्न पुग्छन् भने जात्रा पर्वमा आफैँ स्थानीयवासीसँगै सहभागी हुन्छन् ।
मन्दिरको छानो हाल्दा, छानोमा आफैँ उक्लेर स्थानीयवासी र मजदुरलाई सघाउछन् । शिलान्यास र उद्घाटन गर्नेमात्रै होइन, निर्माण सम्पन्न नभएसम्म हरेक काममा सघाउन आफैँ तम्सिन्छन् ।
नगरप्रमुख श्रेष्ठको स्थानीयवासीसँग हातेमालो गर्ने यही बानीले स्थानीयवासीको मन जित्दै गएको बताउछन् नपाका प्रवक्ता केशव सिलवाल ।
वर्षौँदेखि पुरिएर खेल मैदान र फोहर फाल्ने थलोको रूपमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको उत्खनन गरी जीर्णोद्धार गरेर मल्लकालीन स्वरुपमै फर्काएपछि यो क्षेत्र आन्तरिक पर्यटकको आकर्षण बनेको छ ।
खेल मैदान बनेको मथिनपा–४ को ‘निगू पुखुः’ अर्थात् दुई पोखरीको मल्लकालीन शैलीमा जीर्णोद्धार भएपछि पानी भरेर आकर्षक बनेको छ । करिब ३०० वर्ष पहिले गङ्गा महारानीले निर्माण गराएको दुई पोखरीले पुनःजीवन पाएसँगै यहाँको मुहार फेरिएको छ । बाँकी केही काम पनि केही महिनाभित्रै सम्पन्न गरिने नगरप्रमुख श्रेष्ठ बताउछन् ।
स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको थियो । यो पोखरी आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक बन्न थालेको छ ।
पुरिएर हराएको कयकुता पुखुःको उत्खनन एवं पुनःनिर्माण, बोडे–८ मा पुरिएर पार्किङ बनाएको देबु पुखुःको उत्खनन गरी पुनःनिर्माण गरिएको छ ।
बोडेकै कुमारी मन्दिर परिसरको पोखरीको पुनःनिर्माण, अतिक्रमणमा परेको पलिस्वाः पुखुः अर्थात् कमलपोखरीको जीर्णोद्धार शुरु भएको छ । वडा नं ७ नगदेशको गुँलापुखुः, दक्षिण बाराहीको क्वाछेँ पुखुः, वडा नं ५ भुँलाखृल पुखुः, वामुने पुखुःलगायतका पोखरीको पुनःनिर्माण एवं जीर्णोद्धार भइरहेको छ ।
नगरप्रमुख श्रेष्ठले भने, “नगरपालिकाले चार वर्षको अवधिमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गेधारा, इनारको संरक्षण गरेका छौँ, १५ वटा पोखरीको पुनःनिर्माण एवं जिर्णोद्धार भएकामा छ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ ।
यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरी तीनवटा दरबार पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप कामहरु गरिरहेका छौँ ।”
नगरपालिकाले पोखरीको धमाधम उत्खनन, जीर्णोद्धार एवं पुनःनिर्माण थालेर पानी भरेपछि मध्यपुरथिमिका टोलटोलमा पोखरीले सुन्दरता थपेको छ भने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनेको स्थानीयवासी एवं नगरपालिकाका कानून अधिकृत, सूचना अधिकारी सिलवाल बताउछन् ।
त्यस्तै चोरको भयले केही वर्ष अगाडि प्रसिद्ध एवं ऐतिहासिक बालकुमारी, कुमारी, लोकेश्वर मन्दिरलगायतलाई वरिपरिबाट फलामको बार लगाएर राखिएकामा नगरपालिकाले त्यस्ता बार हटाएर खुला बनाएको छ । यहाँका जात्रापर्वमा अत्यावश्यक पर्ने धिमे बाजा, धिमे खल, पुचः, जिब्रो छेड्ने जात्रा, रथ पूजालगायतको संरक्षण गरेको छ ।
नगरपालिकाले थिमिको पाँचवटा विहारको पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ भने बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरी पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य शुरु गरेको छ । नगदेशको लायकुलाई नेवाः सङ्ग्रहालय बनाइने तयारी छ ।
सम्पदामा मात्रै नभई स्थानीयवासीको खानेपानी समस्या समाधान गर्दै खानेपानीको पाइप विस्तार र पानी वितरण प्रभावकारी बनाउनुका साथै ढल र सडक निर्माणलाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
उनले नगरपालिकाको फोहरबाट कम्पोष्ट मल उत्पादन शुरु गर्दै जापानी प्रविधिबाट फोहरबाट मल उत्पादन गर्ने पहिलो पालिका बनेर अरुका लागि नमूना प्रस्तुत गरेको छ । यही मलले अचेल राष्ट्रपति भवनदेखि सर्वसाधारणको आँगनसम्ममा अग्र्यानिक तरकारी फल्न थालेको उनि बताउछन् ।
मध्यपुरथिमिको बासिन्दालाई सहज र सुलभ स्वास्थ्य सेवा दिन नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई १०० शैयामा विस्तार गर्दै विभिन्न सेवाहरु सञ्चालन गरेको छ ।
कोरोना महामारीमा आफ्नो ज्यानको समेत पर्वाह नगरी अस्पतालमै अहोरात्र खटिएर शैया थप्ने, अक्सिजन, आइसीयूको व्यवस्था गर्ने कार्यमा निरन्तर लागेका नगरप्रमुख श्रेष्ठ कोरोनाको तेस्रो लहरको पनि आवश्यक तयारी गरिसकेको बताउछन् ।
पालिकाहरुको पहिलो अस्पतालको रुपमा रहेको यस अस्पतालमा पहिलोपटक पिसिआर ल्याब स्थापना गर्दै पिसिआर परीक्षण, अक्सिजन प्लान्ट स्थापनासमेत गरेका छन् । बाँकी एक वर्षको कार्यकालमा आफूले शुरु गरेका काम सम्पन्न गर्ने योजनासाथ खटिने उनि बताउछन् ।रासस