तिनाउ नदीको पश्चिम किनारमा अवस्थित जितगढी किल्लाले अङ्ग्रेज-नेपाली युद्ध (सन् १८१४–१८१६) मा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको थियो। यही ठाउँमा कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले ईस्ट इन्डिया कम्पनीमाथि विजय हासिल गरेको थियो। बुटवलमा अवस्थित यो ऐतिहासिक स्थल, जहाँ किल्ला र राजा मणिमुकुन्द सेनको दरबारका भग्नावशेष पनि छन्। यसलाई पुरातात्विक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
बुटवलको परिचय
लुम्बिनी प्रदेशको एक प्रमुख उप-महानगरपालिका बुटवल नेपालको पश्चिम भागमा अवस्थित छ। तिनाउ नदीको किनार र तराईको उत्तरी किनारमा अवस्थित बुटवल भौगोलिक र ऐतिहासिक दृष्टिले रणनीतिक स्थानमा रहेको छ। महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको सङ्गमस्थल भएकाले यो सहर यातायात र व्यापारको मुख्य केन्द्र बनेको छ, जसले पश्चिम नेपाललाई काठमाडौं र अन्य भागहरूसँग जोड्ने काम गर्छ।
“बुटवल” नाम पुरानो “बटौली बजार” बाट आएको हो, जुन तिनाउ नदीको पश्चिम किनारमा रहेको बुटवलको सबैभन्दा पुरानो बस्ती हो। मध्ययुगमा बुटवललाई “खस्यौली” भनिन्थ्यो, किनभने यसलाई खस राजाहरूले स्थापना गरेको विश्वास गरिन्छ। पछि खस साम्राज्य पतन भएपछि यो क्षेत्र पाल्पाका सेन राजाहरूको अधीनमा आयो र पहाड–तराईबीचको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित भयो। सत्रौँ शताब्दीमा पाल्पा र बुटवल गोरखा साम्राज्यमा गाभियो।
राजा मुकुन्द सेन (सन् १५१८–१५५३) को हिउँदे दरबारका भग्नावशेष
बुटवलमा अवस्थित राजा मुकुन्द सेन प्रथमको हिउँदे दरबार आज भग्नावशेष मात्र बाँकी छ। करिब ६ कोठे दरबार एक समय भव्य वास्तुकलाको नमुना मानिन्थ्यो। अहिले बाँकी रहेका ठूला पर्खालहरूले पनि त्यस समयको राजसी वैभवको झल्को दिन्छन्।
जितगढी किल्ला र अङ्ग्रेज–नेपाली युद्ध
सैन्य किल्लाहरू केवल रक्षा गर्ने संरचना मात्र होइनन्; तिनीहरू इतिहासका मौन साक्षी हुन्- साम्राज्यहरूको उत्थान र पतन, युद्धनीति र वीरताको कथाका प्रमाण।
तिनाउ नदीको पश्चिम किनारमा रहेको यो किल्ला सुरुमा “बटौली किल्ला” भनेर चिनिन्थ्यो भन्ने भनाई छ। सन् १८१६ मा अङ्ग्रेज सेनामाथि नेपाली विजय भएपछि यसको नाम “जितगढी” (अर्थात् “विजयको किल्ला”) राखियो।
अङ्ग्रेज–नेपाली युद्ध (१८१४–१८१६) मा गोरखालीहरूको साहसिक लडाइँले ब्रिटिश ईस्ट इन्डिया कम्पनीलाई चकित पारेको थियो। युद्धपछि ब्रिटिशहरूले गोरखा सैनिकको वीरता पहिचान गर्दै आफ्नै सेनामा भर्ती गर्न थाले, जुन परम्परा आजसम्म जारी छ।
युद्धअघि ब्रिटिश मेजर जनरल जोन सुलिभन उडले व्यापारिक मार्ग खोल्ने उद्देश्यले पाल्पा कब्जा गर्न गुप्त रूपमा बटौली भ्रमण गरेका थिए। त्यतिबेला नेपाली दरबारका कनकनिधि तिवारीले पाल्पा ब्रिटिशको नियन्त्रणमा परेपछि पदोन्नति पाउने लोभमा गोप्य जानकारी चुहाएका थिए। यो योजना थाहा पाएपछि उजिरसिंह थापाले पाल्पा भगवती शिलाको मन्दिर बनाउने वाचा गर्दै देशको रक्षा गर्ने प्रतिज्ञा गरे।
उजिरसिंह थापा नेपाली सेनाका साहसी अधिकारी र प्रशासक थिए। उनी काजी नैनसिंह थापाका छोरा, सरदार अमरसिंह थापाका नाति र प्रधानमन्त्री माथवरसिंह थापाका दाजु थिए। सन् १७९५ मा जन्मिएका उनले १९ वर्षको उमेरमा पाल्पाका प्रशासकको रूपमा जिम्मेवारी सम्हालेका थिए।
कठिन भूभागका कारण ब्रिटिश सेना भारी तोपखाना र रसद पुराउन असमर्थ बने। तोपका गोलाहरू अभाव हुँदा कतिपय घेराबन्दीहरू परित्याग गर्नुपर्यो। नदी किनार र पहाडका शिखरमा बनेका नेपाली किल्लाहरूले स्वाभाविक सुरक्षा प्रदान गर्थे।
गोलाबारुद र सैनिक संख्या कम हुँदाहुँदै पनि स्थानीय जनताको सहयोगमा नेपालीहरूले ४ हजार आधुनिक हतियारसहितका अङ्ग्रेज सेनालाई परास्त गरे।
तर, दीर्घकालीन युद्ध र ब्रिटिश संसाधनका कारण अन्ततः नेपालले सन् १८१६ मा “सुगाौली सन्धि” गर्न बाध्य भयो। त्यस सन्धिअनुसार नेपालले सिखिम, कुमाउँ र गढवाललगायतका क्षेत्र गुमायो र दरबारमा ब्रिटिश प्रतिनिधि (रेसिडेन्ट) राख्ने अनुमति दिनुपर्यो।
जितगढी आजको पर्यटन स्थलका रूपमा
नेपाली सेना र बुटवल उपमहानगरपालिकाको संयुक्त प्रयासमा अहिले किल्ला पर्यटनका लागि आकर्षक रूपमा विकास गरिएको छ। यहाँ युद्ध स्मरणका चित्र, बगैँचा, पुराना हतियारहरू, र नेपाली तथा ब्रिटिश सैनिकका १३ वटा मूर्तिहरू छन्, जसमा कर्णेल उजिरसिंह थापाको पूर्णाकृति मूर्ति पनि समावेश छ।
सबैभन्दा प्रतिकात्मक मूर्तिमा एउटा आमालाई देखाइएको छ- उनले बच्चालाई ढाडमा बोकेकी छिन् र हातमा बन्दुक लिएकी छिन्। यो मूर्तिले युद्धमा आम नागरिक, महिला र बालबालिकाले समेत देशको रक्षा गरेको वीरताको प्रतीक हो।
किल्लामा अब पनि बाँदरहरूको उपस्थिति छ, जसले ठाउँलाई रोचक बनाउँछ तर कतिपय पर्यटकलाई डर लाग्न सक्छ।
राजा मणि मुकुन्द सेनले बनाएको भूमिगत सुरुङ किल्लादेखि नुवाकोटसम्म फैलिएको विश्वास छ, तर अहिले सुरक्षा कारणले बन्द गरिएको छ। हरेक वर्ष रुपन्देहीको बुटवलमा “जितगढी उत्सव” मनाइन्छ, जसमा गोरखादेखि नेपाली सेनाको विशेष मार्च निकालिन्छ।
सेन वंश
पाल्पाको सेन वंश १५औँ शताब्दीको अन्त्यतिर उदय भएको हो। यस वंशलाई शाह वंशसँगै राजस्थानको चितौरका सूर्यवंशी सिसोदिया राजपूतहरूबाट आएको मानिन्छ। मुस्लिम आक्रमणका कारण उनीहरू पश्चिम नेपालतिर सरेका थिए। खेम सेन र राम सेनले बुटवलमा प्रारम्भिक राज्य स्थापना गरेको भनिन्छ। पछि राजा रुद्र सेन (१४८३–१५१८) ले माडी उपत्यकाको तानसेनमा राजधानी राखी सेन राज्यको स्थापना गरे। उनका छोरा मुकुन्द सेनले मगर राजकुमारीसँग विवाह गरेपछि सेन वंशमा मगर रक्तसम्बन्ध स्थापित भयो।
१७१७ मा राजा गन्धर्व सेनकी छोरीले गोरखाका राजा नरभूपाल शाहसँग विवाह गरिन्, जसबाट पृथ्वीनारायण शाह जन्मिए-जसले नेपाल एकीकरण गरे। पछि पाल्पाका महादत्त सेनकी छोरीको विवाह बहादुर शाहका छोरा सँग भएकोले दुवै वंशबीच घनिष्ठ सम्बन्ध रह्यो। पाल्पा राज्य १८०६ मा गोरखामा गाभियो र १८४६ मा राणा शासन स्थापना भएपछि सेन वंशको अन्त्य भयो।
मुकुन्द सेन प्रथम
उनको शासनकालमा पाल्पा अत्यन्त शक्तिशाली राज्य थियो। मुकुन्द सेनले काठमाडौंसम्म सेना पुर्याएका थिए र करिब विजय नै हासिल गरेका थिए। पछि उनी भरतपुर हुँदै चितवन पुगे र आफ्नो सेना फिर्ता पठाए।
रामापिथेकस पार्क
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डमा अवस्थित तिनाउ खोला क्षेत्रमा मानव उत्क्रान्तिको इतिहाससँग सम्बन्धित अत्यन्त महत्वपूर्ण जीवाश्म फेला परेको थियो। सन् १९३२ मा जी. एडवर्ड लुइसले यहाँ “रामापिथेकस” नामक विलुप्त प्राइमेटको दाँत फेला पारेका थिए। सुरुमा यसलाई मानव पूर्वज ठानिए पनि पछि यो ओराङुटानको वंशसँग सम्बन्धित ठहरियो।
भूवैज्ञानिक विश्लेषण अनुसार यसको उमेर करिब १ करोड १० लाख वर्ष पुरानो हो। अहिले यस स्थानमा “रामापिथेकस पार्क” स्थापना गरिएको छ, जहाँ रामापिथेकसको मूर्ति र तिनाउ नदीको मनोरम दृश्य देख्न सकिन्छ।
सिद्ध बाबा मन्दिर
पाल्पा–बुटवल राजमार्गको दायाँतर्फ रहेको सिद्धबाबा मन्दिर धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ। जनश्रुति अनुसार उज्जैनका राजा भर्तृहरि पत्नी वियोगपछि सांसारिक सुख त्यागेर योगी गोरखनाथका शिष्य बने र यसै स्थलमा ध्यान साधना गरी “अष्टसिद्धि” प्राप्त गरे।
यसकारण यो मन्दिर अत्यन्त पवित्र मानिन्छ। प्रत्येक शिवरात्रि, एकादशी, पूर्णिमा र शनिबारका दिन यहाँ ठूलो भीड लाग्छ। शिवलिङ्ग र अन्य मूर्तिहरूका कारण यो स्थान पुरातात्विक दृष्टिले पनि रोचक छ। विवाहलगायतका धार्मिक कार्यहरू पनि यहाँ गरिन्छ।
यसलाई यो साइटबाट साभार गरि भावानुवाद गरिएको हो।