बुटवल । पर्यटनका लागि नयाँ गन्तव्यको पहिचान गर्ने उद्धेश्यले शनिवार बुटवलदेखि पाल्पाको नुवाकोटसम्म पैदलयात्रा हुने भएको छ ।
शहर नजिकका पर्यटकीय गन्तव्यको पहिचान गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक आयोजना हुन लागेको ७ किलोमिटर लामो ‘हाइकिङ’ बुटवलको मणिमुकुन्दशेन उद्यानबाट शुरु हुनेछ ।
नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल (नाटा) लुम्बिनीको आयोजनामा हुने सो पैदलयात्रामा ३ सय पर्यटक नुवाकोट पुगेर फर्किने आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
‘पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा’ नारासहित आयोजना हुने पदयात्राको तयारी पूरा भएको नाटाका प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिनुभयो । सामाजिक महत्व बोकेको पाल्पाको नुवाकोटगढी, भैरव मन्दिरसंगै पर्यटन पूर्वाधार लगायतको अवलोकन पैदल यात्राका क्रममा गर्न सकिने उहाँको भनाइ छ ।