भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात महिनामा डेढ सय अन्तर्राष्ट्रिय उडान भएका छन् ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार यहाँबाट २०२२ मे १६ तारिखदेखि डिसेम्बर १८ सम्म विभिन्न कम्पनीबाट १५४ अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यत्तिकै सङ्ख्या विमान अवतरण भएका छन् । ती उडान–अवतरणबाट उक्त अवधिमा १३ हजार ५९३ यात्रु यहाँ आएका छन् । यहाँबाट १८ हजार २५ यात्रु बाहिरिएका छन् ।
यहाँबाट उडान हुन थालेपछि स्थानीय सरोकारवाला र निजी क्षेत्रका लगानीकर्ता उत्साहित भएका छन् । उहाँका अनुसार यात्रुको सङ्ख्या वृद्धि भएपछि जजिरा एयरले गत भदौ ३१ गतेबाट दैनिक उडान सुरु गरेको थियो ।
महाप्रबन्धक दाहालकाअनुसार हिमालय एयरलाइन्सले गत कात्तिक १७ गतेदेखि यहाँबाट दैनिक मलेसिया चार्टड उडान सुरु गरेको थियो ।
महाप्रबन्धक दाहालका अनुसार जजिरा र हिमालय बाहेक अहिलेसम्म भियतनाम, माल्टा, क्यानडाका विमानले उडान चार्टड गरेका छन् । यस अवधिमा स्काइलाइन एभिएसन, एरो थाई, नेपाल एयरलाइन्स र ओटासी लिमिटेडले उडान भरेको दाहालले जानकारी दिनुभयो ।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा यसको प्रयोग भइरहेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत जेठ २ गते बुद्ध जयन्तीमा विमानस्थल उद्घाटन गर्नुभएको थियो ।