नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा यस वर्ष ४३ प्रजातिका चरा देखा परेको छ ।
हालै सम्पन्न चरा गणनाको तथ्याङ्क अनुसार यस वर्ष जिल्लामा ४३ प्रजातिका चरा देखा परेको पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका पक्षी गणना संयोजक डिबी चौधरीले जानकारी दिनुभयो ।
यस विगतमा देखिए पनि गत वर्षको गणनामा देखा नपरेको राज सुडिया, जुरे हुटिट्याउँ, बेल्चा ठुडे हाँस, जुरे हाँस र ध्यासेसिम कुखुरा यसपालि देखा परेको चौधरीले बताउनुभयो । जसमध्ये राज सुडिया चितवनतर्फ देखिरहेको तर नवलपुर तर्फ आजसम्मको गणनामा देखिएको थिएन । यस वर्ष देखा परेको चौधरीले बताउनुभयो ।
नवलपुर तर्फको नारायणी नदीमा धेरै मात्रामा देखिने चरा चखेवा हो । गत वर्षको तुलनामा यो चरा थोरै मात्रै वृद्धि भएको पाइएको चौधरीले बताउनुभयो । यसवर्ष चार हजार ५०५ भेटिएको छ । गत वर्ष ४ हजार २७ भेटिएको थियो ।