रुपन्देही । बुटवलको बमघाटबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार आजदेखि सञ्चालनमा आएको छ ।
बुटवल उपमहानगर र पाल्पाको तिनाउ गाउँपालिका —३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र बसन्तपुर जोड्ने लुम्बिनी केबलकार निर्माणको काम सकिएपछि सञ्चालनमा आएको हो ।
लुम्बिनी प्रदेशकै पहिलो केबलकारको रुपमा रहेको यो केबलकार आइएमई ग्रुपको मुख्य लगानीमा सञ्चालनमा आएको हो । २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नुभएको थियो ।
तिनाउ नदी वारिपारि आधार (बेस) स्टेसन राखेर निर्माण गरिएको लुम्बिनी केबलकारको प्राविधिक परीक्षणको काम सकिएपछि व्यवसायिक रुपमा सञ्चालन गरिएको केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।
२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डुला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताउनुभयो । बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलब ६ किलोमिटर दुरीको छ । टप स्टेशनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् । केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पांचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताउनुभयो ।
एक हजार दर कायम गरिएको टिकट शुल्कमा विद्यार्थी र स्थानीयलाई २५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ ।
उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी रु ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ ।
आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौँको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।