बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताउनुभएको हो ।
देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताउनुभयो ।
रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उहाँको भनाइ छ ।
नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिने प्रधानमन्त्रीले बताउनुभयो । पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिनुभयो ।
वर्तमान सरकारले देश विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।।
पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उनले बताउनुभयो ।
मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको प्रधानमन्त्रीले बताउनुभयो ।
पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताउनुभयो ।
पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको जनाउँदै उहाँले कामाख्या देवि मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको मन्दिरका कारण यहाँको थप गरिमा बढेको बताउनुभयो ।
अन्त कहीं पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसंगै जोडिएका धेरै संरचना प्रदेशमा रहेको भन्दै उनले यसको ऐतिहासिक सम्पदा, सामाजिक सांस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । गौतम बुद्घ अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । लगानी निजी क्षेत्रबाट भएपनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाइ छ ।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताउनुभयो । ढकालले चीन र भारतमा झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुबै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौँतारिनै नपर्ने विचार राख्नुभयो ।
रुपन्देही र पाल्पा जिल्ला जोड्ने पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पु¥याउने ढकालले बताउनुभयो । केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम बुटवल र तिनाउ दुई पालिकाको विकासमा लगाइने उहाँले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा प्रदेश सरकार स्वागत गर्न चाहेको बताउनुभयो । संघीयतालाई केन्द्रको युनिटका रुपमा नहेर्न उनले सुझाव दिदै संविधानले तोकेका अधिकार प्रदेशलाई विकेन्द्रीकरण गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभयो । पुलिस नभएको सरकारको कुनै तुक नभएको भन्दै आवश्यक नीतिमा रहेर आधारलाई टेकेर अधिकार दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकहरुलाई सुविधा दिने बताउनुभयो । उहाँले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको बताउनुभयो । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको बताउनुभयो । “नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसंगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ”–उहाँले भन्नुभयो ।
कार्यक्रममा संघीय सांसद ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले पर्यटन नै आर्थिक विकासको आधार भएको बताउनुभयो ।
कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।