बुटवल। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक व्यावसायिक उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ । साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् ।
पहिलो पटक अवतरण भएको उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउनुभएको थियो ।
यसअघि विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइड बडी जहाजबार्ट सुरु भएको थियो ।
निगमको जहाज मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो । निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो । निगमले मङ्गलवार र शनिबार गरी २ वटा उडान गर्ने छ भने निगमले काठमाडौँ–क्वालालम्पुर–गौतम बुद्ध विमानस्थल–काठमाडौँ उडान गर्न लागेको जनाएको छ ।
मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो ।
जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।