बुटवल । बुटवलमा भिक्टोरिया रिसोर्ट सञ्चालनमा आएको छ । बुटवल १९, मोेतिपुरमा शुक्रबारदेखि सञ्चालनमा आएको रिसोर्टको नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) प्रदेश अध्यक्ष रचना पन्तले उद्घाटन गर्नुभयो ।
बुटवल मिलनचोक निवासी छवि चौधरीले आफ्नै १५ कठ्ठा जग्गामा रु साढे तीन करोडको लगानीमा रिसोर्ट सञ्चालन गर्नुभएको हो ।
रिसोर्टमा अहिले सात वटा डिलक्स कोठामा मात्रै छन् । विस्तारै कोठा र अन्य सुविधा बढाउँदै लैजाने सञ्चालक चौधरीले बताउनभयो । ६ जना कर्मचारी राखेर शुरुआत गरिएको रिसोर्टमा अन्य पूर्वाधारका काम भइरहेका छन् । रिसोर्टमा सेमिनार हल सहित साना ठूला तीन हल छन् । केही समयमै स्विमिङ पुल बनाउने तयारी समेत छ ।
थारु संस्कृतिलाइ विशेष जोड दिएर सञ्चालन गरिएको रिसोर्टमा विभिन्न थारु परिकारहरु ढिकरी ,घोगी, चिच्चर, माछा, पत्तासुनी लगायतका विभिन्न परिकार खान पाइने सञ्चालक चौधरी बताउनुहुन्छ । “जुन होटलमा गएपनि मम र चाउमिन मात्रै छ तर हाम्रो रिसोर्टमा फरक परिकारको फरक स्वाद लिन पाइन्छ”, उहाँ भन्नुहुन्छ ।
विशेष अवसरमा थारु संस्कृति प्रदर्शन गर्ने तयारी रहेको उहाँ सुनाउनुहुन्छ । उद्घाटनको दिन ग्राहकले खचाखच भरिएको रिसोर्टको परिसरमा थारु गीत नृत्य तथा संस्कृति प्रस्तुत गरिएको थियो । “मोतिपुर क्षेत्रमा यस्ता होटल रिसोर्ट छैनन । त्यसमा पनि फरक स्वाद लिन पाइने भएपछि सबै आउनुहुन्छ भन्ने विश्वास छ”, सञ्चालक चौधरी भन्नुहुन्छ ।
बुटवल बजारदेखी बाहिर भएकाले रिसोर्टमा शान्तपूर्ण वातावरण छ । कुनै कोलाहल छैन । त्यसैले भिक्टोरिया सबैको रोजाइ बन्छ भन्नुहुन्छ रिसोर्टका प्रबन्धक तिलक चौधरी । रिसोर्टमा थारु परिकारका अलावा नेपाली, चाइनिज कन्टिनेन्टल लगायत विभिन्न परिकार पाइने उहाँ बताउनुहुन्छ ।
मुलुकको आर्थिक विकासका लागि भिक्टोरिया जस्ता पर्यटन ब्यवसायको ठूलो योगदान रहने नेपाल एशोशिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताउनुभयो ।
आफुहरु प्रदेशमा रहेका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्ने काममा सक्रिय रहेको भन्दै अध्यक्ष पन्तले प्रदेशभरीका पर्यटकीय क्षेत्रलाई जोडेर पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्ने बताउनुहुन्छ ।
यहाँ पर्यटनको क्षेत्रमा ठूलो लगानी भएपनि पर्यटकहरुको संख्या बढ्न नसकेका कारण लाभ लिन सक्ने अवस्था नरहेको उहाँको धारणा छ । सरकारले गौतमबुद्ध विमास्थल सञ्चालनमा देखाएको उदासीनताले पर्यटन ब्यवसायीहरु आश्चर्य चकित भएको अध्यक्ष पन्तको भनाइ छ ।