लुम्बिनी । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव आयोजना गरिने भएको छ ।
लुम्बिनी होटल संघको आयोजनामा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको महिलवारमा लुम्बिनी प्रदेशस्तरीय साँस्कृतिक तथा सडक खाना महोत्सव हुने भएको हो ।
३१ डिसेम्बर अर्थात पुस १५ गते महोत्सवको आयोजना गरिएको आज लुम्बिनीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । अन्तर्राष्ट्रिय बिहारहरूको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरू महोत्सवमा चाख्न पाइने संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी गराउनुभयो ।
स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै पर्यटकलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको उहाँको भनाइ छ । महोत्सवमा स्थानीय थारु मुस्लिम, ब्राहमण, मगर गुरुङ समुदायका विशेष खानाका परिकारहरु राखिने छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलमानले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सडक खाना महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
महोत्सवमा नौमती, पञ्चेबाजा बिराहा, थारु नाचका साथै आधुनिक पप डिजे गीत संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले बताउनुभयो । लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद समेत आयोजकका रूपमा रहने शर्माले जानकारी गराउनुभयो ।
पुस १६ गते लुम्बिनीका होटलका कोठामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न करिब रु १२ लाख खर्च लाग्ने अनुमान गरिएको संघले जनाएको छ ।