गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ को उनाएचौर आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । पार्कसहित ट्री–हाउस बनेपछि उनाएचौर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको स्थानीयले बताएका छन् ।
उनाएचौरमा निर्माण भएको ट्री–हाउस चढेर तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको कार्यपालीक सदस्य रघुनाथ पन्थीले बताए ।
सल्लोको रुखमा मचान शैलीमा निर्माण गरिएको ट्री–हाउसले पर्यटकलाई आकर्षित गर्ने गरेको उनको भनाइ छ । ट्री–हाउस सञ्चालनमा आएको एक महिनाभित्रमा अन्य जिल्लाबाट समेत आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको उनले बताए । एक महिनाको अवधिमा १५ हजार पर्यटकले उनयचौर पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिसकेको उनले बताए ।