बुटवल–पर्यटन प्रदेश ५ को दीर्घकालीन आर्थिक समृद्धिको खम्बा हो । गौतमबुद्ध जन्मस्थल लुम्बिनीदेखि रुकुमको सिस्ने हिमालसम्मका विभिन्न पर्यटकीय गन्तव्य रहेको प्रदेश ५ को विकासको लागि पर्यटन उत्कृष्ट बाटो हो ।
एशियाकै धार्मिक पर्यटकको महत्वपूर्ण गन्तव्यको रूपमा हेरिएको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाभारतकालीन महत्वपूर्णस्थल स्वर्गद्वारी,प्युठानको स्वर्गद्वारी, गुल्मीको रेसुंगा, रिडी, नवलपरासीको त्रिवेणीधामसंगै अर्घाखाँचीको सुपादेउरालीले समेत धार्मिक एवं पर्यटकीय स्थलहरु रहेका छन् ।
पर्यटनलाई प्रवद्र्धन गर्नको लागि प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । प्रदेश सरकारसँग ४ करोड बजेट माग गरेपनि सरकारले करिब २ करोड रुपैयाँ बजेट बिनियोजन गरी भ्रमण वर्षका विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी भ्रमण वर्षले लुम्बिनीसहित अन्य स्थानमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि योगदान पुग्ने अपेक्षा गरेको बताउँछन् । उनले लुम्बिनी आएका पर्यटकलाई बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम र देवदहसम्म पु¥याउने उद्देश्य रहेको बताए ।
मायादेवी सुत्केरी मार्ग, लुम्बिनीमा दैनिक दीप प्रज्वलन, लुम्बिनी पिस म्याराथन, सडक प्रदर्शनी र बौद्ध दर्शनको विषयमा गोष्ठी, लुम्बिनी, रामग्राम र तिलौराकोट क्षेत्रमा सरसफाई, डस्बिन वितरणलगायतका कार्यक्रमहरुलाई प्राथमिकताका साथ राखिएको छ।
बाह्य मुलुकबाट आउने प्रदेश ५ मा पर्यटक भित्रने बेलहिया र रुपौडिया नाका भएर आउने गर्दछन् । तर अझैपनि काठमाण्डौं आएका पर्यटकलाई लुम्बिनी ल्याएर बस्ने वातावरण भने भइसकेको छैन ।
बाह्य मुलुकबाट आउने पर्यटकहरुलाई गौतमबुद्ध विमानस्थलमा झार्नसकेमा प्रदेश ५ का अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन सकिने संभाव्यता रहेका छन् ।
लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि बसाई भने लम्बिन सकेको छैन। लुम्बिनी विकास कोषले पर्यटकको बसाई लम्ब्याउने योजना बनाएको छ। लुम्बिनीमा बुद्धको जीवनी देखाउने आर्ट ग्यालरी निर्माण तथा रोवर्टको माध्यमबाट बुद्धका जीवनकालमा घटेका महत्वपूर्ण घटना देखाउँदा पर्यटकको बसाई लम्ब्याउन सकिने पर्यटन मन्त्री गिरी बताउँछन् ।
यस्तो छ लुम्बिनी गुरुयोजना
संयुक्त राष्ट्र संघ अन्तर्गत लुम्बिनीका विकासका लागि गठित अन्तर्राष्ट्रिय समितिले जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेलाई सन् १९७२ मा लुम्बिनीको समग्र विकास गर्ने उद्देश्यसहितको गुरूयोजना तयार गर्न जिम्मेवारी तोकेको थियो ।
प्रोफेसर टाँगेले ६ वर्ष लगाएर १९७८ मा लुम्बिनी गुरूयोजना तयार पारी बुझाएका थिए । गुरूयोजना अनुसार सन् १९८५ सम्म प्रथम चरण र १९९५ सम्ममा दोश्रो चरण गरी लुम्बिनी गुरूयोजना सम्पन्न भइसक्नुपर्ने थियो । तर अहिलेसम्म निर्माणको कार्यले मूर्तरूप लिन सकेको छैन ।
केन्जो टाँगेको निधन भएको धेरै समय बितिसक्यो । जिउँदै रहँदा गुरूयोजना पूरा भएको हेर्न त पाएनन्, पाएनन् यत्तिका वर्ष बित्दा पनि गुरूयोजना सम्पन्न हुन सकेन । अहिलेसम्म करिब ८५ प्रतिशतमात्रै भौतिक निर्माणका कामहरू सम्पन्न भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
कैलाशमानसरोवरको प्रवेशद्वार
हिन्दुहरुको मुख्य आस्थाको केन्द्र कैलाशमानसरोवरको प्रवेशद्वारको रुपमा पनि प्रदेश ५ लाई मानिन्छ । प्रदेश ५ को बाँके जिल्लाको बैजनाथ गाउँपालिका प्रवेशद्वार रहेको छ । प्रवेशद्वारमा प्रदेश सरकारले मानसरोवर प्रतिकात्मक पार्क निर्माण गरेको छ । बैजनाथ गाउँपालिकाभित्र रहेको न्यू हरियाली सामुदायिक बनभित्र पार्कलाई व्यवस्थापन गरिरहेको छ ।
संभाव्यता र चुनौती
प्रदेश ५ पर्यटनको क्षेत्रमा राम्रो संभाव्यता बोकेको क्षेत्र हो । लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय चेन बनाएमा पर्यटकको बसाई लम्ब्याउने संभावना पनि उत्तिकै छ । प्रदेश सरकारले गरेको खर्चको केही प्रतिशत मात्रै पनि पर्यटक आएर प्रदेशभित्र खर्च गर्ने अवस्था भने अहिले छैन ।
पर्यटकको बसाई लम्ब्याउन सकेमा धेरै राम्रो हुने बताउँदै पर्यटन मन्त्री गिरीले व्यवस्थित होटलहरु र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएसंगै बाह्य पर्यटक आउने र विदेशी मुद्रा प्रदेश ५ मा भित्रने बताए ।
लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदहबाहेक पनि प्रदेश ५ मा अन्य पर्यटकीय क्षेत्रहरु पनि रहेका छन् जुन प्रचार प्रचारको अभावमा केही पछाडि परेका छन् ।
बर्दिया तथा बाँके राष्ट्रिय निकुञ्ज भएको, पुराना बलिया राज्यहरू पाल्पा र गुल्मीदेखि नयाँ मुलुकका बाँके र बर्दियासम्म समेटिएको, समथर तराईदेखि लगभग हिमालसम्म फैलिएको प्रदेश ५ वातावरणीय र सामाजिक रूपमा अत्यन्त विविधता भएको एक महत्वपूर्ण क्षेत्र हो । यसमा पर्यटन क्षेत्रले फड्को मार्नसक्छ ।
बुद्धका अनुयायीहरू आफ्नो जीवनमा एकपटक लुम्बिनी जसरी पनि पुग्नु पर्छ भन्ने भावना राख्छन् । विश्वभरमा बौद्ध धर्म मान्ने र बौद्धमार्गीहरूको संख्या अर्बको हाराहारीमा रहेको अनुमान छ ।यति धेरै संख्यामा बौद्ध धर्मावलम्बी र बौद्धमार्गी हुँदा पनि नेपालले त्यसको फाइदा लिन सकेको छै्रन ।
नगन्य रुपमा लुम्बिनी आउँछन् विदेशी बौद्धिष्टहरु । लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, ब्रान्डिङ एवं मार्केटिङको अभावमा लुम्बिनीमा केही पर्यटक मात्र आउने गरेका छन् ।
त्यसमा पनि हवाईमार्गको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल भित्रिने पर्यटकहरु निकै कम आउने गरेका छन् । लुम्बिनी आउने विदेशी पर्यटकमध्ये ९० प्रतिशत बढी स्थलमार्गको बेलहिया(भैरहवा) नाका हुँदै आउँछन् । काठमाण्डौं आउने विदेशी लुम्बिनी आउँदैनन् प्रायः ।त्यस्तै लुम्बिनी आउने धेरै अन्यत्र जाँदैनन् ।
पर्यटकलाई बुद्धभूमिको अनुभूति दिलाउनका लागि बेलहिया नाकादेखि लुम्बिनी र कपिलवस्तुसम्म बुद्धका मूर्तिहरुले सजाउनु पर्छ । गुल्मी, पाल्पा, नवलपरासी, दाङ, बाँके र बर्दियाका मुख्य प्रवेशद्वारहरुमा पनि बुद्धका ठूला कदका मूर्तिहरु राख्न आवश्यक रहेको संस्कृतिविद् गिरी बताउँछन् ।
अग्ला र चट्टाने पहाडमा बुद्धमूर्ति बनाएर हजारौं पर्यटकहरु तानिरहेको श्रीलंकाको कामको सिको नेपालले गर्नुपर्छ ।नवलपरासीको रामग्राममा नेपालकै तर्फबाट विशाल बिहार र बुद्धमूर्ति बनाउँदा पर्यटकहरु त्यहाँसम्म पुग्ने वातावरण बन्छ ।
प्युठानको स्वर्गद्वारीको चर्चा विश्वस्तरमै हुने गरी सरकारले योजना बनाउनुपर्छ । यो पर्यटक भित्र्याउने अर्काे मुख्य ढोका हो । यो धार्मिकस्थलसम्म पुग्न यातायात सुविधा सहज बनाउने र प्रचारमा ध्यान दिनु आवश्यक छ । अर्घाखाँचीको सुपादेउराली दाङ देउखुरीको रिहार, धर्नाको धारपानी मन्दिरको त्रिशूल, पुरन्धारा छहरा पर्यटकको मन तान्ने क्षेत्र हुन् ।
एसियाकै ठूलो उपत्यका रहेको दाङ र पहाडकी रानी मानिने पाल्पा प्याराग्लाइडिङ उडानका लागि सम्भावना बोकेका जिल्ला हुन् । यहाँ प्याराग्लाइडिङ उडान भए लुम्बिनी आउने पर्यटकहरुलाई सहजै पुराउन सकिने सम्भावना छ ।
रोल्पाको जलजला, जनयुद्धको उद्गम थलो थवाङ पनि पर्यटकीय गन्तव्य हुन् । बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रुकुमपूर्वको कमल दहलगायत, पाल्पाको दरबार क्षेत्र पनि पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिन्छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बाँके र दाङमा रहेका विमानस्थलहरु पर्यटक बोक्ने स्थानका रुपमा प्रयोग गर्ने योजना सरकारले बनाउनुपर्ने सुझाव विज्ञहरुको छ । पहाडी क्षेत्रको पर्यटन प्रवद्र्धनमा होमस्टे, केवलकार र प्याराग्लाइडिङ महत्वपूर्ण पूर्वाधार हुन् । भारतीय पर्यटकहरु नै पहाडी क्षेत्रमा पुग्ने मुख्य सम्भावना हुन सक्छन् ।
सूचना केन्द्रकोआवश्यकता
प्रदेश ५ भित्र रहेका पर्यटकीय गन्तव्यको बारेमा धेरैलाई थाहा नहुँदा प्रदेशका सबै स्थानमा पर्यटक पुग्न सकेका छैनन् । संस्कृतिविद् गितु गिरी भन्छन्–‘लुम्बिनीलाई देखाएर हाम्रा अन्य संस्कृति पनि पर्यटकलाई देखाइदिनुपर्छ । किनभने पाल्पा, गुल्मीका धार्मिक पर्यटकीय स्थल हेर्न विदेशी पर्यटक आउने सम्भावना कम हुन्छ ।’
प्रदेश नम्बर ५ ले सबैभन्दा बढी पर्यटक भारतबाट भित्र्याउन सक्ने सम्भावना छ । प्युठानको स्वर्गद्वारी, गुल्मीको रेसुंगा, रिडी, नवलपरासीको त्रिवेणीधाममा भारतीय धार्मिक पर्यटकहरुलाई अझै धेरै ल्याउन सकिन्छ ।
लुम्बिनी र तिलौराकोटमा बौद्धमार्गीसँगै अनुसन्धानकर्तालाई ल्याउने योजना सरकारसँग हुनुपर्छ । लुम्बिनी विकास कोषमा हुने राजनीतिक नियुक्तिबारे बेलेमै निर्णय लिएर त्यसको विकासमा पनि प्रदेश सरकारको चासो हुनुपर्छ ।
पर्यटकहरु आएर घुमेर फर्किने क्रम पनि उत्तिकै रहेको छ । विदेशबाट आएका पर्यटकले यहाँबाट फर्किँदा लैजाने मायाको चिनोहरु स्थानीयस्तरमा नै उत्पादन भयो भने विदेशी पुँजी प्रदेशमा नै रहने संस्कृतिविद् गिरी बताउँछन् ।
‘पर्यटकहरुबाट सेवा वेचेर पैसा प्रदेशमा भित्र्याउन सकिन्छ –उनले भने –‘होटल व्यवसायको क्षेत्र तथा मनोरञ्जन प्रदान गर्ने खालका बारहरुको स्थापना र व्यवस्थापन हुनु पर्छ, जसबाट बैदेशिक मुद्रा प्रदेशमा रहन्छ ।’
सडक सुधारिँदै
प्रदेश ५ को मुख्य पर्यटकीयस्थल लुम्बिनीसम्म पुग्नको लागि सडक भने जीर्ण अवस्थामा रहेको छ । संघीय सरकारले शुरु गरेको परियोजनामा ठेकेदार छाडेर भाग्ने र भागेका ठेकेदारलाई कारबाही नहुने परम्परा रहेको कारणले सडक समयमा मर्मत भइनसकेको प्रदेश ५ सरकारका पर्यटन मन्त्री लिला गिरी बताउँछन् । उनले संघीय सरकारले शुरु गरेको काममा प्रदेश सरकारले केही गर्न नसक्ने बताउँदै अब प्रदेश सरकारले नै मुख्य प्राथमिकतामा राखेर सडक सुधारिने तर्क गरे ।
भैरहवादेखि लुम्बिनीसम्म पुग्ने सडकमा बन्न बाँकी रहेका २ पुल मध्ये एक स्थानमा बेली ब्रिज बनाएर काम शुरु गरिने मन्त्री गिरीले बताए ।