भैरहवा–बुद्धजन्मस्थल लुम्बिनीमा रोबोटमा आधारित बुद्धग्राम सञ्चालनमा आएको छ। लुम्बिनी आएका पर्यटकले मन्दिर घुमेर मात्र नभई बुद्धको जीवनीबाट केही सन्देश सिकेर जाउन भन्ने उद्देश्यले नेपाली युवाहरु पुरुषोत्तम अर्याल, गोविन्द विश्वकर्मा, प्राथमिक न्यौपाने र दुर्गा तामाङले बुद्धग्राम सञ्चालनमा ल्याएका हुन।
रोबोटीक थ्रियटरको माध्यमबाट नाटकीय स्वरुपमा बुद्धको बारेमा देखाउदाँ पर्यटकलाई केही समय भएपनि भुलाउन सकिने र बुद्धले दिएको सन्देश सबै सामु पस्किन सकिने आशा गरिएको छ। ५ करोडको लागतमा मायादेवी मन्दिरको मुख्य प्रवेशद्वार नजिकै रोबोटिक थ्रियटर अर्थात बुद्ध ग्राम हो निर्माण भएको छ। जस्मा गौतम बुद्धको जन्म, मृत्यु देखि महापरिनिर्माण सम्मको अवस्थालाई समेटेर थिएटरको माध्यमबाट बुद्धको जीवनी देखाउने बुद्ध ग्राम प्रालिका संचालक पुरुषोत्तम अर्यालले बताए।
‘पर्यटन प्रवद्धन गर्न नेपाली इन्जिनियरको डिजाइन, नेपाली कलाकारको कला, सोच, नेपाली प्रविधि र नेपालकै अध्यात्ममा अधारित बुद्धग्राम हरिबोधीनी एकादशीको दिनबाट अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हाै।’ उनले भने ‘सो सञ्चालनमा आएपनि अहिले कोभिडको जोखिम कायम रहेकोले वातावरण सहज भएपछि औपचरिक उदघाटन गर्छौं।’ एक दिनमा आएर फर्किने पर्यटकलाई यसबाट लुम्बिनीमा केही मद्दत पुग्ने अर्यालले बताए। यस प्रकारको थ्रियटर विदेशमा भए पनि आफूहरुले बुद्धलाई जोडेर लुम्बिनीमा पहिलो पटक बनाएका बनाएको उनको भनाइ छ ।
निर्माणधिन थ्रियटरमा कुल २ सय ८० जनाको क्षमता छ, जसमा ८ वटा फरक फरक ३५ जनाको क्षमताको हल छ। प्रत्येक हलमा ८ मिनेटको बुद्धको जीवनीसगँ सम्बन्धित कथा रोबोटिक माध्यमले चरणबद्ध तरिकाले देखाइने छ। १ घण्टाको एक शो हुने उक्त प्रस्तुती विभिन्न ८ चरणमा फरक–फरक ८ हलमा देखाईन्छ। पहिलो चरणमा बुद्ध को हुन् ? कसरी बुद्ध भए ? भन्ने देखाइन्छ।
दोस्रो चरणमा बुद्धको जन्मको बारेमा देखाइने तथा तेस्रो चरणमा बुद्ध र देवदत्तको बीच पंक्षीको विषयमा भएको विवादको कथा देखाइनेछ। चौथो चरणमा बुद्धले देखेको पिडा, पिर मर्कालाई प्राकृतिक परिवेश अनुसार देखाइने छ। त्यस्तै पाचौँ चरणमा रोक, शोक, बुद्ध दरबार छोडेर नदी किनारमा गएर कपाल खौरेको कथा प्रस्तुत गरिनेछ। छैठौँमा बुद्धले बुद्धत्व प्राप्त गरेको कथा प्रस्तुत हुनेछ भने सातौँमा बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलो पटक ऋषिलाई दिएको ज्ञानबारे देखाइने छ। अन्त्यमा आठौँ र अन्तिम चरणमा बुद्धको मृत्यु र त्यस पछिको अवस्था देखाइने छ।
एक घण्टामा यसरी बुद्धको जीवनलाई रोबोटको माध्यबाट थिएटरमा कथा वस्तु र ध्वनी सहित पर्यटकहरुलाई देखाएर बुद्धको जीवनको बारे सम्पूर्ण दर्शकहरुलाई ज्ञान र जानकारी दिने उद्देश्यले काम गरेका प्रालिले जनाएको छ ।
जीवनीमा रोबोटकै बुद्ध, ऋषिमुनी, मन्त्री शिष्यहरु सहित प्राकृतिक जस्तै देखिने कृत्रिम वादल, त्यही अनुसारको परिवेश हावापानी, नदीनाला छन। नेपाली इन्जिनियरहरु विश्व भरि रोबोटमा उत्कृष्ठ भएकाले ५ जना नेपाली इन्जिनियरहरुबाट नै निर्माण गरेको हो। थ्रियटरमा रुख, आकाश, जंगल, खोला, नदी, सबै हुनेछन् । ‘हामीले बुद्धको जीवनी रियालिटी जस्तै देखाउने प्रयासमा छौँ’ प्रालीका सञ्चालक अर्यालले भने ‘जुन पर्यटकले हेरेर आफुमा बुद्धजस्तै सकारात्मक सोचको विकास गरुन भन्ने हाम्रो चाहना छ।’
बुद्ध ग्राममा १८ वटा विभिन्न व्यवसायिक कोठाहरु पनि निर्माण भइरहेका छन्। जहाँ बुद्धले खाने गरेको खानाका परिकारहरु रेष्टुरेन्ट, बुद्धसगँ सम्बन्धित आर्ट ग्यालेरी, बुद्ध मुर्ति, माला पसल, लगायत अन्य पर्यटकको लागि शोभनिय व्यवसायिक पसलहरु संचालन गरिने उनले जानकारी दिए। बुद्धग्राममा प्रत्यक्ष रुपमा १६ जना र अप्रत्यक्ष रुपमा ५० बढिले रोजगारी पाएका छन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा आएको वातानुकुलित उक्त ग्राममा एक शो को २ सय ७५ रुपैयाँ को टिकट छ, पहिलो महिना सबै नागरिकलाई सोही मुल्यमा र दुई जनासँगै एक जनालाई निशुल्क प्रवेश दिने बुद्धग्रामले जनाएको छ।
अन्य समयका लागि सार्क र बिमस्टेक राष्ट्रका नागरिकलाई ४ सय ५० रुपैयाँ, अन्य मुलुकका नागरिकलाई ५ सय ५० रुपैयाँको टिकट लाग्ने छ, जस्मा नेपाली विद्यार्थी र लुम्बिनी नगरवासीलाई ३३ प्रतिशत छुट प्रदान गर्नेे बुद्धग्रामले जनाएको छ।