भैरहवा–लुम्बिनीमा निर्माण भइरहेको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा शान्ति भूमि गौतमुबद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको उक्त केन्द्रको पहिलो चरण अन्तर्गतको ९८ प्रतिशत काम सम्पन्न भएको लुम्बिनी विकास कोषले जनाएको छ ।
विश्व व्यापी महामारी कोभिड–१९ कोरोना भाइरसले निर्माण कार्यमा सुस्तता छाएपनि पछिल्लो समय निर्माण कार्यले तिव्रता लिएको छ ।
मायादेवी मन्दिर बन्द भएपनि विकासको कार्य अघि लैजानुपर्छ भन्दै विकास कोषले सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्ने व्यक्तिहरुलार्ई सोही ठाउँको साइटमा नै रहने व्यवस्था गरी विकास निर्माणका महत्वपूर्ण योजनालाई अगाडि बढाउदै आएको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय अवधेशकुमार त्रिपाठीले बताए ।
‘नेपालमै नमूना बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको केन्द्रको प्रारम्भिक चरणको काम सकिएको छ, बाहिरी स्वरुप दिने काम भइरहेको छ, दोस्रो चरणको काम अन्तर्गत बोलपत्र मूल्याङ्कनको काम भई प्रक्रिया अगाडि बढेकोे छ’– कोषका उपाध्यक्ष त्रिपाठीले लुम्बिनी टाइम्सलाई जानकारी दिए ।
पहिलो चरण अन्तर्गतको केही सामान कोभिडले विदेशमा रोकिएपनि अहिले फिल्डमा आइसकेको र फिटिङको प्रक्रियामा छ । दोस्रो चरणमा कम्पाउण्ड वाल, भित्री वाल, ल्याण्ड स्केप, पाहुनाको लागि प्रतीक्षा कक्ष, पार्किङ, विद्युतीकरण, बुद्ध मुर्तिसहितको आकर्षक वाटर फाउन्टेन, सौन्दर्यीकरण, दुई वटा शौचालय भवन लगायतका काम हुने उनले जानकारी दिए ।
म्याद थप सहित २०७७ फागुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको काम कोरोना भाइरसको महामारीका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । केन्जो टांगेको गुरुयोजना बाहेकको यो संरचना बुद्ध पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । २५६० औं बुद्ध पूर्णिमा समारोह हावाहुरी र वर्षाले कार्यक्रममा अवरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ हजार क्षमताको सभाहल निर्माण गने घोषणा गरेका थिए ।
३१ करोड लागतमा निर्माण सम्पन्न गर्न अनक–अर्घाखाँची–बाबुल जेभीले ठेक्का पाएको छ । ९ हजार वर्गमिटरमा बन्दै गरेको हलमा पहिलो चरणको अन्तिम फोरसिलिङको काम भइरहेको छ ।
२६ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ, जसमा मौसम अनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने छानो छाइएको छ ।
सभाहलको उचाई १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म गोलाई आकरमा बनाइएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए ।
यस क्षेत्रकै नमुनाको रुपमा रहेको हललाई आवश्यकताअनुसार सानो–ठूलो बनाउन सकिने छ । अटोमेटिक पार्टेसन प्रविधिबाट बनेको हल दक्षिण एशियाकै नमूना र फरक शैली स्टिल र फलामको प्रयोगबाट निर्माण गरिएको भट्टराईले बताए ।
कोरियन गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा (स्वयम्भूका दुई आँखा) को आकृति बनाउने गरी डिजाइन गरिएको छ ।