बर्दिया-बर्दिया राष्ट्रिय निकुञ्जमा पंछी अवलोकनका क्रममा ५ प्रजातिका नयाँ चरा भेटिएका छन् ।
गत मंसिर ३० गतेदेखि पुस ४ गतेसम्म निकुञ्जका गाइड तथा वाइल्डलाइफ फोटोग्राफर दीपक राजवंशीको नेतृत्वमा निकुञ्ज क्षेत्रमा अवलोकन तथा अध्ययनमा निस्केको ७ सदस्यीय टोलीले थप ५ प्रजातिका चरा फेला पारेको हो।
बर्दिया निकुञ्जमा योसँगै चराका प्रजातिको संख्या ५२१ पुगेको छ।
सन् १९८८ मा स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्जमा राजवंशीको नेतृत्वमा चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान र बर्दिया प्रकृति संरक्षण क्लबका युवा तथा फोटोग्राफर र नेचर गाइडहरु डेभिड शाही, कृष्ण थापा, गौरव चौधरी, संरक्षण चौधरी, साइमन चौधरी, सन्दीप चौधरी पंछी अवलोकन पदयात्रामा खटिएका थिए।
विश्वमै दुर्लभ २५ प्रजातिका चराहरुमध्ये ५ अति संकटापन्न, ६ संकटापन्न र १३ संवेदनशिल प्रजाति भेटिने सो निकुञ्जमा १२८ प्रजातिका राष्ट्रिय रुपमा दुर्लभ पंछीहरु छन् ।
जसमध्ये २८ अति संकटापन्न, ३८ संवेदनशिल र ४१ संकटको नजिक रहेको बीसीएन र डीएनपीडब्लुसीद्वारा सन् २०१९ मा प्रकाशित बर्डस् अफ बर्दिया नेशनल पार्कमा उल्लेख गरिएकोछ ।
विशेष गरी पाटेबाघ, गैंडा, हात्ती, संरक्षित कृष्णसार र गोहीका लागि परिचित छ बर्दिया राष्ट्रिय निकुञ्ज।
निकुञ्जमा स्वदेशी तथा विदेशीहरुका हात्ती सफारी, जंगल सफारी, जंगल वाक, र्याफटिङ लगायतको सुविधा रहेको छ।
तस्वीर सौजन्य : दीपक राजवंशी
प्रकाशित मिति: शनिबार, पुस ११, २०७७, १८:२९:००