बर्दिया-बर्दिया बाघका नामले परिचित छ। बाघका लागि बर्दिया राष्ट्रिय निकुञ्ज संसारमै प्रख्यात छ। यहाँ ८५ वटा बयस्क बाघ छन्। स–साना डम्मरुको संख्या पनि उल्लेख्य छ।
निकुञ्जमा चैतदेखि असारसम्म बाघ हेर्न सकिन्छ। गर्मीमा ती पानी खान र डुबुल्कि मार्न निकुञ्जका खोलामा आउँछन्। घन्टौं बस्छन्। त्यतिबेला टाढैबाट तिनका तस्बिर खिच्न सकिन्छ।
शुरुमा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित यो वन पछि बर्दिया वन्यजन्तु आरक्ष बन्यो । २०४५ मंसीर २० गते मात्रै बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा भयो। यस निकुञ्जमा पाटेबाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगलीहात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।
जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् । यस निकुञ्जमा हालसम्म ४ सय ३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ । पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा वर्षेनी पर्यटकको संस्था बढिरहेको छ।
यस्तै सम्भावनाहरुलाई उजागर गर्न बर्दियाका रैथाने दीपक राजवंशी तस्वीर खिच्न माहिर छन्। उनलाई बर्दियाका अघोषित पर्यटन दूत नै भन्दा फरक पर्दैन। क्यामेरा बोकेर उनी हरेक दिन जंगल जान्छन्। जनावर देख्ने बित्तिकै लेन्स सोझ्याइहाल्छन्। बाघका धेरै खाले तस्बिर खिचेका छन् उनले। नजिकैबाट पनि खिचेका छन्।
मन र मुटु दरो बनाएर खिच्छन्। उनी भन्छन्-बाघको धेरै नजिकसम्म पुगेर तस्वीर लिएको छु। शुरुमा त डर लागेन, तर पछि फर्किएपछि डर लाग्यो। अहिले रमाइलो लाग्छ।'
५ वर्षदेखि नेचर गाइडका रुपमा काम गर्दै आएका राजबंशीले फोटोग्राफी गर्न थालेको पनि त्यति नै वर्ष भयो। उनका नेचर गाइड गुरु मामा राजमान चौधरी हुन् भने फोटोग्राफीका गुरु ओम यादव हुन्।
बाघको मात्र होइन, जंगली हात्ती, गैंडा, चराचुरुङी लगायत थारु संस्कृति र जीवनशैलीका थुप्रै तस्बिर खिचेका छन् उनले।
संरक्षणको भावना र शौखले उनी जंगली जनावर र पंछीका तस्बिर खिचिरहेका छन्।
बर्दियामा बाघ मात्र होइन, अरु जनाबर पनि छन्। ४१ वटा एक सिंगे गैडा, १२० वटा भन्दा बढी जंगली हात्ती छन्। सयौं थरि चरा पनि छन्। खासमा बर्दिया विगतमा राजा/महाराजाको शिकार खेल्ने थलो थियो।
२६ वर्षे यी तन्नेरी फोटोग्राफर दिपक राजबंशीले खिचेका मनै लोभ्याउने बाघका तस्बिरहरू हेर्नुहोस्।
सबै तस्वीरहरु : दीपक राजवंशी