लुम्बिनी- झण्डै एक वर्ष पछि बुद्धजन्मस्थल लुम्बिनीमा आन्तरिक तथा छिमेकी मुलुकका पर्यटकहरुको चहलपहल देखिएको छ। अंग्रेजी नयाँ वर्ष सन २०२१ को पहिलो दिन लुम्बिनीमा पर्यटकहरुको राम्रै चहलपहल थियो । नयाँ वर्ष भन्दा एक हप्ता अघि देखि नै लुम्बिनीमा क्रमश चहलपहल देखिएको स्थानिय इग्नाइट लाउन्ड एन्ड रेष्टुरेन्टका प्रोपाइटर बाबुराम पराजुलीले बताए। ‘पाँच सात दिन भयो। व्यापार राम्रै छ।’ उनले भने ‘बाहिरी मुलुकका पर्यटक देख्न पाइन्न। आन्तरिक पर्यटकहरु राम्रै छ। नयाँ वर्षमा अझ चहलपहल बढेको छ।’
होटल संघ लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले नयाँ वर्ष मनाउन आन्तरिकसँगै भारतीय पर्यटकहरु पनि आएको बताए। ‘सिमा सहज छैन । तै पनि नयाँ वर्ष मनाउन निजी गाडीमा केही भारतीय पर्यटकहरु चाँही आइरहेका छन्।’ उनले भने ‘उनीहरु बस्ने गरी आउँदैनन्। कोठाको व्यापार नभएपनि रेष्टुरेन्टको व्यापार राम्रो भएको छ।’
मुलुक भित्रकै कतिपय पर्यटकहरु भने बस्ने गरि नै लुम्बिनी आएको श्रेष्ठले बताए। अरु दिन प्रत्येक होटलमा एक दुइ वटा कोठा जाने गरेको भएपनि नयाँ वर्षको दिन र अघिल्लो रात चार पाँच वटा सम्म कोठा बुक भएको उनले जानकारी दिए। लुम्बिनी विकास कोषका तत्यांक शाखाका कर्मचारी दिलीपसिंह राइले नेपालीसँगै भारतीय पर्यटकहरु पनि आउने क्रम सुरु भएको बताए। ‘एक दुइ जना फाट्ट फ्ट्ट आइराखेका थिए। नयाँ वर्षमा भारतीय पर्यटक अलि धेरै नै आए।’ उनले भने ।
बुद्धजन्मस्थल लुम्बिनीमा चहलपहल बढेपछि पर्यटन व्यवसायीहरु पनि आशाबादी देखिएका छन्। गत चैत ११ गते लकडाउन हुनुभन्दा केही हप्ता अघि देखि नै लुम्बिनी सुनसान बनेको थियो। सन २०१९ को अन्त तिर चिनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । कोरोना संक्रमण युरोपेली मु्लुकहरुमा पनि फैलिएपछि लुम्बिनीमा बाहय पर्यटकको चहलपहल ह्वात्तै घट्यो।
२०१९ को फेबुररी महिनामा २६ हजार विदेशी पर्यटक आएकोमा २०२० को यही महिनामा २२ हजार पर्यटक आएका थिए। त्यस्तै अघिल्लो फेबुररी महिनामा ८१ हजार नेपाली पर्यटक लुम्बिनी आएकोमा २०२० को फेबुररी महिनामा ६५ हजारमा झरेको थियो । मार्च महिना लागेपछि लुम्बिनी सुनसान बनेको थियो । चैत्र ११ गतेको लकडाउन पछि लुम्बिनीमा प्रवेश निषेध नै गरियो।
असोजमा लकडाउन खुलेपछि फाट्ट फुट्ट मात्रामा मानिसहरु लुम्बिनी घुम्न जान थालेका थिए । मंसिर ३ गते मायादेवी मन्दिर प्रवेश गर्न नपाइने गरी लुम्बिनी खुला भएको थियो । मंसिर २१ गतेबाट सुरक्षाका उपाय अपनाउँदै मायादेबी मन्दिर प्रवेश समेत खुल्ला गरिएको छ ।