गुल्मी - मालिका प्याराग्लाइडिङ महोत्सव सकिएको छ। मालिका गाउँपालिकाले पर्यटन विकासमा टेवा पुराउने उदेश्यले दुई बजार व्यावस्थापन समितिसंग सहकार्य गरेर मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरेको थियो। १५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका छन्। दिउँसोमा हावाको चाप बढि हुने भएकाले बिहान ८ बजेबाट करिव १२ बजेसम्म ६ उडानको व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए।
उनले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केहि प्रतिशत लगानी गरेको बताए। ‘गाउँपालिका आफैले महोत्सव वा प्याराग्लाइडिङ्ग संचालन गर्दैन,’ उनले भने,‘समन्वय र सहकार्यका लागि कहिल्यै पछि पर्दैनौ।’ अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको थियो। दैनिक ६ भन्दा बढि उडानको स्विकृती नभएकाले अझै थप प्याराग्लाइडिङ गर्ने चाहाना पुरा गर्न नसकिएको अर्खाबाङ बजार व्यावस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताए।
गुल्मीको मालिका गाउँपालिका ८ मरभुङकी कमला अर्यालले गाउँमा प्याराग्लाइडिङ हुने कल्पना पनि गरेकी थिइनन्। तर, साढे दुई हजार मिटरको उचाइबाट प्याराग्लाइडिङ गरिन्। अर्याललाई उडेर आकाशबाट आफ्नो गाउँ देख्दा रमाइलो नलाग्ने कुरै भएन्। ‘सुरुमा मलाई पनि डर लाग्यो। जब उडियो मज्जाले गाउँ घुमियो,’ उनले भनिन,‘अवसर र हिम्मत ठुलो कुरा रहेछ ।’
गाउँपालिका उपप्रमुख देवा अर्यालले पनि प्याराग्लाइडिङ गरिन्। उनले आफुलाई पनि मनोरञ्जन र अरुलाई पनि उत्साह दिन प्याराग्लाइडिङ गरेको बताइन् ।
यो ठाउँ उडानका दृष्टिकोणले अत्यन्तै राम्रो मानिएको छ। गत मंसिर अन्तिम साता स्काई लाइन प्याराग्लाइडिङ पोखराको टोली मार्फत मालिका गाउँपालिका ४ को देउरालीबाट प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो। स्काई लाइन प्याराग्लाइडिङ पोखराका संचालक तथा पाइलट भुवन गाहाले मालिका पोखराको विकल्प बन्न सक्ने बताए। पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले देउराली संराङकोटभन्दा राम्रो भएको गाहाले दावी गरे।
उनले नेपालमा आफुले परिक्षण गरेका स्थानहरु मध्ये व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण मालिका भएको बताए। बाह्य पर्यटकले लामो दुरीमा प्याराग्लाइडिङ गर्न मन पराउने भएकाले गाउँपालिकाले व्यावसायीहरुसंग सल्लाह गरेर निरन्तरता दिन गाहाले जोड दिए। ‘अहिले लामो दुरीको लागि खर्च बढि पर्छ । तत्काल छोटो दुरीको प्याराग्लाइडिङ्ग गरौ,’गाहाले भने,‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान गर्नुपर्छ।’ उनले पछिल्लो पुस्ताले रुचाएको शाहसीक खेल भएकाले प्याराग्लाइडिङको लागि पुर्वाधार निर्माणसहित होमस्टे संचालनमा जोड दिए ।
मालिका गाउँपालिका बिकटलाई निकट बनाउने दौडमा छ। जिल्लाको पश्चिम क्षेत्र भौगोलिक दृष्टिकोणले विकट छन्। तर, पर्यटनका प्रचुर संभावनाहरु पनि उत्तिकै छन्। त्यो मध्ये प्याराग्लाइडिङ एक हो। मालिका गाउँपालिकाले पहिलो गाउँसभामै प्याराग्लाइडिङको संभाव्यता अध्ययन गर्ने योजना अगाडी सारेको हो। तर, कार्यपालिका भित्रैका सदस्यहरुको अनेक सोचका कारण २ बर्षपछि मात्रै गत मंसिर १७ गते परिक्षण उडान गरिएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए।
उनले गाउँपालिकाले व्यावसायको क्षेत्र पहिचान मात्रै गरेकाले प्याराग्लाइडिङ व्यावसाय संचालन गर्न आउनेहरु सस्था वा कम्पनीलाई आफुहरुले स्वागत र सहकार्य गर्ने बताए। गुल्मी पश्चिमका अग्ला पहाडहरु प्याराग्लाइडिङका लागि बाह्रै महिना उपयुक्र्त छन्। धेरै अग्ला भएकाले उडेर धेरै ठाउँमा पुग्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा प्याराग्लाइडिङ पर्न सक्छ। पश्चिम गुल्मीका स्थानीयतहबिच समन्वय गरेर नियमित प्याराग्लाइडिङ्ग थप योजना बनाइने प्रवक्ता गिरीले बताए ।
मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले संभाव्यता अध्ययनसहित १५ दिन महोत्सव मार्फत व्यावसायीक प्याराग्लाइडिङ भएकाले अब भौतिक पुर्वाधार निर्माणमा जोड दिने बताए। ‘अब निजी क्षेत्रलाई लगानी गर्न कुनै समस्या छैन । पुर्वाधार निर्माणमा तीन तहका सरकारबिच समन्वय गर्छौ,’थापाले भने,‘ढुक्क भएर हामीसंग आउनुस् ।’ मदाने र मालिकाका अधिकांश गाउँ सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्दछन्। थापाले सालझण्डी–ढोरपाटन सडकखण्डको नजिक र गुल्मीसहित अर्घाखाँची, बाग्लुङ र प्युठानका महत्वपूर्ण ठाउँमा उडान गर्न सकिने भएकाले सवैको पहलमा मालिकालाई प्याराग्लाइडिङ्ग हब बनाउनुपर्नेमा जोड दिए।