नवलपरासी । बुद्धको नामसँग जोडिने जिल्लाहरुमध्ये एक हो नवलपरासी । परिवर्तित राज्य संरचना अन्तरगत यो जिल्ला २ वटा प्रदेशमा विभाजित छ । बर्दघाट पूर्वको भाग गण्डकी प्रदेशमा पर्छ भने बर्दघाट पश्चिमको भाग ५ नम्बर प्रदेशमा पर्छ ।
यो तीन तले जिल्लाको रुपमा चिनिने जिल्ला पनि हो । पहाड, भित्री मधेश र तराई मधेश गरी तीन खालका भौगोलिक हिसाबले विभाजित यो जिल्ला नेपालभरिकै हावापानी र वातावरणसँग मिल्ने वातावरण छ ।
उत्तरमा पाल्पा र तनहुँ, पश्चिममा रुपन्देही, पूर्वमा चितवन र दक्षिणमा भारतको उत्तर प्रदेश र विहार प्रान्तसँग यसको सीमाना जोडिएको छ ।
यो जिल्लाको भूभागलाई चुरे पर्वत अन्तरगतको दाउन्ने डाँडाले करीब बीच भागबाट विभाजित गरी दुई खण्डमा बाँडेको छ ।
दाउन्ने देखि पूर्व नारायणीसम्मको भागलाई नवलपूर र पश्चिम सुनवलसम्मको तराईको भूभागलाई परासी भनेर अहिले दुई जिल्ला कायम गरिएको छ ।
दुई जिल्लामा विभाजित भएपनि यी जिल्ला पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला हुन् । चितवन राष्ट्रिय निकुञ्जको केही भाग र बौद्धस्थल रामग्राम यही जिल्लामा पर्छन् । उत्तरी भेगमा पर्ने देउराली क्षेत्र लोपोन्मुख जनावर घोरलका लागि प्रसिद्ध छ भने बाघ, भालुलगायतका अरु जंगली जीवजन्तुका लागि मध्यवर्ती क्षेत्र र निकुञ्जको क्षेत्र यही जिल्लामा पर्छ ।
प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु
रामग्राम स्तुपा
रामग्राम स्तुपा जिल्लाकै प्रमुख पर्यटकीय स्थल हो । ईशापूर्व छैठौं शताब्दीमा यो क्षेत्र कोलीय गणराज्यअन्तरगत पर्दथ्यो । कोलिय गणराज्यका दुईवटा जनपद देवदह र रामग्राम थिए ।
यही रामग्राममा बुद्धले ८० वर्षको उमेर कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेपछि बुद्धको अस्तुधातु ल्याएर राखिएको छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि रामग्रामका कोलीयहरुले कुशीनगर पुगेर आफुहरु बुद्धको वंशका रहेको र बुद्धको अवशेष पाउनुपर्ने दाबी पेश गरेपछि अस्तु धातुको ८ भाग लगाइएको थियो । त्यो ८ भागमध्येको एक भाग रामग्राममा रहेको छ । २०३८ साललमा पूरातत्व विभागले ९ मिटर उचाई र २९ मिटर व्यास भएको स्तुपालाई तारबारमार्फत संरक्षण गरेको थियो ।
विभिन्न समयमा पूरातत्व विभाग र युनेस्कोबाट गरिएका उत्खनन्का क्रममा मौर्यकालदेखिका इटाका खण्डहर, कुषाणकालीन तामाका मुद्रा, खैरो रंगका माटाका भाँडाहरु, बालाका टुक्राहरु, मुर्ति, बहुमूल्य पत्थरजस्ता वस्तु फेला परेका थिए ।
त्रिवेणी धाम
त्रिवेणीधाम हिन्दुहरुको धार्मिक स्थल हो । बर्दघाटबाट साढे २५ किलोमिटर दक्षिणपूर्वमा रहेको यो धाम सोना, तमसा, सप्तगण्डकी नदीहरुको समिश्रण हो, जुन भारतको प्रयाग जत्तिकै श्रद्धा र आस्थाको केन्द्रको रुपमा मानिन्छ ।
त्रिवेणी नदी भन्दा पारिपट्टी वाल्मिकी आश्रम रहेको छ । जहाँ वाल्मिकी ऋषिको मूर्ति, सीता, लवकुस, गणेशका मुर्तिहरु छन् ।
सीता पाताल प्रवेश गरेको स्थल, सीताले फलफुल खाएको, अमृत कुवा, वाल्मिकी ऋषिको हवनकुण्ड, लवकुशले घोडा बाँधेको ढुंगाको खम्बा, लवकुशलाई शिक्षा दिएको स्थल लगायत पौराणिक मान्यताअनुसारका धेरै स्थानहरु छन् ।
यहाँ माघे औंशीमा स्नान गर्न नेपाल र भारतबाट लाखौंको संख्यामा तीर्थयात्रीहरु आउँछन् । त्रिवेणीमा स्थान गर्नाले मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास छ ।
पाल्ही भगवती मन्दिर
पाल्ही भगवती मन्दिर परासीबाट करीब ९ किलोमिटर दक्षिण परासी–महेशपुर सडकमा पर्छ । नेपाल एकीकरण गर्नुपूर्व पाल्पाका सेनवंशी राजाहरुको अधिनमा रहेको यो क्षेत्र सेनवंशी राजाहरुको दरबार रहेको र दरबारभित्र पूजिने इष्टदेवीको रुपमा पिण्डको रुपमा रहेको छ । यहाँ हरेक वर्ष बडादशैं र चैतेदशैंको अष्टमीमा देश र जनताको कल्याणको कामना गरी पञ्चवली दिने प्रचलन छ ।
दाउन्ने देवी मन्दिर
परासीदेखि पूर्वोत्तर तर्फ १ हजार २३ मिटर उचाईमा दुम्कीबास र बर्दघाटको बीचमा रहेको पहाडमा यो मन्दिर रहेको छ । दाउन्ने देवीको तीनतले मन्दिर दाउन्ने पहाडको काखमा छ । बाईसे चौबीसे राज्य हुँदा पाल्पा राज्यमा पर्दथ्यो । पाल्पाका तत्कालीन राजा मणिमुकुन्दसेनका दुईवटी रानीमध्ये कान्छी रानी लामोसमयसम्म बिरामी परेको र धेरै समयसम्म निको नभएपछि सपनामा देवीको स्थापना गरी पूजा गरेको देखेकाले यहाँ मन्दिरको स्थापना गरेको मानिन्छ ।
१८८० सालमा यहाँ मन्दिर र देवीको प्रतिस्थापन गरिएको थियो । पछि राणा प्रधानमन्त्री जंगबहादुरले मन्दिरमा मुर्ति प्रतिस्थापन गर्न लगाएको मानिन्छ ।
पहिले वनदेवी भनिएपनि पछि दाउन्ने देवी भन्न थालिएको हो । सडक निर्माण गर्दै गर्दा दामन्ने डाँडा भन्दाभन्दै अपभ्रंश भएर दाउन्ने नाम रहन गएको र दाउन्नेदेवीको नामले प्रख्यात भएको मानिन्छ । यहाँ नैनित्य पूजामा शनिबार, पञ्चमी, सप्तमी, अष्टमी र पूर्णिमाका दिन बली दिइन्छ । चैतेदशैं र बडादशैंमा यहाँ मेला लाग्छ ।
मौलाकालिका मन्दिर
करीब २ सय वर्ष अघि पाल्पाली राजा मुकुन्द सेनको राज्यभित्र पर्ने र अलिक उच्च स्थान भएकाले त्यहाँ एक सैनिक टुकुडी राज्य रक्षाका लागि रहेको र तिनै सैनिकहरुले मौलाकालिक मन्दिरको स्थापना गरेको मानिन्छ ।
२०३२ सालमा अहिलेको मन्दिर निर्माण भएपश्चात् मौलाकालिका मन्दिरले प्रसिद्धि पाउन थालेको छ । तीन तले प्यागोडा शैलीको मन्दिरमा पुग्न उकालो पहाड चढ्नुपर्छ ।
देवघाटधाम
देवघाटधाम कालीगण्डकी र त्रिशुलीको संगमस्थल हो देवघाटधाम । यो धाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले भरिपूर्ण छ । यसको केही भाग नवलपरासी र चितवनमा पर्छ ।
अध्यात्म र शान्ति उन्नयनका लागि महत्वपूर्ण मानिने यो धामको बखान हिमवत्सखण्ड नेपाल महात्म्यमा समेत गरिएको छ । जसअनुसार यो धाममा देवताका पनि देवता मानिने महादेव शंकर आफ्ना गणहरुका साथमा संगै बस्नुहुन्थ्यो । यहाँ गलेश्वर आश्रम, चक्रेश्वरशीला, सीता गुफा, वशिष्ठ गुफा, हरिहर मन्दिर, महेश सन्यास आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धिगणेश, गोपीधाम, सूर्यकण्ड जस्ता पवित्रस्थल छन् ।
देवचुली
महाभारत पर्वत श्रृंखलाको सबैभन्दा उच्च चुली हो देवचुली । यसको उचाइँ १ हजार ९ सय ३६ मिटर रहेको छ । यहाँबाट उत्तरतर्फ हिमाली दृश्य र तराईको समथर भूभाग देख्न सकिन्छ ।
यो चुलीको करीब १ हजार ८ सय मिटरको उचाइँमा ३० मिटर लामो प्राकृतिक गुफा रहेको छ र जसमा प्रवेश गर्नका लागि ११ फिट लामो भ¥याङको मदत लिनुपर्छ । यस गुफामा द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय गुप्तवास बसेको किंवदन्ती छ ।
यहाँ प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमामा तीनकन्यामाईको नाममा पूजा गरिन्छ । तीन कन्यामाईको भक्तिभावपूर्वक पूजाआजा गर्नाले सुख सम्पत्ति प्राप्त हुने विश्वास छ ।
शाश्वत धाम
व्यापारिक घराना चौधरी ग्रुपले दुम्कौलीस्थित सीजी औद्योगिक पार्कभित्र निर्माण गरेको शाश्वत धाम पनि पर्यटकीय स्थलको रुपमा परिचित हुँदै गएको छ । नारायणघाटबाट ३० मिनेटमै सवारी साधनमा पुगिने धाम पूर्वपश्चिम राजमार्गको छेउमा छ ।
सात बिगाहामा फैलिएको धाममा खजुराहो शैलीमा इकाम्बरेश्वरा शिव मन्दिर, गुरुकुल, सात्विक रेष्टुरेन्ट, गौशाला, दशरथद्वारलगायतका स्थलहरु छन् ।