लुम्बिनी–‘लुम्बिनी विश्व शान्ति शहर’को गुरुयोजना कार्यान्वयनमा सरकारले चासो देखाएको छ। यससँगै रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लामा रहेका बौद्ध सम्पदाहरुको संरक्षण गर्दै स्थानीय जनतालाई पर्यटनसँग जोड्न बृहत्तर लुम्बिनी विकास योजना निर्माण र कार्यान्वयनमा समेत सरकार सक्रिय बनेको हो। विषय विज्ञ र स्थानीय बासिन्दा सँग ब्यापक छलफल गरेर कार्यान्वयनमा लैजाने तयारी गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले बताए।
संघ, प्रदेश र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीय सरकारहरु मिलेर केही वर्षभित्रै लुम्बिनी क्षेत्रलाई संसारकै नमुना पर्यटकीय गन्तव्य बनाउने योजना सरकारको छ। त्यसका लागि २०७२ सालमा कोरियन प्रोफेसर क्वाकले तयार पारेको लुम्बिनी शान्ति शहरको गुरुयोजना कार्यान्वयन गर्नुपर्ने ठहर समेत गरिएको छ।
त्यो वाहेक तीन जिल्लाका पर्यटकीय क्षेत्रहरुको गुरुयोजना निर्माण र विस्तृत पर्यटन प्रबर्द्धन योजनाको कार्यान्वयनमा समेत सरकार सक्रिय बनेको हो। संघीय सरकारले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा बृहत्तर लुम्बिनी क्षेत्र विकास योजना र लुम्बिनी शान्ति शहरको निर्माणका लागि विशेष चासो देखाएपछि लुम्बिनी विकास कोषले यसको कार्यान्वयनका लागि विभिन्न चरणमा छलफल अघि बढाएको कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए।
के हो लुम्बिनी शान्ति शहर ?
लुम्बिनीलाई संसारकै शान्त, सुन्दर र ब्यवस्थित शहरको रुपमा विकास गर्न सरकारले कोरियन सहयोग नियोग (कोइका¬) मार्फत प्रोफेसर क्वाकलाई लुम्बिनी शान्ति शहरको गुरुयोजना बनाउने जिम्मा दिएको थियो। प्रोफेसर क्वाकले गुरुयोजनाका सम्पूर्ण काम पुरा गरेर ३ वर्ष अघि नेपाल सरकारलाई बुझाएका थिए।
सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना बाहिर २४ वर्गमाइलको क्षेत्रफलमा पर्ने गरी कोरियन प्रोफेसर क्वाकले शान्ति शहरको गुरुयोजना कोरेका हुन्। उनको गुरुयोजनाले लुम्बिनीको पाँच वर्गमाइल क्षेत्रमा शान्ति शहर बनाउने र बाँकी १९ वर्गमाइल क्षेत्रलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य राखेको छ।
गुरुयोजनाले लुम्बिनीमा २ लाख पर्यटक अटाउन सक्ने गरि प्रत्येक घरमा होम स्टेको अवधारणा अघि सारेको छ। उनको गुरुयोजनाले यसको कार्यान्वयनमा लाग्ने खर्चको अनुमान समेत तयार गरेको छ। उनले ३ अर्व अमेरिकी डलरमा यो शान्ति शहर सम्पन्न गर्न सकिने अनुमान गरेका छन्।
केन्जो टाङ्गेले तयार गरेको हालको गुरुयोजनालाई कुनै असर नपर्ने गरि बन्न लागेको गुरुयोजनाले स्थानीय वस्ती, जंगल, स्कुल, मठ, मन्दिर, मस्जिद तथा सडकहरुलाई जस्ताको तस्तै राखेर शान्ति शहरको रुपमा विकास गर्ने लक्ष्य छ।
क्वाकले गुरुयोजना कार्यान्वयनमा समस्या पर्ने भन्दै लुम्बिनी क्षेत्रमा अग्ला घर निर्माण नगर्न, उद्योग कलकारखानाहरुलाई ब्यवस्थित गर्न, ठूला तारे होटलहरु बनाउने अनुमति नदिन सरकारसँग आग्रह गरिसकेपनि त्यसको कार्यान्वयन भएको छैन।
कमलको फुलको आकारमा तयार भएको क्वाकको गुरुयोजनाले २४ वर्गमाइल क्षेत्रफललाई चार भागमा बा“डेको छ। हालको पवित्र जोनलाई बुद्ध जोन, हालको गुरुयोजना क्षेत्रलाई धर्म जोन, त्यसबाहिर पाँच वर्गमाइल क्षेत्रलाई संघ जोन र बाँकी १९ वर्गमाइल क्षेत्रलाई उपासाका जोनको रुपमा परिभाषित गरिएको छ। संघ जोनलाई कमलको फूलको पत्र जस्ता ८ वटा पत्रमा बाँडिएको छ।
ती आठवटै पत्रमा बनेका शहरहरुमा माछा, मासु, मदिरा तथा पेट्रोलियम सवारीहरु निषेध गर्ने योजना छ। शहर बाहिर उपासाका जोनमा कृषि उत्पादनका लागि ब्यवसायीक फारमहरु सञ्चालन गरेर कृषि पर्यटनको अवधारणा समेत अघि सारिएको छ।
शान्ति शहरमा एउटै आकारका घर, फराकिला सडक, १० मिनेटभित्र पुग्न सकिने स्कुल तथा स्वास्थ्य चौकीहरु, सौर्य ऊर्जा, पानी, विद्युत लगायतका सवै सुविधा सहित शहरलाई प्रदूषण रहित बनाउने उपायहरु उल्लेख गरिएको छ।
‘गरिवी सँगै शान्ति नआउने’ भन्दै क्वाकले आफ्नो गुरुयोजना कार्यान्वयन भए लुम्बिनीका प्रत्येक व्यक्तिले दैनिक ३० डलर आम्दानी गर्न सक्ने दाबी समेत गरेका छन्।
‘आकाशबाट हेर्दा यो शहर कमलको फूलको आकारमा देखिनेछ, जसलाई पूर्ण रुपमा प्राकृतिक, जैविक र आधुनिक शहरको रुपमा विकास गरिने छ’–लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराइको भनाई छ। वनजंगल र जीवजनावरको संरक्षण देखि, बुद्धकालीन रुख लगाउने, हुर्काउने र शान्ति शहरभित्र रहने स्थानीय बासिन्दाको क्षमता अभिवृद्धिका कार्यक्रम समेत गुरुयोजनाभित्र समावेश गरिएका छन्।
सन् १९९९ देखि २००० को डिसेम्बर सम्म लुम्बिनीको अध्ययन गरेका क्वाकले तत्कालीन समयमै लुम्बिनीमा शान्ति शहरको अवधारणा सहित सुझाव दिएका थिए। उनले लुम्बिनीमा शान्ति शहर बनाउन आफ्ना निकै नजिकका मित्र संयुक्त राष्ट्रसंघका महासचिव वान मुन समक्ष प्रस्ताव राखेका थिए।
मुनले पनि लुम्बिनीको विकासमा चासो देखाएपछि क्वाकले कोरियन प्रोजेक्ट कोइका मार्फत शान्ति शहरको गुरुयोजना कोर्न थालेका थिए।
क्वाकले तयार गरेको शान्ति शहरको गुरुयोजनाप्रति लुम्बिनीका स्थानीय बासिन्दा शुरुमा खुसी देखिएपनि एक समुहले जग्गा अधिग्रहण गरेर लुम्बिनी खाली गर्न खोजिएको हल्ला चलाएपछि स्थानीय अहिले त्रसित छन्। यद्यपि क्वाकले हाल भएका सबै संरचना जस्ताको तस्तै राखेर जग्गा अधिग्रहण विना कमलको फुलको आकारको गुरुयोजना तयार पारेको विश्वास दिलाएकाले त्रसित नहुन कोषले आग्रह गरेको छ। जग्गा अधिग्रहण नगरेर ल्याण्ड पुलिङमार्फत यो आयोजना सम्पन्न गर्न सकिने भएकाले कुनै शंका नगर्न कोषका उपाध्यक्ष अवधेस कुमार त्रिपाठीले आग्रह गरे।
के हो ल्याण्ड पुलिङ् ?
संसारका ठूला ठूला शहरहरुलाई ल्याल्ड पुलिङ विधिबाट ब्यवस्थित गरिएको छ। यो विधिले स्थानीयका नमिलेका र अब्यवस्थित जग्गा मिलाएर ब्यवस्थित गर्ने काम गर्छ। सबैभन्दा पहिला परियोजना सञ्चालन हुने क्षेत्रमा पर्ने सवै जग्गाका लालपूर्जाहरु जम्मा गरेर नापी मार्फत एउटै विशाल प्लटमा परिणत गरिन्छ।
त्यसपछि गुरुयोजना अनुसार सार्वजनिक भवन, पोखरी, मन्दिर, मस्जिद, गुम्वा, ध्यान शिविर, सडक, स्कुल, अस्पतालहरुलाई आवश्यक पर्ने जग्गा छुट्याएर बाँकी रहेको जग्गा एउटै प्रकृतिको साइजमा काटेर स्थानीयलाई फिर्ता गरिन्छ। यसरी फिर्ता गर्दा सार्वजनिक सम्पत्तिले काटेको जग्गा घटाएर लालपुर्जामा रहेको जग्गाको अनुपातलाई समेत मिलाएर फिर्ता गर्ने प्रचलन छ।
यस्तो गर्दा कतिपय थोरै जग्गा भएका परिवार वा गुरुयोजना अनुसार सार्वजनिक सम्पत्ति पर्न आएका ब्यक्तिका जग्गाहरुलाई मुआब्जा दिएर वा सट्टापट्टा गरेर ब्यवस्थापन गरिन्छ। जसले गर्दा नमिलेका लामा, छोटा, चोके वा चुच्चे जग्गाहरु रुमाल जस्तो आकारमा परिणत हुन्छन्। सडक, खानेपानी, विद्युत लगायतका सवै पूर्वाधार बनाउन यथेष्ट ठाउँ पुग्छ। यो विधिबाट जग्गा व्यवस्थापन गर्दा किसानले पहिलेकै क्षेत्रफलको जग्गा प्राप्त नगरेपनि सवै जग्गा गुमाउँदैनन्। जग्गा अधिग्रहणमा जस्तो सबै जग्गा छाडेर विस्थापित हुनु पर्दैन।