बुटवल– वुटवलको जितगढी किल्ला जहाँ अंग्रेजसँगको युद्धमा नेपालले जित हासिल गरेको ऐतिहासिक स्थल हो । वि.सं.१८७२ वैशाख ७ गते आजकै दिन नेपालले अंग्रेजलाई पराजित गरेको थियो । बुटवल उप–महानगरपालिका–१ मा रहेको यो गढीमा तत्कालिन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित को अंग्रेज फौजलाई परास्त गरेको थियो ।
त्यतिबेला अंग्रेज (इष्ट इण्डिया कम्पनी) सरकारको विस्तार विश्वका धेरै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए। सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो।
जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफै पराजित हुनुपरेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसंग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको बताइन्छ ।
विजय उत्सव दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले मंगलवार सम्पदा स्थलमा संक्षिप्त कार्यक्रमको आयोजना गरेको छ । कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्दै वीर सहीदहरुको सम्झना र सम्मानमा श्रद्धाञ्जली अर्पण गरेर कार्यक्रम गरिएको थियो । कोभिड–१९ को महामारीका कारण अघिल्लो वर्ष जस्तै यो पटक पनि जितगढीमा सार्वजनिक समारोहको आयोजना नगरिएको संक्षिप्त कार्यक्रम मात्र गरेको उपमहानगरले जनाएको छ ।
कार्यक्रममा उपप्रमुख गुमादेवी आचार्य, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, नेपाली सेनाका रामचन्द्र शर्मालगायतले कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
जितगढीको संरक्षण गर्दै पर्यटनको केन्द्र बनाउने गुरुयोजना
किल्लालाई संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका छन्। जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरि बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरेको छ।
जितगढीमा तत्कालिन अवस्थाको झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका हरु १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । साथै त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ।
जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली विरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरि गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ।
जितगढीमा अहिले अहिले गुरुयोजना अनुरुपका काम भइरहेको उपमहानगरले जनाएको छ। जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमश हटाइने तयारी छ।