बुटवल - बुद्ध जन्मस्थल लुम्बिनी नेपालको एउटा महत्वपूर्ण पर्यटकीय स्थल हो । सामान्य समयमा लुम्बिनीमा राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकहरुको बाक्लो चहलपहल हुने गर्दछ । तर कोरोना महामारीका कारण डेढ वर्ष यता भने लुम्बिनी धेरै जसो सुनसान छ । लुम्बिनीमा गुरुयोजना अन्तर्गत थुप्रै पूर्वाधारहरु बनेका छन् ।
लुम्बिनी बाहेक अन्य ठाउँमा पनि बुद्धसँग सम्बन्धित ठाउँहरु छन्। नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह र कपिलबस्तुको तिलौराकोटमा अझै पनि त्यहाँ पूर्वाधार बन्ने र पर्यटक आकर्षित गर्ने काम हुन सकेको छैन । यी ठाउँको पर्यटकिय विकासको लागि सुस्त गतिमै काम भइरहेको छ । केही ठाउँमा बल्ल गुरुयोजनाको काम भएको छ । कुनै बुद्धस्थल अझै ओझेलमै छ ।
रामग्रामको गुरुयोजना तयार
नवलपरासीको परासीबाट ४ किलोमिटर दक्षिणमा रहेको रामग्राम स्तुप बुद्धको अस्तु धातु भएको पुरातात्वीक स्थल हो । रामग्राम नगरपालिका ७ मा रहेको स्तुपको विकासको लागि गुरुयोजना तयार गरेर स्वीकृती र जग्गा प्राप्तीको लागि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पठाइएको लुम्बिनी विकास कोषले जनाएको छ ।
गुरुयोजना अनुसार रामग्राम क्षेत्रको जग्गा चार सय विघा हुने कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । ‘कुल चार सय विघा जग्गा हुने गरि गुरुयोजना टुंग्याइएको छ । जस अनुसार यसको क्षेत्र डेढ डेढ किलोमिटर लम्बाइ र चौडाइको क्षेत्र हुने छ ।’ उनले भने ‘जग्गा प्राप्ती भयो भने लुम्बिनीकै मोडलमा विदेशी संस्थाले गरेर मन्दिर, गुम्बाहरु बनाउन सक्छन्।’ गुरुयोजनामा १८ देखी २० वटा मन्दिर तथा विहार, लाइबे्ररी, संग्रालय, प्रशासकिय भवन, बुद्धसँग सम्बन्धीत थिम पार्क, अरु पार्क तथा बगैँचा, पोखरी लगायत रहने छन्।
रामग्राममा केही पूर्वाधार नगरपालिका आफैले पनि गरेको छ । यहाँ पर्यटकहरुलाई आकर्षित गर्न सरकारले थप लगानी गर्नुपर्ने रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘सरकारले अहिले सम्म खासै लगानी नै गरेको छैन। लगानी बढाउन जरुरी छ ।' उनले भने ‘त्यो ठाउँमा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण तथा नगर क्षेत्रको विकास पनि जरुरी छ।’
तिलौराटलाई विश्व सम्पदाको सूचीमा राख्न पहल
कपिलबस्तुको तिलौराकोट गौतमबुद्धले २९ वर्ष विताएको ठाउँ हो । यो गौतमबुद्धका पिता अर्थात शाक्यवंसी राजा शुद्धोधनको दरबारको भगनावशेष रहेको हो । तिलोराकोटलाई विश्व सम्पदाको सूचीमा राख्न पहल भइरहेको छ ।
त्यसको लागि कागजातहरु बनाउन थालेको लुम्बिनी विकास कोषका योजनाप्रमुख सरोज भट्राईले बताए। ‘तिलौराकोटलाई कम्तिमा विश्वसम्पदा सूचिमा सुचीकृत गरौं भनेर हामीले डकुमेन्ट बनाउन सुरु गरेका छौं।’ उनले भने ‘राज्यले चाहेर मात्र नहुने युनेष्कोको गाइडलाईन भित्र सबै कुरा पर्न पर्दो रहेछ।’ बफर जोन के छ । जग्गा प्राप्ती कस्तो छ । साइट मेनेजमेन्ट कस्तो भनेर युनेष्कोले अध्ययन गर्ने भट्राईले बताए । उनले तिलौराकोटलाई विश्व सम्पदा सुचीमा राख्ने पहलस्वरुप युनेष्को बाट सकारात्मक संकेत आएको बताए ।
तिलौराकोटमा पनि गुरुयोजनाको काम टुंगीएको छैन । तिलौराकोट बाहेक कपिलबस्तुमा कुदान, गोटीहवा, निग्लीहवा लगायत अन्य बुद्धस्थलहरु पनि छन् । यसको गुरुयोजनाको मस्यौदा बनाइएको र अन्तिम रुप दिन बाँकी रहेको योजना प्रमुख भट्राईले बताए । ‘अहिले तिलौराकोट लगायतका बुद्धस्थलहरुको जग्गा ४०–५० विघा जति छ । ति क्षेत्रहरु २ सय विघा जतिको गुरुयोजना बनाउने तरखरमा छौं’ उनले भने ।
तिलौराकोटको जग्गा पुरातत्व विभागको नाममा छ । त्यसैले जग्गा प्राप्ती लगायतका प्रक्रिया पुरातत्व विभागले गर्नुपर्ने हुन्छ । यद्यपी कोषको पहिलो पहल विश्व सम्पदा सुचीमै पार्नको लागि प्राथमिकता दिइएको छ ।
तिलौराकोट भएको क्षेत्र कपिलबस्तु क्षेत्र नम्बर २ (२) का प्रदेश सभा सदस्य तथा लुम्बिनीका शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मवहादुर लाल श्रीवास्तवले लुम्बिनी जत्तीकै महत्वको ठाउँ भएर पनि तिलौराकोटको विकास हुन नसकेको बताए । ‘मायादेवी माइत जाँदा बाटोमा बुद्ध जन्मेको ठाउँ हो लुम्बिनी । वास्तवमा उनको क्रिडास्थल र २९ वर्ष विताएको दरबार त तिलौराकोट हो नि ।’ उनले भने ‘लुम्बिनीमा जसरी विकास भएको छ । त्यही आधारमा कपिलबस्तुमा विकास हुनुपर्दथ्यो । दसौं वर्षदेखी गुरुयोजना र विकासको कुरा सुनेको हो । तर केही भएको छैन ।’ मन्त्री श्रीवास्तवले कपिलबस्तुमा दर्जनौ बुद्धस्थल रहेकाले ति ठाउँको पनि उचित विकास हुनुपर्ने बताए ।
अझै ओझेलमा देवदह
रुपन्देहीको पूवी भेगमा पर्ने देवदह क्षेत्रलाई बुद्धको मावलीको रुपमा लिइएको छ । तर अन्य बुद्धस्थल भन्दा यो ओझेलमा छ । लुम्बिनी विकास कोष र देवदह नगरपालिकाको पहलमा देवदह क्षेत्रमा एउटा भवन बनेको छ। त्यसबाहेक पर्यटकिय विकासका खास केही काम हुन सकेको छैन।
बुद्धको मावली अर्थात कोलीयवंशको दरवार कुन हो भनेर अझै टुंगो लागेको छैन । ‘त्यहाँ ६–७ वटा साइटहरु छन्। पण्डीतपुर, खयरडाँडा, बैरिमाइ कन्यामाइ लगायत ठाउँमा जता त्यतै महत्वपूर्ण ठाउँ जस्तो लाग्छ ।’ उनले भने ‘तर त्यसको अझै अध्ययन पुगेको छैन । बुद्धको मावली यही हो भन्नलाई केही समय लाग्ला ।’ अन्य बुद्धस्थलको तुलनामा राजमार्गबाट नजिक र सुगम ठाउँमा भएपनि एतिहासिकता र प्रमाणीकरणको हिसावले देवदह पछि परेको छ ।’
देवदह क्षेत्रका प्रदेश सभा सदस्य तथा बौद्ध दर्शनका अध्येता डा. कृष्ण न्यौपानेले देवदह क्षेत्रको एतिहासिकतालाई उजागर गर्न राज्यले नै चासो नदिएको बताए। गौतम बुद्धको माओवादी देवदह नै हो भन्नेमा कुनै दुविधा छैन। रोहिणी नदिको किनारमा देवदह हो भन्ने कुरा बौद्ध ग्रन्थ र इतिहासमा उल्लेख छ’-उनले भने-‘देवदहमा १५ सय वर्ष सम्मको एतिहासिक प्रमाण फेला परेको छ । राज्यको ध्यान नपुगेकाले थप पहिचान र प्रमाणिकरणमा ध्यान पुगेको छैन ।’ देवदहको बुद्धको मावलीको ठाउँको प्रमाणित हुँदा यहाँको ऐतिहासिक महत्व निकै हुने न्यौपानेले बताए ।
लुम्बिनी सहित तिलौराकोट, देवदह, रामग्राम लगायतका क्षेत्रलाई समेटेर ग्रेटर लुम्बिनीको योजना पनि बनाइएको छ । भैरहवामा अन्तराष्ट्रिय विमानस्थल तयार भएपछि र कोभिडको अवस्था सहज भएपछि लुम्बिनीमा पर्यटकको आगमन बृद्धि हुने आशा गरिएको छ। बुद्धजन्मस्थल बाहेक अन्य बुद्धस्थल र पर्यटकिय स्थलहरुको पनि विकासमा तिब्रता दिन सकेमा लुम्बिनी आएका पर्यटकहरुलाई भुलाउन सकिन्छ।