बुटवल । रुपन्देहीको सैनामैनास्थित पर्रोहा बोलबम धामको गुरुयोजना बनेको छ । लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय स्थल बनाउने लक्ष्यसहित बनाइएको गुरुयोजनाको पूर्वाधार निर्माण १४ करोड भन्दा धेरै लागत लाग्ने जनाइएको छ ।
हिन्दू धर्मावलम्बीहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना बनाएर काम थालिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार संघीय सरकारको सशर्त अनुदानमा ३० प्रतिशत लागत नगरपालिका आफैंले बेहोर्ने छ ।
मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तमा पूरा हुने उनको भनाई छ । त्यसका लागि ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । त्यसलगजत्तै दोस्रो चरणमा ८ करोड बढीको पूर्वाधारहरु बनाइने छ ।
प्यागोडा शैलीमा बनाइने मूल मन्दिरको छानो तामाको हुनेछ भने चारवटा ढोका हुनेछन् । नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मूल मन्दिरमा चारै कुनामा दुईतल्ले प्यागोडा शैलीका पाञ्चायन मन्दिर, काठका टुँडाल, मूल घण्ट, त्रिशूल, डमरु र साढे ५ फिटको गजुर रहने छ ।
धामका अध्यक्ष रामबली चौधरीका अनुसार गुरुयोजना अनुसारको मन्दिर निर्माण भएमा बोलबम धाम राष्ट्रिय स्तरकै प्रमुख धामको रुपमा विकास हुने छ । पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिंदै आएको छ । हरेक साउनमा शिवको पुजा गर्न यहाँ भिड लाग्ने गर्छ ।
तस्वीर सोजन्य: सैनामैना नगरपालिका