भारतको मध्य प्रदेशमा ६ बालिकालाई निर्वस्त्र पारेर सडकमा परेड गराइएको छ । लामो समयसम्म पानी नपरेपछि वर्षाका देवतालाई खुसी पार्न भन्दै स्थानीयले बालिकालाई निर्वस्त्र परेड गराएका हुन् ।
खडेरीबाट अति प्रभावित बुन्देलखाँड जिल्लाको एउटा गाँउमा पछिल्लो घटना सार्वजनिक भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा निर्वस्त्र बालिकाहरुले
काँधमा बोकेको एउटा पाइपमा भ्यागुतो बाँधिएको देखिन्छ । यस परम्पराले वर्षाका देवता खुसी भएर पानी पर्ने स्थानीयको विश्वास छ ।
बालिकाको पछाडि महिलाहरुको एउटा समूहले गीत गाएर हिडेको भिडियोमा देखिन्छ । लस्करमा हिँडेका बालिकाले गाउँका प्रत्येक घरमा पुगेर खाद्यान्नसमेत बटुलेका थिए । सो खाद्यान्नलाई एउटा स्थानीय मन्दिरलाई प्रदान गरिएको थियो । ‘यति गरे पछि अब पानी पर्छ,’ लाइनमा उभिएकी एक महिलाको भनाइ उदृत गर्दै प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।
भारतको बाल अधिकार संरक्षणसम्बन्धी राष्ट्रिय आयोगले सो घटनाप्रति चासो देखाएको छ ।
सो घटनाबारे कुनै औपचारिक उजुरी नपरेको मध्य प्रदेश प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको र किशोरीलाई निर्वस्त्र हिँड्न बाध्य पारेको पाइएमा दोषीमाथि कडा कारबाही गरिने एक प्रहरी अधिकारीले बताएका छन् ।