अमेरिकी राष्ट्रपति पदका डेमोक्रेट उम्मेदवार जो बाइडन अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै जीतको घोषणा गर्ने अवस्थामा पुगेका छन्।
त्यही पराजयको सम्मुख उभिएका वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प भने कानूनी संघर्षमा जाने भएका छन्।
प्रतिष्पर्धी बाइडनले जीतको आंकलन गर्दै संक्रमणकालीन कार्यालयसमेत राख्न लागेपछि ट्रम्पले विजयको दावी नगर्न भन्दै त्यसको साटो अदालतमा मुद्दा झेल्न तयार हुन सचेत गराएका छन्।
बाइडन भने अघिल्लो निर्वाचनमा ट्रम्पले जितेका एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिर्न सम्पूर्ण तयारी तर्फ लागेका छन् ।
आफ्नो पार्टी रिपब्लिकनका नेताहरुले संकटको यस घडीमा आफूलाई समर्थन नगरेकामा पनि ट्रम्प निकै आक्रोशित देखिएका छन् । ट्रम्पका छोराहरुसमेत पार्टी नेताहरुतर्फ निशाना सोझ्याइरहेका छन् ।
राष्ट्रपति कार्यालय छिर्न महत्वपूर्ण मानिएको पेन्सिलभानियामा बाइडनले बिहीबारदेखि ट्रम्पमाथिको अग्रता बढाउँदै लगेका छन् । ९८ प्रतिशत मत गणना गर्दा बाइडनले करिब २० हजार मतले ट्रम्पलाई उछिने ।
पेन्सिलभानियामा पनि बाइडन अगाडी लागेकाले अब ट्रम्पको जीतको आशा सकिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले यो राज्यमा पनि बाइडेनले जित्नसक्ने अनुमान केही सञ्चारमाध्यमको छ ।
यसअघि रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता लिइरहेको जर्जियामा १ प्रतिशतभन्दा कम मत गन्न बाँकी रहँदा बाइडनले अग्रता लिएका छन् ।
मतगणना सकिन लाग्दा बाइडनले एक हजारभन्दा बढी संख्याले अग्रता लिएकाले जर्जियाको १६ इलेक्टोरल मत उनकै पोल्टामा जान सक्ने अनुमान अमेरिकी सञ्चारमाध्यमहरुले गरेका छन् ।
जर्जिया गुमाएसँगै ट्रम्पको जीतको सम्भावना सकिएको यसअघि नै सचारमाध्यमहरुको जनाएका थिए । गणना सकिन बाँकी रहेका र तीब्र प्रतिष्पर्धा रहेको भनिएका एरिजोना, नेभदामा पनि बाइडनले नै जित्ने दाबी फक्स न्यूजलगायत सञ्चारमाध्यमले गरेका छन् ।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २१४ इलेक्टोरल मत छ ।