अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गरेका छन्।
१३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै उनले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने पनि बताएका बीबीसीले जनाएको छ।
उनले कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् । यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गरेका छन् । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेका बीबीसीले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको पनि बताएका छन् । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो ।
अमेरिकामा अहिलेसम्म एक करोड ४२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । ६५ लाखभन्दा धेरै निको भएका छन् भने दुई लाख ४४ हजारभन्दा धेरैको ज्यान गएको छ ।