रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिनुुभएको छ । रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको पाँचौ स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताउनुभयो ।
“संविधानप्रति प्रतिद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन त्यसका लागि पहिले नागरिक देशको नागरिक बन्न पाउनुपर्छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गर्नुभयो । लाखौँ नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आउनु दुःखद भएको चर्चा गर्दै उहाँले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लंघन हुनु गलत भएको बताउनुभयो ।
“नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सृजना भएको छ । यस्तो कथा नेपालका लाखौँ नागरिकको छ यसको जिम्मेवार को हुने ?”उहाँले प्रश्न गर्नुभयो । मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको चर्चा गर्दै उहाँले सरकार र सरकारका नेतृत्वकर्ताको सही मूल्यांकन समेत गर्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयनमा गठबन्धन सरकारको भूमिका राम्रो हुन नसकेको टिप्पणी गर्दै उहाँले यही कारण संघीयता विरोधी प्रश्न उठाउने ठाउँ पाएको बताउनुभयो । आगामि दिनमा सरकारले यसलाई चिर्नसक्नुपर्ने उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिब चन्द्रप्रकाश खनालले राजनीतिलाई सहि दिशा दिने काम मिडियाको भएकाले त्यसमा राम्रो भूमिका खेल्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले क्लबले विमोचन गरेको स्मारिकको विषयमा बोल्दै सुशासन आफैमा राम्रो शब्द भए पनि विश्लेषकहरुले सुशासनको अवस्था राम्रो नभएको औँल्याएको बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष बालकृष्ण चापागाईँले सञ्चारमाध्यमले सरकार र सरकारको नेतृत्वमा रहेका व्यक्तिले गरेका कामको खोजमूलक समाचार लेख्न आग्रह गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले गणतन्त्र र संघीयतालाई अघि बढाउन क्लबले मिसन पत्रकारकारिता गरेको बताउँदै संविधान सभाबाट संविधान ल्याउन क्लबमा धेरै बहस गरेको बताउनुभयो । प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले सबैको साझा मञ्चको रुपमा क्लबलाई उभ्याउने कोशिस गरिहरहेको बताउनुभयो ।
कार्यक्रममा रुपन्देहीका पत्रकार रामप्रसाद आचार्य, रेखा भुसाल र दाङका पत्रकार विजय घिमिरे तथा पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्तिप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।