रुपन्देही । बुद्धजन्मभूमि लुम्बिनीसँग जोडिएको रुपन्देहीको क्षेत्र नं ५ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैको चासो विषय बनेको छ ।
यस क्षेत्रबाट उम्मेदवार बनेका सबै उम्मेदवारले लुम्बिनीको बृहत्तर विकास र बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तरर्राष्ट्रिय स्तरमा पहिचान गराउने मुख्य एजेन्डा बन्ने गरेका छन् ।
यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि सत्ता गठबन्धनबाट भरतकुमार शाह र नेकपा एमालेबाट बासुदेव घिमिरेबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका शाह यो पटक पनि जित दोहोर्याउने रणनीतिका साथ चुनावी मैदानमा खटिनुभएको छ ।
तिलोत्तमा नगरपालिकाको सफल नेतृत्व गरेर देशकै नमूना नगरपालिका बनाउन सफल भएकाले यसपटक नतिजा फेरिने विश्वास सहित घिमिरे चुनावी प्रचारप्रसारमा सक्रिय बन्नुभएको छ । तिलोत्तमा नगरपालिकाका पूर्व प्रमुख घिमिरेलाई भने एमालेले पहिलोपटक संघीय संसदको उम्मेदवार बनाएको हो ।
“यो क्षेत्रका लागि शाह परिचित अनुहार हो । तर, घिमिरेले पनि तिलोत्तमामा सफल नेतृत्व गरेर नाम कमाएका कारण कस्ले बाजी मार्छ भनेर आँकलन गर्न सक्ने अवस्था छैन । कडा प्रतिष्पर्धा हुन्छ”, स्थानीय समाजसेवी विष्णु बस्याल भन्नुहुन्छ ।
कांग्रेस नेता शाहले २०७४ को निर्वाचनमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका डिलाराम आचार्य र २०७० को निर्वाचनमा एमालेका स्वर्गीय नेता रामनाथ ढकाललाई पराजित गर्नुभएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेका स्वर्गीय नेता ढकालले शाहलाई पराजित गर्नुभएको थियो ।
त्यसअघि २०५६ सालमा पनि शाह निर्वाचित हुनुभएको थियो । यो क्षेत्रमा लगातार जित्दै आएका शाह यो पटक पनि जित दाहोर्याउने विश्वासमा हुनुहुन्छ । “मैले यो क्षेत्रमा सडक तथा भौतिक संरचनामा उल्लेखनीय बिकास गरेका कारण जित्दै आएको छुँ ।” शाह भन्नुहुन्छ ।
तीन पटक संघीय संसदमा निर्वाचित भइसकेका शाहलाई मुलुकमैं सफल जनप्रतिनिधिको छवि बनाएका घिमिरेले कडा चुनौती दिनुभएको छ ।
उम्मेदवार घिमिरेले विगतको अनुभवको आधारमा बुद्धभूमिसँग जोडेर समग्र क्षेत्र नं। ५ लाई नमूना बनाउने योजना सुनाउँदै मतदातासँग मत मागिरहनु भएको छ । “रुपन्देहीका अन्य क्षेत्रको तुलनामा यो ठाउँ पछाडि छ । यसको विकास र समृद्धिका लागि लुम्बिनीसँग जोडर केही योजना बनाएको छु, ती योजनाको कार्यान्वयनका लागि यो क्षेत्रमा नेतृत्व परिवर्तन आवश्यक छ ”, घिमिरे भन्नुहुन्छ ।
प्रदेश सभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट क्षेत्र नं ५ ९१० मा विनोद पहाडी र ५ ९२० मा फखरुद्धिन खान र एमालेका तर्फबाट ५ ९१० मा भूमिश्वर ढकाल र ५९२० मा रामचन्द्र यादव चुनावी मैदानमा उत्रिनुभएको छ ।
पडाडी संबिधान सभाका सदस्य भइसक्नुभएको छ । भने खान यसअघि ०७४ मा प्रदेश सभा सदस्यमा निर्वाचित हुुनुभएको थियो ।
एमालेका उम्मेदवार ढकाल पनि यसअघि प्रदेश सभा सदस्यमा निर्वाचित भइसक्नुभएको छ । यादवलाई भने एमालेले पहिलोपटक उम्मेदवार बनाएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवार भिष्म राना र सब्बिर खाँ पनि चुनावी मैदानमा हुनुहुन्छ ।
यो क्षेत्रमा गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाका ५, ६, ७, ८, ९, १० र ११, कञ्चन गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा नम्बर १ तथा ३ देखि ११ सम्म र मायादेवी गाउँपालिकाको वडा नं १ पर्दछ ।