काठमाडौँ । संघीय संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु भएको छ । कर प्रस्ताव बाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामा छलफल शुरु भएको हो ।
प्रतिनिधि सभाको वर्षे अधिवेशन अर्थात् बजेट अधिवेशन सुरु भएको पहिलो दिन हिजो नै अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नु भएको थियो ।
प्रि–बजेट माथिको छलफलमा भाग लिँदै पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि सरकार, संसद् र सम्बद्ध सबै पक्षले एक ठाउँमा उभिएर जनताको न्यूनतम आकाङ्क्षा पुरा गर्ने दिशामा अगाडी बढ्नु पर्ने बताउनु भयो ।
उहाँले आर्थिक समस्या समाधानका लागि पर्यटन प्रवद्र्धन सँगै पाँच वर्ष भित्र चिया, कफी, जडीबुटी, अलैँची, अदुवा लगायतका उत्पादनको निर्यात गर्ने गरी बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो ।
पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटको सिद्धान्त र प्राथमिकता निर्धारण गर्दा नेपाली अर्थतन्त्रको चुनौती र तथ्यलाई केलाएर लयमा फर्काउने गरी अगाडी बढ्न सक्नु पर्ने भन्दै अर्थतन्त्रको चुनौतीप्रति सरकार बेखवर देखिएको बताउनुभयो ।
राजस्व सङ्कलन त्रासदपूर्ण अवस्थामा पुगेको, लक्ष्यको तुलनामा ५० प्रतिशत कम राजस्व सङ्कलन भएको, पुँजीगत खर्च ३० प्रतिशतको हाराहारीमा मात्रै हुन सकेको, आर्थिक मन्दीको अवस्था छोप्न खोजीको नेकपा एमालेका नेता समेत रहनु भएका पूर्व अर्थमन्त्री पौडेलले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अर्थ प्रणालीको सुधारका लागि सबैले विशिष्ट रुपमा सोच्नु पर्ने कुरालाई चित्रका रुपमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिएको र सुधारका आधार समेत समेटिएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना वर्षहरुमा भन्दा फरक नहुने गरी कर्मकाण्डी रुपमा बजेटका सिद्धान्त तथा प्राथमिकता आएको बताउनु भयो ।
उहाँले लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसकेर असाधारण अवस्थामा पुगेको अर्थतन्त्र लयमा ल्याउन ठोस योजना सरकारले ल्याउन नसकेको भन्दै सुधारका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।
छलफलमा सांसदहरुले नयाँ बजेट बन्ने चरणमा रहेकाले, कृषिको विकास गर्ने, मल बिउको व्यवस्था गर्ने, मल फ्याक्ट्री नेपालमा नै खोल्ने, राष्ट्रिय गौरवका आयोजना अगाडी बढाउने र पर्यटन प्रवद्र्धन गर्ने गरी नयाँ र राम्रा योजना ल्याएर अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले अर्थतन्त्रमा मन्दीको असर देखिन थालिसकेको, लक्ष्य अनुसार खर्च नगर्ने, उद्योग, घर र व्यक्ति व्यक्ति र समाजमा आर्थिक मन्दी देखिएकाले यस तर्फ ध्यान दिएर बजेट बनाउँदा ध्यान दिनुपर्ने बताउनु भयो ।
सांसदहरुले खर्च कटौती गर्नु भन्दा खर्च गर्ने मुहान खोजी गर्नु पर्ने, पर्यटन पूर्वाधारको विकास गरेर पर्यटन प्रवद्र्धन गरेर आयआर्जन गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड समेत दिनुभयो ।
धवल शम्शेर जबरा, प्रदीप यादव, मेटमणि चौधरी, अब्दुल खाम्न, रामप्रकाश चौधरी, गङ्गाराम चौधरी, चित्रबहादुर केसी लगायतका सांसदहरुले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिनु भएको थियो ।