बुटवल- प्रतिनिधि सभा विघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा दुइ अलग अलग समुह भएर क्रियाशिल छन् । नेकपाको प्रचण्ड माधव समुह विघटनको विरोधमा आन्दोलनमा छ । उसले बुटवल सहित देशका विभिन्न ठाउँमा शक्ति प्रदर्शन र विरोधसभा गरेको छ । यता, नेकपाको केपी ओली पक्षले पनि आफ्नो पक्षमा समर्थन देखाउन सभा गरिरहेका छ । फागुन १ गते नेकपाकै ओली पक्षबाट अर्को सभा हुँदै छ । उक्त सभाका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक तथा प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीसँग सुदीप भण्डारीले गरेको कुराकानी
नेकपाको तर्फबाट बुटवलमा फागुन १ गते सभाको आयोजना हुँदै छ, तयारी के भइरहेको छ?
बुटवलमा आजसम्म भएको भन्दा ठूलो सभा गर्ने तयारी गरेका छौं। प्रदेशका १२ वटै जिल्लाबाट दुई लाख जनता जुटाउने गरी सभाको तयारी भएको छ । रुपन्देहीले १ लाख र अरु ११ जिल्लाबाट एक लाख जुटाउने गरी हामीले तयारी गरेका छौं । त्यसको लागि जनपरिचालन समिति प्रचार प्रसार समिति, आर्थिक परिचालन समिती, अतिथी सत्कार समिति, युवा परिचालन समिति, स्यमंसेवक परिचालन समितिहरु निर्माण गरेर पार्टी कमिटीहरुको बैठक बस्यौं । पार्टीको जिल्ला समिति र स्थानिय तहको बैठक बसेर जनताको बिचमा कार्यकर्ताका विचमा पुग्ने र बुटवलमा हामीले राखेको लक्ष्य अनुरुपको जनसमुदाय उपस्थीती हुने गरी हाम्रो पूर्ण रुपमा तयारी भएको छ । बुटवलको सिद्धेश्वर मैदानमा हुने सभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री तथा पार्टीका प्रदेश इन्चार्ज शंकर पोखरेल लगायत अरु नेताहरुले पनि सम्बोधन गर्नुहुने छ।
देश व्यापी रुपमा पार्टीको दुबै पक्षबाट यस प्रकारका कार्यक्रम हुँदै आएको छ । यस बाट के सन्देश दिन खोज्नुभएको हो ?
मुलुकमा अहिले जुन असहज परिस्थीति सिर्जना भएको छ । प्रतिनिधि सभा विघटनका कारण असहज परिस्थीति भएको हो भन्ने सन्देश दिन खोजिएको छ । त्यो वास्तवमा होइन । मुलुकमा असहज अवस्था सिर्जना गर्न खोजिएको कारणले, मुलुकलाई सहि गन्तव्य तर्फ जान रोक्न खोजिएकोे, निर्वाचित प्रधानमन्त्रीलाई आफ्ना लक्ष्य अनुरुपका काम गर्न नदिएको, हटाथ अलोकतान्त्रिक तरिकाले प्रधानमन्त्री र अध्यक्षलाई पदबाट हटाउन खोजिएको कारणले प्रतिनिधि सभा विघटन गर्नुपर्यो । त्यसैले जनताको बिचमा जानुपर्ने नित्तान्त आवश्यकता थियो । यी कारणले अहिलेको परिस्थीति सिर्जना भएको हो भन्ने कुरा बोध गराउन हामी जनताको विचमा जान लागेका हौं र अहिलेका सभाहरु हाम्रा तर्फबाट भएको छ ।
केन्द्र, प्रदेश र स्थानिय तहमा यहाँहरुकै पार्टीको सरकार छ । सत्तामा बसेर सडकमा जानुपरेको अवस्था किन आएको हो?
जब गलत कुरा स्थापित हुन खोज्छ। जनताको विचमा भ्रम सिर्जना गर्न खोजिन्छ । त्यो बारेमा सही कुरा लिएर जाने र जनतालाई सचेत गराउने कुरा सत्ता पक्षको पनि दायित्व हुन्छ। सत्ता पक्ष पनि राजनीतिक हिसाबले नेतृत्वमा रहेकाले राजनीतिक दृष्टीकोण दिनको लागि यी कार्यक्रमहरु आयोजना भएका छन्।
यहाँ प्रदेश सरकारको मन्त्री पनि हुनुहुन्छ । नेकपाका दुई समुहको विभाजन र किचलोले प्रदेश सरकारमा तलमाथी पर्ने सम्भावना कस्तो छ?
हाम्रो लुम्बिनी प्रदेशमा केही तलमाथि पर्ने अवस्था छैन। मुख्यमन्त्री सुविधाजनक बहुमतमा हुनुहुन्छ । उहाँको सरकारलाई तलमाथी पर्ने देखेको छैन मैले ।
प्रदेश सरकार स्थापना भएदेखी यहाँको मन्त्रालयबाट भएका महत्वपूर्ण कामहरु के के हुन्?
औद्योगिक क्षेत्र र यसलाई विस्तार गर्ने सम्बन्धमा हामीले महत्वपूर्ण काम गरेका छौं । औद्योगिक क्षेत्र प्रदेशले सञ्चालन गर्न पाउनुपर्छ भन्ने उदेश्यका साथ हामी संघिय सरकारसँग आफ्ना कुराहरु राखिरहेका छौं । निकट भविश्यमा औद्योगिक क्षेत्रहरु हामीले सञ्चालन गर्ने गरी ति औद्योगिक क्षेत्रमा विभिन्न खालका उत्पादनले आफूलाई स्थापित हुने उद्योगहरु स्थापित गर्ने हाम्रो साेंचहरु रहेको छ ।
कृषिका आधारमा, बन पैदावरका आधारमा र खानीका आधारमा हामीले उद्योगहरुलाई अगाडि बढाउने र विशेष गरी आफ्नै मुलुकमा भएको कच्चा पदार्थको आधारमा स्थापित हुने उद्योगहरुलाई बढवा दिने कुरा गरिरहेका छौं भने । अर्को तर्फ उद्योगमा आवश्यक पर्ने जनशक्ति तयार गर्ने। दक्ष जनशक्तिहरु तयार गर्ने, उद्योग सञ्चालनको लागि ऋण लिँदा प्रदेश सरकारको मन्त्रालयबाट ऋण तिरीदिने योजना पनि हामीले अगाडि बढाएका छौं।
पर्यटन क्षेत्र अन्तर्गत पर्यटन उद्योगमा आवश्यक पर्ने दक्ष कामदारहरु पनि उत्पादन गर्ने योजना छ । त्यसै गरी विभिन्न पर्यटकिय ठाउँहरुको स्थापित गर्ने र गन्तव्यको महत्वपूर्ण पूर्वाधारहरु निर्माण गर्ने क्रममा छौं । लुम्बिनीलाई बाँके बर्दियाको राष्टिय निकुन्जसँग जोड्ने योसँगै रुरु क्षेत्र रेसुंगा, पाणीनी तपोभुमि, सुपा देउराली, स्वर्गद्धारी लगायतका क्षेत्रलाई जोड्ने र पूर्वाधार निर्माण गर्ने काम गरेका छौं । सांस्कृतिक रुपमा विभिन्न संग्रालयहरु निर्माण गर्ने, प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबलीहरु निर्माण गर्दै छौं ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र थला पर्यो, अहिले अवस्था सामन्य हुँदै छ, अब लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्र कसरी अघि बढ्छ?
गएको वर्ष कोरोनाको कारणले केहि डिस्टब भयो । त्यसमा पनि ८० प्रतिशत कामको लक्ष्य पुरा गरेका छौं। हाम्रो लक्ष्य ९० प्रतिसत पुरा गर्ने थियो। १० प्रतिशत हेम्पर भयो । अब कोरोनाका कारण प्रगतिलाई अघि बढाउने कुनै अवरोध आउँदैन भन्नेमा विश्वस्त छौं।