गुल्मी-अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीमा एक घर पुरिनुका साथै अन्य पाँचवटा घरमा क्षति पुगेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत पिपलपाटा नजिकै तुथुङमा खसेको पहिरोले स्थानीय टोपबहादुर दमाईको घर पुरिदिएको हो।
पहिरोका कारण सोही ठाउँका हर्कबहादुर दमाई, जयबहादुर दमाई र टिके दमाईको घर र गोठसमेत भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए। त्यसैगरी पहिरोका कारण चन्द्रकोट गाउँपालिकाअन्तर्गत उपल्लो तुराङमा सोभाखर सुनार र उहाँकी साहिली बुहारीको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
पहिरोले घरमा क्षति पुगेपछि छ घरपरिवारका २९ जना व्यक्ति विस्थापित भएका छन्। पहिरोका कारण विस्थापित परिवारले यतिबेला स्थानीय जनता बाल निकेतन माध्यमिक विद्यालयमा आश्रय लिन बाध्य भएका छन्।
पहिरोले ट्रक बगायो
वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा एउटा मालबाहक ट्रक बगाएको छ।
सोमबार राति बुटवलबाट हार्डवयरका सामग्री लिएर चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बजारतर्फ जाँदै गारेको ना ६ ख ७७९२ नम्बरको ट्रकलाई पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडकमा पहिरो खसेपछि सडक छेउमा रोकी राखेको अवस्थामा उक्त ट्रकलाई माथिबाट खसेको पहिरोले बगाएको हो।