भैरहवा-भैरहवा कारागार यतिबेला चर्चामा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी अपचलनको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राखेयता यो कारागारको अनेक कोणबाट चर्चा भइरहेको छ।
पछिल्लो साता नयाँ पत्रिका दैनिक र अन्नपूर्ण पोष्ट दैनिकले रविलाई कारागारमा राखेपछि दिएका सुविधाबारे दुईथरि समाचार प्रकाशन गरेपछि यो कारागारको चर्चा अझ बढी छ।
नयाँ पत्रिकामा प्रकाशित समाचारको लिंक
कारागारमा यसरी राखिएको छ रविलाई, यही अँध्यारो कोठामा चार महिनादेखि छन् रवि
अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारको लिंक
रवि लामिछानेलाई जेलमा भीआइपी सुविधा, एसीमा बस्छन्, साँझ बाहिर डुल्छन्
यहीबीचमा सोमबार राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गरेको छ। कारागार अनुगमनपश्चात् सामान्य सुविधाहरुका सम्बन्धमा आयोगका आयुक्त लिली थापा, आयोगका लुम्बिनी कार्यालय प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितले कारागार निरीक्षण गरेका थिए । उनीहरूले कारागारमा रहेका रविसँग समेत कुराकानी गरेका थिए।
यो पनि
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई दिएको सुविधाबारे आयोगले सन्तोषजनक प्रतिक्रिया दिएको छैन।
कारागारमा क्षमताभन्दा तीनगुणा कैदीबन्दी राखिएको छ । कारागार प्रशासक सुरेश भण्डारीका अनुसार दुई सय ५० क्षमताको कारागारमा अहिले ६ सय २८ जना कैदी, बन्दी र थुनुवा छन् ।
वि.सं. १९९० सालमा निर्माण भएको यो कारागारमा सबैजसो भवनहरु जीर्ण छन् । भण्डारीले भने, ‘पूराना संरचना हुन्, मजबुत छैनन्।’
जिल्ला कारागारका बन्दीगृह पुरानो भइसकेका छन् । सबैलाई प्रयाप्त हुने सेवा सुविधा उपलब्ध छैन । पिउने पानीकै समस्या रहेको कारागार प्रशासनले जनाएको छ । बिजुली नियमित नहुने समस्याले हैरानी सहनु परिरहेको छ ।
‘सबैलाई पुग्नेगरि स्वास्थ्य सामाग्री उपलब्ध गराउन सकिएको छैन,’ प्रमुख भण्डारीले भने, ‘पर्याप्त खेल मैदान र सामाग्री छैनन ।’
यहाँ जम्मा १६ वटा मात्रै शौचालय छन् । ढल निकास नहुँदा दुर्गन्धित छ । वर्षा याममा डुवान हुन्छ । भवन समयमै मर्मत नहुँदा भवन ठाउँ–ठाउँमा भत्किने, चुहिने र विरुवा उम्रिएर जीर्ण बन्दै गएको छ । टिनका पाताहरु चुहिन्छन् । घर्मी छल्न टीनमाथि खरले छाइिएको छ ।
कारागारको अनुगमनपश्चात् राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिनु नै मुख्य समस्या भएको बताइन् । कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको उनले उल्लेख गरिन् ।