रुपन्देही– आज जुलाई ३० अर्थात अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस। यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागूपदार्थ ओसारपसार र मानवअंग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ।
नेपालमा सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बेचविखन नियन्त्रण हुन सकेको छैन।
यतिबेला कोभिड–१९ को प्रभावका कारण सबै क्षेत्र प्रभावित भएको छ। कोरोना भाइरस सङ्क्रमणको महामारी कम गर्न सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि उद्योग, व्यापार व्यवसाय सबै ठप्प भए।
अहिले बन्दाबन्दी खुलेपनि अझै जनजीवन सहज हुन सकेको छैन। यही परिस्थितिको फाइदा उठाउँदै मानव बेचबिखनमा संंलग्नहरु फेरि सक्रिय हुन थालेको मानव अधिकारकर्मीहरु बताँउछन्।
मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाकाअनुसार यो समयमा महिलासँगै बालबालिकाहरु पनि उत्तिकै जोखिममा छन्। गाउँ, टोलमा क्रियाशील दलालले निमुखा, अशिक्षित युवायुवतीलाई गरिबी, बेरोजगारी र दयनीय स्थितिको लाभ उठाउँदै विदेशमा राम्रो काम र दाम पाइने र जीवन सुखी हुने सपना देखाउने भएकाले सचेत हुनु आवश्यक छ।
बन्दाबन्दीकै समयमा पनि भारतका विभिन्न स्थानबाट सात जना महिलाको उद्वार गरिएको माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले बताइन्।
गएको असार महिनामा ४ जना महिलाको उद्वार गरिएको थियो। बन्दाबन्दीमा रुपन्देहीका दुई जना, पाल्पा, काठमाडौँ, बाँके, मकवानपुरलगायतका जिल्लाका सात महिलाहरुको सीमा क्षेत्र तथा भारतका विभिन्न स्थानबाट प्रहरीको सहयोगमा उद्वार गरी नेपाल ल्याइएको उनले बताइन्।
एक ठाउँबाट अर्को स्थानसम्म जान नसकिने बन्दका वाबजुद मानव बेचविखनका घटना हुनु डरलाग्दो भएको माइती नेपालका प्रमुख क्षेत्री बताउँछिन्।
“अब मानव बेचबिखनको झन जोखिम छ। लामो समयको बन्दले आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै दलालहरु झन सक्रिय हुदैछन्”, उनले भनिन्–अबको समयमा मानव बेचबिखन विरुद्ध झनै सचेतना आवश्यक छ।” खुल्ला सिमानाका कारण नेपालका महिलाहरु सजिलै भारत पुग्ने भएकाले अझै कडाइ गर्न आवश्यक रहेको उनको भनाइ छ।
माइती नेपाल भैरहवाका अनुसार आव ०७६/७७ मा सीमा क्षेत्रबाट सिमाबाट एक सय ४३ जना महिलाको उद्वार गरिएको छ भने नौ जनाको भारतका विभिन्न स्थानबाट उद्वार गरी नेपाल ल्याइएको थियो। यो वर्ष मानव बेचबिखन सम्बन्धि तीन वटा मुद्धा दर्ता भए।
यस्तै गत आव ०७५/७६ मा सीमा क्षेत्रबाट दुई ५३ जना र भारतका विभिन्न स्थानबाट ५० जनाको उद्वार गरी आफन्तको जिम्मा लगाइएको छ भने मानव बेचबिखन सम्बन्धि दुई वटा मुद्धा दर्ता भएका थिए।
आव ०७४/७५ मा सीमा क्षेत्रबाट दुई सय ७२ जना महिलाको उद्वार गरिएको थियो भने १० जनालाई भारतका विभिन्न स्थानबाट उद्वार गरी आफन्तको जिम्मा लगाइको थियो। यो आवमा मानव बेचबिखन १५ मुद्धा दर्ता भएका थिए। यो संख्या माईती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो।
प्रदेश नं ५ को त्रि वर्षीय तथ्याङ्कलाई हेर्ने हो भने यो वर्ष मानव बेचविखन तथा ओसारपसारका घटनामा केही कमी आएको देखिएको छ। कोभिड –१९ को प्रभावका कारण नेपालमा गरिएको बन्दाबन्दीका कारण घटनामा कमी आएको प्रहरीको भनाइ छ।
आर्थिक वर्ष ०७६/७७ मा मानव बेचविखन तथा ओसारपसारका ३० वटा मुद्धा दर्ता भएको प्रदेश नं ५ को प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्ष ०७५/७६ मा ४९ वटा मुद्धा दर्ता भएका थिए। यस्तै आव ०७४/७५ मा पनि ४९ वटा मुद्धा दर्ता भएका थिए।
नेपालको संविधानले मानव बेचबिखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ। त्यसविपरीतका कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुने संवैधानिक व्यवस्था गरिएको छ।
त्यस्तै, मानव बेचबिखन र ओसारपसार (नियन्त्रण ) ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभविना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ। त्यस्तै, कानुनले निर्धारण गरेको अवस्थामा बाहेक मानव अंग निकाल्ने कार्य गरेमा पनि मानव बेचबिखन गरेको ठहरिने व्यवस्था छ।