मलेखु । एक त नागढुङ्गा–नौबिसे सडकखण्डको जाम, त्यसमाथि राजमार्गका होटेलमा सडेगलेका खाना । गुनासो गर्दा होटल सञ्चालकबाट उल्टै दुर्व्यवहार । होटल सञ्चालकले असुल्ने मनपरी मूल्य आफ्नै ठाउँमा छ । खाना सफा भएन भन्दा होटेलका सञ्चालक र मजदुरले दुर्व्यवहार गर्नुका साथै धम्क्याउने गरेका छन् ।
केही दिनअघि काठमाडौँबाट धादिङ आउँदै गर्नुभएकी युनिशा अधिकारीले कान्तिपुर होटेलमा दुई सय तिरेर एक प्लेट मःम माग्नुभयो, तर खान सक्नुभएन । खान मिल्ने नै थिएन । खानीखोलास्थित आरपी कोल्ड स्टोर एण्ड खाजा घरमा भेटिनुभएकी अधिकारीले भन्नुभयो, “मःम काँटा चम्चाले टिप्नै नमिल्ने थियो । मुखमा हाल्न सक्ने नै थिएन । गुनासो गर्दा होटेलवालाले उल्टै थर्काउँदो रहेछ ।”
हुन त राजमार्ग आसपासमा सञ्चालन हुने होटेलमा यात्रु ठगिने र गुणस्तरहीन खाना खुवाउने विषय नौलो होइन । वर्षौंदेखि सर्वसाधारण यात्रुले भोग्दै आएको समस्या हो यो । राजमार्ग आसपासमा हजारौँको सङ्ख्यामा होटल सञ्चालन भएका छन् । सरकारले मूल्य सूची अनिवार्य रूपमा राख्नुपर्ने नियम ल्याए पनि कार्यान्वयन हुन सकेको छैन । खानाको गुणस्तरमा समेत सुधार हुन सकेको छैन ।
गुणस्तरअनुसार खानेकुरा महँगो भयो भनेर सञ्चालकलाई सुनाउँदा प्रायः सबैले धम्क्याइ खेप्नुपर्छ । खाना गुणस्तरीय भएन, महँगो भयो भनेर जसले सुनाउँछ उसले सञ्चालक वा मजदुरबाट खानाको साटो मुखभरिको जवाफ र दुर्व्यवहार सहनुपर्छ । व्यवसायीले आफूखुसी खानाको मूल्य निर्धारण गरी यात्रुसँग चर्को मूल्य असुल्दै आएका छन् । यात्रुहरूले महँगो मूल्य तिरेर पनि बासी खाना खानुपर्ने बाध्यता छ । गाडी सञ्चालक र होटल व्यवसायीको मिलेमतोमा सार्वजनिक सवारीमा आवतजावत गर्ने यात्रु यसरी ठगिँदै आएका छन् ।
दार्चुलाबाट काठमाडौँ आउँदै गर्नुभएका तारादत्त भट्ट चढेको गाडी पृथ्वी राजमार्गको खयरघारीस्थित कान्तिपुर होटेलमा रोकियो । भट्टले खाना मगाउनुभयो, तर दुई गाँस पनि खान सक्नुभएन । सार्वजनिक यातायात चढेर यात्रामा रहनुभएका उहाँलाई बस जहाँ रोकिन्छ त्यहीँ खाना खानुको विकल्प पनि थिएन । भोको पेट भर्नकै लागि खाना खाँदा प्रायजसो चिसो भइसकेको गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता आइपर्ने भट्टले गुनासो गर्नुभयो । “प्रायजसो बासी खाना भेटिन्छ । महँगो पैसा तिरेर गुणस्तरहीन खानेकुरा जबर्जस्ती खानुपर्ने बाध्यता छ । रु १० पर्ने चियालाई रु ३० सम्म लिन्छ”, उहाँले भन्नुभयो ।
“खानुभन्दा पहिले नै पैसा तिरेर खान लागेको खाना दुई चम्चा पनि खान सकिएन, होटेलवालासँग बोल्यो कि कुटुँला जस्तो गर्दो रहेछ । हाम्रोमा हुने यस्तै हो, खाए खाऊ नत्र जाऊ भन्दै उल्टै थर्काउँछ”, अर्का यात्रु अम्बिका श्रेष्ठले सुनाउनुभयो ।
राजमार्गका होटल तथा रेस्टुराँ अन्यत्रभन्दा महँगा भएको स्वयं होटल सञ्चालकले नै स्विकार्ने गरेका छन् । यात्रु ल्याउने गाडीलाई भत्ता दिनुपर्ने र तीन/चार वटा खाना चालक सहचालकलाई निःशुल्क दिनुपर्दा खानाको मूल्य बढी लगाउनुपरेको होटल सञ्चालक कुमार घिमिरेले बताउनुहुन्छ ।
होटल सञ्चालकको मिलेमतोमा बस तथा माइक्रोबस चालकले २० मिनेट मात्र खाना तथा खाजा खाने समय राखेर यात्रुलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । “बीस मिनेटमा शौचालय जान, हातमुख धुन र खाना, खाजा खान भ्याइँदैन । एउटै होटेलमा एक पटकमा दसौँ गाडी र सयौँ यात्रु हुनेहुँदा शौचालय, धारो र टेबलमा समेत पालो पाउन गाह्रो पर्छ”, काठमाडौँ आउँदै गर्नुभएकी राधिका अधिकारीले भन्नुभयो, “खाना थप्न त कता हो कता पहिलेकै खाना बुत्याउन भ्याइँदैन ।”
पृथ्वी राजमार्गको नौबिसेदेखि बेनिघाट आसपासका होटेलले यात्रुलाई सेवा दिने नाममा गुणस्तरहीन खाना खुवाएर मनपरी पैसा असुल्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन थालेको छ । अनुगमनमा परेका अधिकांश होटल फोहरी भेटिएका छन् ।
बाहिरबाट टिलिक्क पारिएका होटलको खानामा पनि गुणस्तर नभएको उपभोक्ताले गुनासो गरेका छन् । होटेलले भान्छा र भाँडा माँझ्ने ठाउँ एकै ठाउँमा चलाएको समेत भेटिएको छ । “बाहिर सरसफाइ छ तर खानामा गुणस्तर छैन । मूल्य सूची राखेको छ । आफ्नै मनोमानीमा तयार गरेको समेत भेटियो”, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले भन्नुभयो, “किराना पसल होटेलले दोब्बरसम्म मूल्य लिएको गुनासो आयो । त्यही गुनासोका आधारमा अनुगमन गर्दा ६० प्रतिशतसम्म बढी मूल्य लिएको पाइएको छ ।”
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गतको धादिङको चरौँदी, बेनिघाट, सलाङघाट, धार्के, नौबिसे क्षेत्र आसपासका होटल तथा खाजा घर र किराना पसलमा शनिबार पनि अनुगमन गरेको छ । गुणस्तरहीन खाना दिने गरेको गुनासोपछि धादिङका सरकारी निकाय अनुगमनका लागि निस्किएका हुन् । होटल अनुगमनका क्रममा अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बेच्ने, गुणस्तरहीन खानेकुरा बेच्ने होटेललाई कारबाही पनि गरिएको छ ।
स्थानीय नागरिक तथा यात्रुको गुनासोलाई ध्यान दिएर अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । अनुगमनका क्रममा सरसफाइ नगर्ने, मूल्य सूची नराख्नेलाई पनि कारबाही र सचेत गराइएको छ । मूल्य सूची नराख्नेलाई सात दिनभित्र राख्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाइ छ ।
पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा खाजा घरमा अनुगमनका क्रममा २० वटा होटल तथा खाजा घर, छ वटा सप्लायर्स र किराना पसल गरी जम्मा २६ वटा फर्मको जिल्ला अनुगमन टोलीद्वारा अनुगमन गरिएको छ ।
करिब एक लाख एक हजार ५०० रुपैयाँ बराबरको म्याद गुज्रेका र सडेगलेका प्रयोग गर्न अयोग्य सामग्री जफत गरी नष्ट गर्नुका साथै अनुगमनका क्रममा कैफियत भेटिएका १५ वटा फर्मलाई नगद जरिवाना समेत गरिएको प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिनुभयो ।
अनुगमनकै क्रममा भेटिएका यात्रुले यस्ता होटल सञ्चालकलाई सरकारले नै कडाइपूर्वक अनुगमन गरेर ठेगान लगाउन सुझाव दिने गरेका छन् ।