काठमाडौँ । जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबै जना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उहाँले भन्नुभयो, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।”
जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घटनास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घटनास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताउनुभयो ।
“हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उहाँले भन्नुभयो, “साँझसम्म घटनास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताउनुभयो । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उहाँको भनाइ छ ।