रुपन्देही–बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बसेका छन्। प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भएपनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिना पछि सरेको हो।
थाइल्याण्डका केही भिक्षुहरु भने असार पूर्णिमादेखि नै वर्षावासमा बसेको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिए।
‘असोजमा परेको मलमासका कारण यस पटकको वर्षावास एक महिना पछि सरेको हो–भिक्षु मैत्रीले भने–कात्तिकको कोजाग्रत पूर्णिमाका दिन वर्षावास समाप्त हुन्छ।’
सोमबार साँझ लुम्बिनीमा विशेष धार्मिक कार्यक्रम गरेर भिक्षुहरु वर्षवासमा बसेका हुन्। लुम्बिनीको राजकीय बुद्ध विहारमा सोमबार साँझ आयोजना गरिएको धार्मिक कार्यक्रममा भिक्षु, गुरुआमा, स्थानीय बौद्ध उपासक उपासिका सहभागी थिए।
वर्षाका कारण चारैतिर पानी पर्ने, जमिन भित्रका जीव तथा किराहरु बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्छन्। बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरु वर्षावास बस्नुभएको छ। वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन मनन गर्नु हो।
वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नु पर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने भएकाले भगवान बुद्धले वर्षावासको व्यवस्था गर्नुभएको भिक्षुहरुको भनाइ छ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीकाअनुसार लुम्बिनीका विभिन्न विहारमा २० जना भिक्षु वर्षावासमा बसेका छन्। राजकीय बुद्ध विहारमा भिक्षु सागर धम्मको नेतृत्वमा तीन जना भिक्षुहरु वर्षावासमा बसेका छन्।
यस्तै थाइ विहार, वर्मा, महाबोधी सोसाइटी, श्रीलङ्का विहार, थेरवाद विहार, पण्डिताराम विपश्यना केन्द्र र धर्मोदय नव मैत्री महाविहार भिक्षुहरु वर्षावासमा बसेका छन्। धर्मोदय विहारमा भिक्षु मैत्रीसहित तीन जना भिक्षुहरु वर्षावासमा बसेका छन्।
भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ। भगवान् बुद्धले प्रतिपादन गरेका २२७ नियममध्ये वर्षावास पनि एक हो। बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ। यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ।
राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मकाअनुसार सिद्धार्थ गौतमले आषाढ पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गरेका थिए।
उनले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार त्याग) गरेको बौद्ध शास्त्रमा उल्लेख छ। अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलो पटक पाँच जना ब्राह्मणहरुलाई शिक्षा दिएका थिए। जसलाई धर्मचक्र प्रवर्तन भनिन्छ, अर्थात् आषाढ पूणिर्माकै दिन देखि बुद्ध धर्मको प्रचार प्रसार अभियान प्रारम्भ भएको मानिन्छ।
वर्षावासको समयमा बिहारमा दैनिक धार्मिक गतिबिधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा बिहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम हुने भिक्षु धम्मले जानकारी दिए।
वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसङ्घमा भेला हुुनु जरुरी छ। यसपछि भिक्षुसङ्घको सङ्घनायक अगाडि आफूले जानी नजानी गरका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ।
यस सङ्घकर्मलाई उपोसध कर्म भनिन्छ। यस उपोसधपछि आआफ्ना बिहार वा आफूले इच्छा गरेका बिहारमा भिक्षुहरू वर्षावासका लागि प्रस्थान गर्ने गर्छन्। वर्षावास बसेको अवसरमा एउटा छुट्टै पवारण भनी कार्यक्रमको व्यवस्था गरिएको हुन्छ।
यस अवसरमा आफूले भोगेका पीर मर्का कठिनाइ र आफूले गरेका भूल भिक्षुसंघ अगाडि आफूभन्दा जेष्ठ भिक्षुहरू सामुन्ने संयमित भई क्षमा याचना गरी पवारण विनय पालन गरिन्छ। आफूले गरेको भूलप्रति स्वीकार्न अनुरोध गरेकोले यस अवसरमा आत्मदेशना र पवारण विनय पालन गरिएकोले भिक्षुसङ्घले क्षमा स्वीकार गर्ने बताइन्छ।
भिक्षुहरूको तीन महिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक उपासिकाहरुले खुशीले कठिन उत्सव मान्ने परम्परा छ।
उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुहरूलाई कठिन चीवर दान गर्नेछन्। उक्त दिनमा पूजा पाठ, दान गरी भोजनको व्यवस्था गराइने बौद्ध उपासिका टिका कटेल बताउँछन्। यसरी प्रत्येक वर्ष गरिने वर्षावास तथा कठिन उत्सव मनाउने गरिन्छ।
यो कठिन उत्सव वर्षमा एउटा विहारमा एकपटक मात्र मनाइन्छ। कठिन दानको अवसरमा पूजा पाठ गरी दान शील भावना राखी प्रवचन सुन्ने र भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गर्ने प्रचलन छ।रासस