बुटवल-प्रदेश ५ का १२ जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९५ पुगेको छ। प्रदेश ५ मा बुधबारसम्म ३ सय ४० जना सक्रिय संक्रमित विभिन्न कोरोना अस्पतालहरुमा उपचाररत छन्। प्रदेश ५ मा हालसम्म ४ हजार ८८ जना कोरोना भाईरसका संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै कपिलवस्तुमा ८१९, दाङमा ६७०, पाल्पामा ५५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। यस्तै बाँकेमा ४८९, गुल्मीमा ३६४, रुपन्देहीमा ३५४, अर्घाखाँचीमा ३२९, प्युठानमा ३४२, बर्दियामा २४८ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ कै नवलपरासी पश्चिममा १२२, रोल्पामा ७४ र रुकुम पूर्वमा २२ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
प्रदेश ५ का नवलपरासी पश्चिम, रोल्पा र रुकुम पूर्वबाहेकका जिल्लामा २ सय भन्दा बढी संक्रमित छन्। २ सय भन्दा बढी संक्रमित रहेका जिल्लालाई सरकारले रेडजोनमा राखेको छ।
रेडजोनमा रहेका प्रदेश ५ का ९ वटा जिल्लामा भने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू भएको छैन।* यी जिल्लामा सक्रिय संक्रमितको संख्या २०० नपुगेकाले जोरबिजोर लागू गर्ने नगर्ने टुंगो लागेको छैन। जिल्लास्तरको संयन्त्रले जोरबिजोर लागू गर्ने नगर्ने टुंगो लगाउन सक्छ।
प्रदेश ५ मा बुधबारमात्रै ३६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। प्रदेश ५ स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ का ५ जिल्लामा ३६ जना संक्रमित फेला परेका हुन्।
यिनीहरुमध्ये अधिकांश समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका हुन्। केही समुदायस्तरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा फेला परेका हुन्।
बुधबार प्रदेश ५ का कपिलवस्तु र बाँकेका १३, प्युठानका ५, रुपन्देहीका ३ र दाङका २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक डा. उमाशंकर प्रसाद चौधरीले जानकारी दिए।
कोरोना भाइरस संक्रमणका कारण प्रदेश ५ मा १३ जनाको मृत्यु भएको छ। हाल प्रदेशभर १ हजार ३ सय ८९ जना क्वारेन्टिनमा रहेका छन्।
प्रदेश ५ मा पीसीआर परीक्षणका लागि संकलन गरिएको थ्रोट स्वाब मध्ये ९८ प्रतिशत परीक्षण भैसकेको र अझै २ प्रतिशत परीक्षण गर्न बाँकी रहेको डा. चौधरीले बताए।
*भुलसुधारसहित सच्याइएको।