रुपन्देही । आइतबार सैनामैनाकी खिमिसरा थापा विमान परिचारिका रहेकी छोरी सिर्जना (सिर्जु थापा) लाई पठाइदिनका लागि पाहुर तयार पार्दै हुनुहुन्थ्यो ।
उनानतीस वर्षीया छोरी सिर्जनालाई अत्यन्तै मन पर्ने बटुक र सेलरोटी पकाउन उहाँलाई भ्याइ नभ्याइ थियो । सोमबार बुहरी सरस्वतीसँगै छोरीलाई पाहुर पठाउन उहाँ बिहानैदेखि सेलरोटी पकाउन व्यस्त हुनुहुन्थ्यो ।
सात वर्षदेखि यती एयरलाइन्समा एयर होस्टेसका रूपमा कार्यरत छोरी सृजना चाडको बेला पनि घर आउन नभ्याएपछि सोमबार कोशेली लिएर बुहारी सरस्वती काठमाडौँ पुग्ने तयारीमा हुनुहुन्थ्यो ।
सृजनाका आइतबार दुईवटा हवाइ उडानका लागि पालो परेको थियो । बिहान साढे १० बजे काठमाडौंदेखि यतिको एटिआर ७२ जहाजमा पोखरा उडान भर्ने र आइतबारै पोखराबाट काठमाडौं फर्किएपछि भद्रपुर जाने तालिका उहाँले शनिबार फोनमा आमा खिमिसरालाई बताउनुभएको थियो ।
माघे संक्रान्तिका दिन रूपन्देहीमा बिहानैदेखि शितलहर चलेको थियो । अघिल्लो दिन घाम लागे पनि माघ १ गते निकै चिसो थियो । बाक्लो हुस्सु लागेको थियो ।
यत्तिकैमा बिहान साढे ११ बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो । तर, यति एयरकै जहाज खसेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो । सैनामैना नगरपालिका —५ बुद्धनगरमा रहेको सृजनाको घरमा पनि रुवाबासी शुरु भयो । सृजनाका छिमेकी जम्मा हुन थाले सिंगो गाउँ नै शोकमा परिणत भयो ।
एक दिन अगाडि फोनमा छोरीसँग घण्टौ कुरा गरेकी खिमिसरालाई त्यो घटना शुरुमा विश्वास गर्न गाह्रो भयो तर, केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नाम सहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो ।
घटनापछि खिमिसरकाको घरमा छिमेकीहरु जम्मा भए । “हिजो फोनमा कुरा गर्दा अलि धेरै बटुक र रोटी पठाइदिनु है ममी भनेकी थिई, आज यस्तो भयो” सृजनाकी आमा खिमिसराले भक्कानिँदै भन्नुभयो । सृजनाले बटुक धेरै मन पर्छ, अलि धेरै पठाइदिनु है मम्मी भनेको वाक्य खिमिसराको मनमा गडेर बसेको छ ।
भारतीय सेनाबाट अवकाश प्राप्त बुवा रिमबहादुर र खिमिसराकी छोरी सिर्जनाका दुई दाजु र एक भाइ हुनुहुन्छ ।
उहाँको निधनपछि सैनामैनामा शोकमा रहेका आफन्त, छिमेकी र स्थानीय जनप्रतिनिधिहरु जम्मा भएर सृजनाको आमा खिमिसरा र परिवारका अन्य सदस्यलाई सान्त्वना दिने काम गरिरहेको सैनामैना —५ का वडाध्यक्ष धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीबाट पढेकी सृजनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट स्नातक तह सम्मको अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गर्नुभएको थियो ।
आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो । विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना रहेका थिए । रासस