रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङगरनगरका पदमबहादुर बुचा मगर र सूर्यकुमारी बुचा सम्हालिन सक्नुभएको छैन ।
पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत बुचा दप्पतीका छोरा ३६ वर्षीय डा.गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङगरनगर स्थित उहाँको घर र सिंगो तिलोत्तमा शोकमा छ ।
आफ्नी श्रीमती र छोरीलाई भेटेर हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा चढेका थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा पर्नुभयो ।
चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरीलाई काठमाडौंमा भटेर फर्किएका थापाको यो नै परिवारसँगको अन्तिम भेट भयो ।
बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा थापा दुर्घटनामा पर्नुभएको थियो । विमान दुर्घटनामा छोरा परेको खबर सुन्नासाथ पदमबहादुर र सुर्यकुमारीका आँशु रोकिएका छैनन् । बुचा दम्पतिका दुई सन्तानमध्ये डा. थापा कान्छो सन्तान हुन् । थापाकी दिदी काठमाडौँमै हुनुहुन्छ ।
तिलोत्तमा —४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीकाअनुसार सोही वडाकै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टु सम्मको अध्ययन गर्नुभएको थियो ।
पढाईमा अब्बल थापाले प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस र अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गर्नुभएको थियो ।
केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेपछि उहाँँ पछिल्ला केही वर्ष यता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
बुवा पदमबहादुर र आमा सूर्यकुमारीले छोरालाई डक्टर बनाउने सपना पूरा भएको खुशी धेरैवर्ष टिक्न पाएन नत जीवनभर बिरामीको सेवा गर्ने सपना बुनेका डा. थापाको सपना पनि अधुरै रह्यो । छोरालाई डक्टर बनाउन सानो खर्चले नपुग्ने भएपछि थापाका बुवा पदम बैदेशिक रोजगारीका लागि जर्मनीसमेत जानुभएको थियो ।
छोरा चिकित्सक बनेपछि भने उहाँ वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आउनुभएको थियो । छोराको कमाइ खाएर आराम गर्ने समयमा बुचा दम्पतीको परिवामा बज्रपात परेको छ । एकमात्र छोरा गुमाउनुपर्दाको खबर आमा सूर्यकुमारीले अझै पत्याउनसक्नुभएको छैन ।
डा. थापाकी धर्मपत्नी र दुई वर्षीया छोरी काठमाडौँमै रहेकाले बुवा पदम र आमा सूर्यकुमारी आफन्तीसँग काठमाडौँ पुग्नुभएको छ । विमान दुर्घटनामा निधन भएकाहरुको शव आज काठमाडौँ ल्याइने भएकाले उहाँहरु काठमाडौँ जानुभएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार डा. थापाको शव अन्तिम संस्कारका लागि तिलोत्तमा ल्याउने तयारी छ ।
माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन–एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।