रुपन्देही । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी कोशेली बोकेर घरमै भेट्न आउँदा वडा नं ९ की सुजिता गुरुङ दङ्ग पर्नुभयो ।
सुत्केरी आमाहरुलाई शुभकामना सन्देशसहित नगरपालिकाले सुरु गरेको ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ कार्यक्रम अन्तर्गत उपप्रमुख कोशेली लिएर गुरुङको घरमा पुग्नुभएको थियो ।
कोशेली सहितको झोलामा घ्यू, ज्वानो, मह, सर्फ, डिटल साबुन, जोनसन साबुन, जोनसन तेल, स्यानेटरी प्याड, झुल, मेक्सी लगायतका सुत्केरीलाई आवश्यक पर्ने सामग्री थिए ।
“उपप्रमुखले घरमै आएर कोशेली दिनुभयो, उहाँ घरमै आउँदा निकै खुशी लाग्यो”, गुरुङ भन्नुहुन्छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालेको छ ।
सोही कार्यक्रम अन्तर्गत विभिन्न वडाका सुत्केरी आमा र शिशुलाई भेट्न उपप्रमुख उमा अधिकारी आफै पुग्नुहुन्छ । झोलामा सुत्केरीलाई चाहिने सामान सहितको झोला बोकेर उपप्रमुख पुग्दा सुत्केरीका साथै परिवारहरु खुशी हुने गरेका छन् ।
नजिकको सरकार महशुस गर्न पाएका छौँ, निकै खुशी लागेको छ”, वडा नं १ की सुत्केरी शुशीला श्रेष्ठ भन्नुहुन्छ ।
अहिलेसम्म सिद्धार्थनगरका वडा नं १, २, ९ र १२ का गरी करिब ७० जना महिलालाई ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराइएको नगर उपप्रमुखको स्वकीय सचिव लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रु ३५ हजार मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमाहरुलाई उपलब्ध गराइएको छ । “उपप्रमुख वडाका सुत्केरीको घरमै पुगेर कोशेली दिनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था पनि बुझ्नुहुन्छ”, उहाँले भन्नुभयो ।
नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्युनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने प्रावधान नगरपालिकाले बनाएको छ ।
सुत्केरी अवस्थामा के खाने ?, कति दिन आराम गर्ने ? कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ ? जस्ता सन्देश लेखिएको पम्पलेट समेत कोसेली भेटमा उपलब्ध गराइएको छ । “यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ”, अधिकारीले भन्नुभयो ।
मधेसी समुदायमा विवादर्ता र जन्मदर्ता प्राय कम हुने गर्छ । जसले गर्दा न्यायिक समितिमा पनि त्यस्ता गुनासा आउने गरेपछि सचेतनाका लागि सुत्केरी कोसेली भेट कार्यक्रम सुरु गरिएको उपप्रमुख अधिकारीको भनाइ छ ।
यसले समयमै जन्मदर्ता गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढेको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख अधिकारी बताउनुहुन्छ ।
“कार्यालयको काम, अन्य व्यवस्ताले गर्दा जनप्रतिनिधी नागरिकको दैलोमा पुग्न भ्याएका हुँदैनन् । जसले गर्दा स्थानीयले नागरिकका समस्या र गुनासा के छन् भन्ने थाहा हुँदैन । त्यसैले नागरिकको दैलोमै पुगेर सेवा दिँदा नजिकको सरकारको महसुस नगरबासीले गर्न पाउँछन्”, उहाँ भन्नुहुन्छ ।
सुत्केरी आमाहरुलाई कोसेली दिन उपप्रमुख अधिकारीसहित सम्बन्धित वडाका प्रतिनिधि, आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारी, स्वयंसेविकाहरु पुग्ने गर्नुभएको छ ।