काठमाडौँ- कुनै समय थियो नेपाली सेना भन्ने बित्तिकै नागरिक डराउँथे, खासगरी जनयुद्ध र जनआन्दोलनताका नेपाली सेनाको रुखो व्यवहारले नागरिक खुशी थिएनन्। सेनाको व्यवहार पनि जनमैत्री थिएन। सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाका कारण सेनाप्रति नागरिकको दृष्टिकोण सकारात्मक थिएन।
नागरिक सेनाको नजीक पर्न चाहँदैनथे तर अहिले समय फेरिएको छ। मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि नेपाली सेनाको व्यवहार परिवर्तन भएको छ। नेपालको संविधानको धारा, २६७ ले निर्दिष्ट गरेबमोजिम नेपाली सेनाको पहिलो कार्य भनेको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्नु हो तर सेनाले यसका अलावा नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन सामाजिक क्षेत्रका काममा पनि सक्रियता बढाएको छ।
गौरवका आयोजना निर्माण, ऐतिहासिक गढीको संरक्षण, बाढी, पहिरोलगायत विभिन्न विपद् व्यवस्थापनमा नेपाली सेना खटिँदै आएको छ। सेवाको भावना लिएर नागरिकसँग जोडिनका लागि सामाजिक कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउछन् नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापा।
“मुलुकमा शान्ति कायम गर्नु हाम्रो कर्तव्य हो तर सेनाले यसका अलावा नागरिकको जीवनस्तरसँग जोडिएका सामाजिक कामलाई प्रभावकारी ढङ्गले पूरा गर्न दृढ भएर लागेको छ”, उपरथी थापा भन्छन्। पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र मृतकको शव व्यवस्थापनमा पनि सेनाले सक्रिय भूमिका निर्वाह गरेको उपरथी थापाको भनाइ छ।
नेपाली सेनाको मध्य पश्चिम पृतनाले रुपन्देहीको मर्चवारी गाउँपालिकामा व्यवस्थित हाटबजारको निर्माण गरेको छ भने सल्यानको दार्मा गाउँपालिकामा प्रसूतिगृहको निर्माण गरेको छ। रुपन्देहीकै विकट मानिने मर्चवारी क्षेत्रमा व्यवस्थित हाटबजार निर्माणपछि त्यहाँका स्थानीयवासी खुशी भएका छन्। सेनाले विभिन्न जिल्लाका ऐतिहासिक गढी, किल्ला र पदमार्गको संरक्षण तथा संवद्र्धनको काम गर्दै आएको छ।
जसअन्तर्गत पाल्पा दरबार सङ्ग्रहालयमा सेनासँग सम्बन्धित सामग्री राखिएको छ भने बुटवलको जितगढी किल्लाको स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया शुरु भएको छ। संरक्षण र संवद्र्धनका लागि विभिन्न क्षेत्रको पहिचान गरी प्रक्रिया अघि बढाइएको मध्य पश्चिम पृतनाले जनाएको छ।
जसमा शिवगढी स्तरोन्नति, प्यूठानस्थित भित्रिकोट दरबार, पाल्पाको वाकुमगढी, नुवाकोटगढी, माथागढी र बल्डेङ्गगढी, गुल्मीको गुल्मी दरबार, धुर्कोट, इस्माकोट, मुसिकोट छन्। कपिलवस्तुको मधुवन धाममा बोटानिकल गार्डेनको निर्माण गरिएको छ भने दाङको छिल्लिकोट मालिका मन्दिर परिसरमा सेडघर तथा शौचालय निर्माणको काम शुरु हुँदछ। प्यूठानको स्वर्गद्वारी आश्रम परिसरमा रहेको शान्तिवाटिकामा म्युजिकल फाउन्टेन निर्माण गरेको छ।
कोरोना महामारीकोे नियन्त्रण र कोरोनाका सङ्क्रमणका कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनको जिम्मेवारी सेनाले नै निर्वाह गरेको छ। सेनाको मध्य पश्चिम पृतनाले अहिलेसम्म २४१ जनाको शव व्यवस्थापन गरेको छ। जोखिम मोलेर पनि सेनाले गरेको यस कार्यले गर्दा अप्ठ्यारो परिस्थितिमा सेना चाहिने रहेछ भन्ने आम नागरिकले महसुस गरेका छन्।
नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र वीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ। देशमा कुनै अप्ठ्यारो परिस्थिति सृजना भयो भने सेना परिचालन गर्ने संवैधानिक व्यवस्था छ। इतिहासदेखि वर्तमानसम्म नेपालमा सेनाप्रतिको जनताको सद्भाव, आस्था, मान्यता र विश्वास उच्चकोटीको छ।
नेपाली सेनाले संवैधानिक सरकारको आदेश र सैनिक ऐनको परिधिलाई कहिल्यै ननाघेका कारण पनि जनताको मन जित्दै गएको देखिन्छ। “हामी सङ्गठनको निर्देशनलाई आत्मसात् गरेर अगाडि बढ्छौँ, आफ्नो कर्तव्यमा पछि नहटी अनुशासित ढङ्गले काम गर्छौं”, मध्य पश्चिम पृतना मुख्यालयका जनसम्पर्क अधिकृत ऋचा राज्यलक्ष्मी सिंहले भनिन्।
मध्य पश्चिम पृतना मुख्यालयअन्तर्गत रुपन्देही, कपिलवस्तु, दाङ, रोल्पालगायत १३ जिल्ला पर्दछन्। शान्तिको महत्व युद्धमा प्रत्यक्ष सहभागी भएर लडेकाले नै बढी बुझेको हुन्छ। बाहिरबाट हेर्नेले युद्ध र शान्तिको अनुभूति गर्न सक्छन् । यस सन्दर्भमा विवादरहित ढङ्गले नेपाली सेना राज्य र नागरिकको सुरक्षामा खटिएको छ”, भन्छन् एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक शिव गौडेल।
“विगतका द्वन्द्वकालमा भएका घटनाका कारण नागरिकले सेनालाई हेर्ने दृष्टिकोण फरक थियो। अहिले सेनाले निर्वाह गरेको सामाजिक भूमिकाका कारण सेनाप्रति नागरिकको विश्वास बढ्दो छ”, संयोजक गौडेल भन्छन्।
जनताको स्वास्थ्य, सुरक्षा र विकासका क्षेत्रमा सेनालाई परिचालन गर्दा छिटो, छरितो र कम खर्चमा आयोजना पूरा हुने गरेकाले सेनाप्रति नागरिकको धारणा सकारात्मक बन्दै गएको उनी बताउछन् ।
नेपालीको संस्कार, परम्परा र सोचाइ जे छ सेना पनि त्यही परिवेशबाट अलग रहन सक्दैन। नेपाली सेनाको अनुशासन, देशप्रतिको योगदान र सरकारप्रतिको निष्ठा अझै उचो बनाउन नागरिक समाजको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। अबका दिनमा जनता र सेनाबीचको सम्बन्ध अझै सुधार हुन आवश्वक छ।
विगतका दशकमा नेपालको विभिन्न सरकार र सेना आफैँले पनि यस पक्षमा मनोवैज्ञानिक ढङ्गले प्रभावकारी पहल गर्न सकेनन् तर अहिले सामाजिक क्षेत्रमा समेत सक्रियता देखाएर सेनाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउने प्रयास गरिहेको संयोजक गौडेलको भनाइ छ। रासस