रुपन्देही-पाल्पामा दाईले आफ्नै बहिनीमाथि लगातार सात बर्षसम्म बलात्कार गरेको रहस्य खुलेको छ ।
तिनाउ गाउँपालिका –२ ओढारखोला घर भइ हाल बुटवलमा एक संस्थामा कार्यरत व्यक्तिले बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा मुद्धा परेपछि घटना बाहिर आएको हो । सात बर्षदेखि १४ वर्षको उमेरसम्म लगातार बलात्कार गरेको भन्दै दाईविरुद्ध बहिनीले अदालतमा हाडनाता करणीको मुद्धा हालेपछि घटनाको रहस्य बाहिर आएको हो ।
गत मङ्सिर २३ गते पीडित युवतीले हाडनाता करणी अन्तर्गत मुद्धा दिएको जिल्ला अदालत पाल्पाले जनाएको छ । मुद्धापछि आवश्यक प्रक्रिया शुरु भएको अदालतले जनाएको छ ।
पीडित युवतीका अनुसार ओढारखोला स्थित घरमा दाजुले लगातार बलात्कार गर्थे । तत्कालीन समयमा पाल्पाको तानसेनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले आफु बस्ने कोठामा लगेर समेत पटकपटक बलात्कार गर्ने गर्थे ।
सानै उमेरमा बलात्कार भएका कारण परिवारलाई पिडा हुने देखेर बाहिर बोल्ने आँट नगरेको भएपनि अहिले बुवा आमाको मृत्यु भएपछि दाजु विरुद्ध अदालतमा जाहेरी दिएको युवतीको भनाइ छ ।
“म सानै भएकाले पहिले त मैले यसबारे कसैलाई भन्न सकिन, विस्तारै ठूली हुँदा समेत बुवाआमालाई पिडा हुन्छ की भनेर मौन रहेँ”, पीडित महिलाले भनिन्, “ अहिले बुवा आमा पनि बित्नुभयो र आँँट गरेर उजुरी हाले ।”
सानै हुँदा बलात्कारका बारेमा भन्न नसके पनि ठूली भएर भन्न खोज्दा दाईले घरमा बाँधेर राख्ने गरेको पिडा सुनाउँदै उनले त्यसपछि आफू भागेर काठमाडौँ गएको बताइन् ।
बाँधेर राखेपछि म धेरै कमजोर भएँ तर मेरो बारेमा बोलिदिने कोही भएन, दाजुको व्यहारले घरमा बस्न मन नभएपछि भागेर हिडेको उनले सुनाइन् ।
लगातारको बलात्कारका कारण अहिलेसम्म मानसिक यातना भोग्नु परेको पीडित युवतीको गुनासो छ । उनका अनुसार दाजुले स्वास्थ्य क्षेत्रमा काम गर्ने भएकाले विभिन्न औषधी खुवाएर बलात्कार गर्थे । “आफ्नै दाईले यस्तो गर्छन् भनेर मैले सोँचेकी थिइन, असह्य पिडाले मलाई मानसिक समस्या भयो”–उनले भनिन्–“डाक्टरहरुसँग परामर्श लिएर उपचार गरेपछि मानसिक समस्याबाट छुटकारा पाएँ ।”
करीब चार वर्षसम्म वैदेशिक रोजगारीमा बसेर फर्किएको अनुभव सुनाउदै पीडत युवतीले अब सात वर्षसम्म सहेको बलात्कारको पिडा र अहिलेसम्म भोगेको मानसिक यातनाको विरुद्ध न्याय खोज्न नेपाल फर्किएको बताउँछिन्।
“तीन महिनाको अन्तरालमा बुवा र आमा गुमाए, कोरोना सङ्क्रमित भएकाले मुख देख्न आउन समेत पाइन, मन सम्हालेर आफूमाथि भएको अन्यायविरुद्ध न्यायका लागि अदालतको ढोका ढक्ढकाएकी छु”, पीडित युवती भन्छिन्– “न्याय मरेको छैन भने अवश्यक पाउनेछु भन्ने आशा छ ।”
पीडित युवतीका दाईले भने सामान्य रिसइबीका कारण बहिनीले उजुरी हालेको प्रतिक्रिया दिए । उनले घटना सत्य नभएको बताए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार हाडनातामा करणी भएमा जन्मकैददेखि दश वर्षसम्म कैद सजाय र एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।