बुटवल । कोरोना संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न आज विहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिंडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज विहानैबाट मुख्यसहर बुटवल सुनसान बनेको छ । मानिसहरुको आवतजावत र जमघट हुन नदिन सहरका मुख्य सडकमा सुरक्षाकर्मीको उपस्थिती बाक्लो छ । सधैं जसो विहानैदेखि मजदुरी गर्न हिड्ने मानिस र फेरीवालाहरु सडकमा देखिएका छैनन्, भिड निकै कम छ ।
हाटबजारमा निषेधाज्ञाको अवज्ञा गर्दै खुलेका केही कपडा पसलहरु बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले बन्द गराएको छ । मिलनचोक र बसपार्कमा खुलेका केही पसलहरु पनि सुरक्षाकर्मीले बन्द गराएका छन् ।
यता पुष्पलाल पार्कमा ठेलामा फलफूल बेच्न हिंडेका मजुवाका २२ बर्षीय राजकुमार कलवारलाई प्रहरीले सोधपुछ गरी घर फर्कायो । ‘फलफूल पनि बेच्न दिन्न भन्ने थाहा थिएन, भर्खरै महँगोमा मण्डीबाट लिएर आएको हुँ । कुहिएर जाने भयो,’लुम्बिनी टाइम्ससँग कुरा गर्दै उनले भने ।
बसपार्क पछाडी देखिएको मानिसहरुको चहलपहललाई रोक्न खोजिरहेका प्रहरी जवान गौरब भुषालले ई–रिक्सा, रिक्सा र सामान्य हिडडुल समेत रोक्न आफूहरुलाई निर्देशन आएको बताए ।
सुरक्षाकर्मीका प्रयासका बावजुद बुटवलका भित्रि सडकमा भने केही ई–रिक्सा तथा रिक्साहरु यात्रु बोकेर हुँइकिरहेका छन् । ती बाहेक दुध, तरकारी तथा औषधी पसलहरु सञ्चालन भइरहेका छन् । तिनकुने चोकको सडक किनारमा भूइँमा राखिएका तरकारी पसलहरुमा किन्नेहरुको केही जमघट देखिन्छ ।
परिचय पत्र बोकेका अत्यवश्यक कामदारलाई भने आवतजावतमा रोकिएको छैन ।

गत चैत ११ गतेदेखि रुपन्देही लगायत देशैभर पहिलोपटक ‘लकडाउन’ गरिएको थियो । दोस्रो पटक संक्रमण तिब्र गतिमा उकालो लागेपछि रुपन्देहीमा जिल्ला प्रशासनले बैशाख ३० गते विहान ६ बजेसम्मका लागि फेरि निशेधाज्ञा जारी गरेको छ ।
यसअघि कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्र(सीसीएमसी)ले निर्णय गर्दै पाँच सयभन्दा धेरै सक्रिय संक्रमित भएका जिल्लाहरुमा प्रशासन आफैले निषेधाज्ञा जारी गर्न सक्ने बताएको थियो । रुपन्देहीमा सक्रिय संक्रमितहरुको संख्या एक हजार नाघेपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले बताए । जिल्लामा २२ सय १२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपनन्देहीले जनाएको छ ।
सम्बन्धित थप समाचार:
रुपन्देहीमा आजदेखि ३० गतेसम्म निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन् ?