विश्व ब्याङ्कको एउटा अध्ययनले भारतीय गाउँहरूमा दाइजो स्वरूप दिइने रकम विगतका केही दशकमा धेरै हदसम्म उस्तै रहेको देखिएको बताएको छ।
अनुसन्धानकर्ताहरूले सन् १९६० देखि सन् २००८ सम्म भारतीय गाउँहरूमा भएका ४० हजार विवाहको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन्।
भारतमा सन् १९६१ यता विवाहमा दाइजो दिने विषय गैर कानुनी रहँदै आए पनि अध्ययनले ९५ प्रतिशतभन्दा बढी विवाहमा दाइजो दिने गरिएको पत्ता लगाएको छ।
दाइजोलाई सामाजिक कुरीतिका रूपमा व्याख्या गरिने भए पनि यसको अभ्यास जारी नै रहेको छ र यसले महिलाहरूलाई घरेलु हिंसा र कहिलेकाहीँ मृत्यु नै हुनेसम्मको जोखिममा राखेको छ।
दक्षिण एसियामा दाइजो दिने र लिने परम्परा शताब्दी पुरानो हो जहाँ दुलहीका आमाबुवाले दुलहाका परिवारलाई पैसा, लुगाफाटो र गहना दिने गर्छन्।
यो अध्ययन भारतको ९६ प्रतिशत जनसङ्ख्या समेट्ने १७ वटा राज्यहरूको विवरणमा आधारित छ। यसले ग्रामीण भारतलाई केन्द्रित गरेको छ किनभने भारतमा ठूलो सङ्ख्या गाउँमै बस्छन्।
अर्थविद् एस अनुकीर्ति, निश्हिथ प्रकाश र सुन्घो क्वोनले विवाहको समयमा दिइने उपहारको मूल्यसम्बन्धी जानकारी प्रयोग गरेका थिए।
उनीहरूले 'कुल दाइजो' - दुलहीका परिवारले दुलाहाको परिवारलाई दिएको उपहार र दुलहाको परिवारले दुलहीको परिवारलाई दिएको उपहारको मूल्य घटाएर निकालेका हुन्।
एकदमै कम विवाहमा मात्रै दुलहाको परिवारले दुलहीको परिवारलाई धेरै रकम दिएको पाइएको छ।
अध्ययनले दुलहाको परिवारले औसतमा करिब ५,००० भारतीय रुपैयाँ बराबरको उपहारहरू दुलहीको परिवारका लागि दिएको देखाएको छ।
दुलहीको परिवारले भने करिब सात गुणा अर्थात् सरदर ३२ हजार भारतीय रुपैयाँ खर्च गर्ने देखिएको छ।
दाइजो दिनका लागि ठूलो रकम घरको बचत वा आयको प्रयोग हुन्छ: सन् २००७ मा ग्रामीण भारतमा घरको वार्षिक आयको औसतमा १४ प्रतिशत दाइजोका लागि प्रयोग हुन्थ्यो।
विश्व ब्याङ्कको अनुसन्धान समूहकी अर्थविद् डाक्टर अनुकीर्तिले भनिन्, "भारतमा औसतमा ग्रामीण आय बढेका कारण दाइजोको मूल्य आयका हिसाबले समयसँगै घटेको छ।
"तर यो केवल औसत दाबी हो - घरको आयसँग दाइजोको तुलना कस्तो छ भन्नका लागि प्रत्येक घरको आय हेर्नुपर्छ र त्यसका लागि घरको आय र खर्चको तथ्याङ्क आवश्यक पर्छ। तर हामीसँग त्यस्तो तथ्याङ्क उपलब्ध छैन," उनले भनिन्।
भारतमा विवाह
भारतमा झन्डै सबैजसो विवाह एक पत्नी र एक पतिबीचको विवाह हो
- १ प्रतिशतभन्दा कम विवाहमा सम्बन्ध विच्छेद हुन्छ
- दुलाहा वा दुलही खोज्न अभिभावकहरूले ठूलो भूमिका खेल्छन् - सन् १९६० देखि २००५ सम्म भएका ९० प्रतिशतभन्दा बढी विवाहमा अभिभावकले विवाहका लागि जोडी खोजिदिन्छन्
- ९० प्रतिशतभन्दा बढी जोडी विवाहपछि श्रीमान्को परिवारसँग बस्छन्
- ८५ प्रतिशतभन्दा बढी महिलाहरू आफू बस्ने गाउँबाहिरको मानिससँग विवाह गर्छन्
- ७८.३ प्रतिशत विवाह भने उही जिल्लाभित्र हुन्छ
स्रोत: म्यारिज मार्केट्स् र राइज अफ डावरी इन इन्डिया
सन् २००८ देखि अहिलेसम्म भारतमा धेरै परिवर्तन भइसकेको छ। तर अनुसन्धानकर्ताहरू भने दाइजो दिने अभ्यासमा त्यति धेरै परिवर्तन आउने नदेखिएको बताउँछन्।
"कुनै नाटकीय परिवर्तन वा विवाह बजार, कानुन, महिला पुरुषको सम्पत्ति र महिलाको श्रम बजारको परिणाम" बिना त्यस्तो परिवर्तन नहुने देखिएको उनीहरूले बताएका हुन्।
अध्ययनले भारतका सबै मुख्य धार्मिक समूहमा दाइजो प्रचलित रहेको पत्ता लगाएको छ। रोचक के छ भने इसाई र शिखहरूमा "दाइजो देखिने गरी बढेको छ", जुन हिन्दू र मुस्लिमहरूको औसतभन्दा बढी छ।
अर्को पत्ता लागेको रोचक कुरा चाहिँ समयसँगै राज्यहरूमा आएको उल्लेख्य परिवर्तन हो।
दक्षिणी राज्य केरलाले सन् १९७० यता दाइजोमा लगातार वृद्धि भइरहेको र हालैका वर्षमा औसतमा सबैभन्दा उच्च भएको देखाएको छ।
हरियाणा, पञ्जाब र गुजरात जस्ता अन्य राज्यमा पनि दाइजोमा वृद्धि भएको देखिएको छ। अर्को तर्फ उडिसा, तामिल नाडु, पश्चिम बङ्गाल र महाराष्ट्र राज्यमा भने दाइजो औसतमा घटेको देखिन्छ।
"यी भिन्नताबारे हामीसँग निश्चित जवाफहरू छैनन्। भविष्यमा गरिने अनुसन्धानले यो प्रश्नको जवाफ खोज्नेमा हामी आशावादी छौँ," डाक्टर अनुकृतिले भनिन्।
ज्यानुअरीमा प्रकाशित अध्ययनमा अर्थविद् गौरव चिपलङ्कर र जेफरी विभरले गत एक शताब्दीको ७४ हजार विवाहका तथ्याङ्क प्रयोग गरेर भारतमा कसरी दाइजो प्रथा विकसित हुँदै आएको छ भन्ने बयान गरेका छन्।
अनु्सन्धानकर्ताहरूले सन् १९३०देखि १९७५ सम्म दाइजो सहितका भारतीय विवाह दोबर भएको र दाइजोको वास्तविक मूल्य चाहिँ तेबर भएको पाए। तर सन् १७७५ यता दाइजोको सरदर मूल्य घटेको पाइयो।
उनीहरूले १९५० देखि १९९९ सम्ममा भारतमा दिइएको दाइजोको मूल्य एक ट्रिलियन डलरको एक चौथाइ भएको अनुमान लगाएका छन्। बीबीसी नेपालीबाट साभार